बिहीबार प्रदेश-१ मा नेकपा (एमाले) सचिव भीम आचार्यले मुख्यमन्त्रीको सपथ लिएका छन्।
मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएकै दिन राईकै समर्थनमा आचार्य मुख्यमन्त्री भएका हुन्।२०७४ मा संसदीय दलको निर्वाचनमा आचार्य राईसँग पराजित भएका थिए।
आचार्य नवगठित नेकपा (एकीकृत समाजवादी)अध्यक्ष माधवकुमार नेपाल पक्षधर थिए। एमाले विभाजन गरेर नयाँ पार्टी गठन गर्दा नेपाललाई साथ नदिएकै कारण आचार्य मुख्यमन्त्री बनेका हुन्। कानुनी रूपमा एक-दुई दिनसम्म मात्रै एमालेको प्रदेश १ मा बहुमत रहन्छ। नेकपा (एकीकृत समाजवादी)ले संसदीय दल बनाएसँगै प्रदेश-१ मा एमालेले बहुमत गुमाउने निश्चित छ। त्यस्तो अवस्थामा आचार्यले विश्वासको मत लिनु पर्नेछ। अहिले देखिएको समिकरणअनुसार आचार्यले विश्वासको मत नपाउने निश्चित छ। ९२ सदस्यीय प्रदेश सभामा एमालेका ५१ सांसद छन्।
आफूहरूसँग १२ देखि १५ सांसद रहने नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं प्रदेश-१ का सांसद राजेन्द्र राईले सेतोपाटीलाई बताए।
'अहिलेसम्म पार्टीको आधिकारिकता आइसकेको छैन। आइतबारमात्रै पत्र आउने भयो,' उनले भने,'मंगलबारमात्रै सांसदहरूको सनाखत हुन्छ होला। हामी १२ देखि १५ जना सांसद हुन्छौं। त्यसपछि मात्रै थप प्रक्रिया अघि बढ्छ।'
एमाले प्रदेश सभा सदस्यहरूले भदौ २९ सम्ममा प्रदेश निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादीमा गएको सनाखत गर्न सक्नेछन्। केही दिनअघि जारी भएको अध्यादेश अनुसार यसरी दल परिवर्तन गर्दा उनीहरूलाई कुनै कारबाही गर्न मिल्दैन।
प्रदेश-१ पछि धेरैको चासो रहेको प्रदेश बागमती हो। बागमती प्रदेशमा पनि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी छन्। भदौ २ गते एकाएक मुख्यमन्त्री बनेकी शाक्यको सत्ता यात्रा पनि संकटमै पर्ने देखिएको छ। बागमती प्रदेशमा एकीकृत समाजवादीले संसदीय दल गठन भएपछि शाक्यले विश्वासको मत लिनु पर्नेछ। सत्ता लम्ब्याउनका लागि उनले एकीकृत समाजवादी रोज्नुपर्छ।
१ सय ९ सदस्यीय प्रदेश सभामा एमालेका ५६ सांसद छन्। जसमध्ये माधव नेपालको पक्षमा २० जना थिए। शाक्यले नेपालको साथ छोडेसँगै नेपाल पक्षमा रहेका सांसदहरूको संख्या पनि घट्ने निश्चित छ। शाक्यले अझै पनि एकीकृत समाजवादी रोज्ने पाउँछन् तर उनी एमालेको स्थायी कमिटी बैठकमा सहभागी भइसकेकाले उनले पार्टी परिवर्तन गर्ने सम्भावना देखिँदैन।
'अष्ट कमरेड हाम्रो समूहको नेता हुँदा हामी २० जना थियौं। अब उहाँले कता रोज्नुहुन्छ, अझै प्रष्ट भएको छैन,' बागमती प्रदेश सभाका सांसद लक्ष्मण लम्सालले सेतोपाटीसँग भने,'उहाँले जता रोजे पनि हाम्रो समूहमा धेरै तल-माथि हुँदैन।'
यसअघि सुदूरपश्चिम प्रदेशका बहुमत सांसद नेपाल समूहमा थिए। एमालेको निर्देशनविपरीत नेपाल समूहका सांसदले माओवादी केन्द्रलाई समर्थन गरेको थियो। एमाले उपध्यक्ष भीम रावलले नेपाललाई साथ नदिएकाले प्रदेशका सांसद कता लाग्छन् भन्ने अझै टुंगो लागिसकेको छैन।
५१ सदस्यीय प्रदेश सभामा एमालेका २५ जना सांसद छन्। तीमध्ये १७ जना नेपाल पक्षमा थिए। तीमध्ये कति सांसद एमालेमै रहन्छन् र कतिले एकीकृत समाजवादी रोज्छन् भन्ने अझै टुंगो लागिसकेको छैन। १३ भन्दा धेरै सांसद आफ्नो पक्षमा आउने एकीकृत समाजवादीको दाबी छ।
एकीकृत समाजवादीमा लागेका सुदूरपश्चिम प्रदेशका सांसद दीर्घ सोडारीले बहुमत एमाले सांसद नयाँ पार्टीमा लाग्ने दाबी गरे।
'अब केही दिनमा हामी दल गठन गर्छौं। अहिले नै यति लाग्छन् र उति लाग्छन् भनेर मैले संख्या भन्दिनँ,' उनले भने,'एमालेका बहुमत सांसद हाम्रो पक्षमा लाग्ने भने निश्चित छ।'
अहिलेसम्मको समिकरणलाई आधार मान्ने हो भने माधव नेपालले सबैभन्दा ठूलो झट्का प्रदेश-२ मा दिँदैछन्। प्रदेश-२ मा एमालेका २१ सांसद छन्। जसमध्ये १३ सांसद नेपालको पक्षमा यसअघि नै खुलेका छन्।
एमाले प्रदेश सांसद रवीन्द्र बैठाका अनुसार केहीदिनमै प्रदेश-२ मा एकीकृत समाजवादीको संसदीय दल गठन हुँदैछ।
'एकिकृत समाजवादी पार्टीका हामी प्रदेश-२ मा १३ जना सांसद छौं। उनीहरूमध्ये कोही पनि एमालेमा फर्किने सम्भावना छैन्। अहिले हामी लगभग सबै जना काठमाडौंमै छौं,' उनले भने,'फर्किएपछि निर्वाचन आयोगमा दर्ता गराएर संसदीय दल बनाउने प्रक्रियामा लाग्छौं। दल रोज्ने २१ दिनको म्याद पूरा भइसकेपछि मात्र संसदीय दलको नेतालगायतका पदाधिकारी चयन गर्ने काम हुनेछ।'
कर्णाली प्रदेशमा माधवकुमार नेपालकै कारण एमाले प्रतिपक्षमा पुगेको हो। एमालेका ४ सांसदले फ्लोर क्रस गरेर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका हुन्। फ्लोर क्रस गर्ने ४ सांसदको पद गइसकेको छ।
अहिले प्रदेश सभामा एमालेका १६ सांसद छन्। १६ मध्ये अहिलेसम्म २ जनाले एकीकृत समाजवादी रोजेका छन्। नेपालको पक्षमा अहिलेसम्म अरू सांसद थपिने सम्भावना छैन।
लुम्बिनी र गण्डकी प्रदेशमा भने एकीकृत समाजवादीको संसदीय दल गठन हुन कठिन देखिएको छ। गण्डकीमा नेपाल पक्षमा एक जनामात्रै सांसद थिए भने लुम्बिनीमा दुई सांसद थिए। उनीहरूमध्ये कोही पनि एकीकृत समाजवादीमा खुलेका छैनन्।