नेकपा एमालेले पार्टीले कारबाही गरेका सांसदहरू विमलाकुमारी खत्री वली र अजय शाहीलाई पदमुक्त नगरिए लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीलाई सदनबाटै ठेगान लगाइदिने चेतावनी दिएको छ।
एमाले संसदीय दलले आइतबार पत्रकार सम्मेलन गरी सभामुख घर्तीले सभामुखको पदीय आचरणविपरीत आफैं न्यायाधीश बन्न खोजेको आरोप लगाएको हो।
एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले पार्टीको ह्विप उल्लंघन गर्ने र पार्टी निर्णयविपरीत सरकारमा सहभागी हुने एमाले सांसदहरू अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रहलाई सभामुख घर्तीले अस्वीकार गर्दै आफैं न्यायाधीश बन्न खोजेको आरोप लगाए।
‘पार्टीले सांसदहरूलाई कारबाही गर्न पत्राचार गरेपछि सभामुखबाट सांसदहरूको प्रमाण माग्ने काम गरियो, सभामुख अदालतको न्यायाधीश हो कि, उहाँ निर्णयकर्ता हो कि, के हो? उहाँलाई प्रमाण माग्ने अधिकार नै छैन, पार्टीले आफ्ना सांसदहरूले आचरण अनुरूपको काम नगरेको खण्डमा निष्कासन गर्न पाउँछ, उहाँलाई सदन चलेको अवस्थामा त्यही पत्र सदनमा सुनाउने र नचलेको अवस्थामा टाँस्नेमात्र अधिकार छ,’ चौधरीले भने।
सभामुख घर्तीले पार्टीले पठाएको पत्रको जवाफ आफैं लेख्दै न्यायाधीशको भूमिका निर्वाह गर्न खोजेको उनले बताए।
‘पार्टीले गरेको कारबाही चित्त नबुझे सांसदहरू आफैं अदालत जानुहुन्छ, त्यो बेला अदालतले के-के प्रमाण माग्छ। हामी अदालतमा बुझाउँछौं, सभामुखलाई निर्णय गर्ने अधिकार नभएकाले प्रमाण माग्ने अधिकार पनि छैन,’ उनले भने।
चौधरीले सभामुखको भूमिकामा बसेर अदालतको न्यायाधीश, दलको नेता र निर्णयकर्ताको रूपमा प्रस्तुत भएको भन्दै आपत्ती जनाए। उनले पार्टीले कारबाही गरेका दुबै जना सांसदलाई कारबाही नगर्दासम्म कुनै पनि हालतमा सदन चल्न नदिने र सभामुखलाई समेत सदनबाटै ठेगान लगाइदिने चेतावनी दिए।
‘अदातलको अधिकार सभामुखले चलाउने?, हामी कुनै पनि हालतमा सदन चल्न दिँदैनौ, सदनबिना कसरी सरकार चल्न सक्दो रहेछ हामी पनि हेर्छौं,’ उनले भने।
पार्टीले कारबाही गरेका शाही र वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाए पनि सभामुख घर्तीले पदमुक्त गर्न नमिल्ने बताएपछि उनको भूमिकामाथि एमालेले प्रश्न उठाएको हो।
लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको एमालेले २ सांसदलाई पदमुक्त गर्न सभामुखलाई बुझाएको पत्रमा सभामुख घर्तीले उनीहरूलाई पदमुक्त गर्ने आधार नभएको भन्दै जवाफ फर्काएका थिए।
एमाले संसदीय दलका उपनेता चौधरीले सभामुखले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर अनावश्यक विषयमा चासो दिएकोप्रति आपत्ती जनाए।
‘सभामुखको पद र मर्यादा अनुकूलको आचरण नभई पार्टीको कार्यकर्ता र दलको नेताजस्तो एक पक्षीय व्यवहार गरी संसदीय व्यवस्थाको मूल्य-मान्यता प्रतिकूल कार्य गर्नुभएको छ,’ उनले भने।
प्रदेश सभामा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुख घर्तीले पदीय मर्यादाविपरीत काम गरेको आरोप लगाए।
ढकालले सभामुख घर्तीकै निर्देशनमा सांसद वलीको कुर्ची एमालेको लहरबाट माओवादी केन्द्रको लहरमा राख्दा पनि प्रदेश सभामा आवाज उठाए पनि सभामुखले बेवास्ता गर्दै आएको बताए।
सभामुखको भूमिका र उनले पठाएको पत्रको विषयलाई लिएर अदालत जाने आफूहरूको कुनै योजना नरहेको भन्दै सांसदहरूलाई कारबाही नहुँदासम्म सदन चल्न नदिने र सभामुखलाई पनि सदनबाटै ठेगान लगाइदिने उनले बताए।
पत्रकार सम्मेलनमा एमालेले जारी गरेको विज्ञप्ति वाचन गर्दै ढकालले सभामुखजस्तो गरिमामय पदमा आसिन रहेको अवस्थामा पटक-पटक पद अनुकूलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने गरेको बताए।
उनले सभामुखले दलको चुनाव चिन्हबाट निर्वाचन लडेका दलका सांसदहरूलाई कारबाही गरेको आधिकारिक पत्र पाउँदा फरक निर्णय गर्ने अधिकार नभएको बताए।
‘पार्टी केन्द्रले निष्कासन गरेर पत्र पठाइसकेपछि सभामुखले स्वतः पत्र पढेर सुनाउनु पर्छ,’ उनले भने, ‘हुँदै नभएको अधिकार प्रयोग गरेर पत्र पठाएका छन्, त्यसमा एमालेको गम्भीर आपत्ती छ।’