रूपन्देहीमा एक नगरउपप्रमुख सहित ५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।
जिल्लाको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहित बुटवलका वडा सदस्यहरु चिनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षत्रीले समाजवादी रोजेका हुन्।
काफ्लेसहितका जनप्रतिनिधिले निर्वाचन कार्यालय भैरहवा पुगेर एकीकृत समाजवादी पार्टीमा सनाखत गराएका हुन्।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देहीका १६ स्थानीय तहमध्ये सातवटामा प्रमुख र आठवटामा उपप्रमुख पद एमालेले जितेको थियो।
१५ जना प्रमुख र उपप्रमुखमध्ये एक जनाले एकीकृत समाजवादी रोज्दा १४ जना भने एमालेमै रहेका छन्।
एमाले विभाजन हुनुपुर्व माधव नेपाल समूहमा रहेका अधिकांश जनप्रतिनिधि पार्टी बिभाजनपछि एमालेमै देखिएका छन्। यसअघि माधव नेपाल समूहमा खुलेर देखिएका सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारी र तिलोत्तमाकी उपप्रमुख जगेश्वरिदेवी चौधरी एमालेमै रहेका छन्।
रूपन्देही एमालेका उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालको जिल्ला हो। पौडेल पहिलेदेखि नै केपी ओली निकट हुन्। माधव नेपाल पक्षधर भनेर चिनिएका घनश्याम भुसाल पनि पार्टी विभाजनपछि एमालेमै रहेपछि रुपन्देहीमा नयाँ पार्टीमा जानेहरुको संख्या कम देखिएको हो।
त्यस्तै रूपन्देहीका १५ जना जनप्रतिनिधिले जनता समाजवादी पार्टी छोडेर लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याय भण्डारीले सोमबार दिउसोसम्म मर्चवारी गाउँपालिकाकी उपप्रमुख सुनिता कलवारसहित १५ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेको जानकारी दिए।
स्थानीय तहको निर्वाचनमा रूपन्देहीका चार वटा स्थानीय तहमा जनता समाजवादी पार्टीले सिट सुनिश्चित गरेको थियो।
एमाले र जसपा विभाजन भएपछि नयाँ पार्टीमा जान चाहाने स्थानीय तहका जनप्रतिनिधिले भदौ २२ गते मंगलबारसम्म जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्नुपर्ने हुन्छ।
रुपन्देही जिल्लामा १६ स्थानीय तह छन् । जिल्ला भरीबाट ८ सय ४५ जना जनप्रतिनिधि मध्ये २०७४ साल असार १४ गते भएको निर्वाचनमा ८ सय ७ जना निर्वाचित भएका थिए। ३८ जना भने प्रत्येक नगरपालिकाबाट ३ जना र गाउँपालिकाबाट २ जना मनोनित भएका थिए। ती मध्ये ३ सय ७० जना जनप्रतिनिधि सूर्य चिन्हबाट निर्वाचित भएका हुन्।