एमाले उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न चाहने हो भने मंगलबारसम्म अझै समय रहेको बताएका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै भुसालले पार्टी एकताको बल ओलीकै कोर्टमा रहेको समेत बताए।
'साँच्चै पार्टी एकता गर्ने ओलीजीको चाहना हो भने मंगलबारसम्मको समय छ। पार्टी एकता चाहनुहुन्छ कि विभाजन चाहनुहुन्छ भन्ने कुरा दुनियाँको सामु त्यसपछि अझै प्रष्ट हुन्छ,'उनले भने,'अहिले हामीले केही भनेको छैन। ओलीजीले गरेनन् भने योभन्दा ठूलो विद्रोह हुन्छ। मैले के गरुँला, हामी नौ जनाले के गरौंला त्यो फरक छ। तर १० बुँदे पनि लागू नगर्ने ओलीसँग मान्छे को रहन्छन्?'
यदि १० बुँदे नमाने एउटा सामान्य स्वाभिमान भएको कार्यकर्ता कोही पनि ओलीसँग रहँदैन भन्ने आफ्नो धारणा रहेको उनले बताए।
आफूहरू आइतबार नै बसेर मध्यावधि मूल्यांकन गर्ने समेत उनले बताए।
पार्टी एकतामा आलटाल पनि ओलीले नै गरिरहेको उनले दाबी गरे।
'उहाँले छिट्टै निर्णय गर्नुपर्छ भने एमाले बचाउने ठाउँ चाहिँ उहाँलाई छ। उहाँले अरु केही गर्नुपर्ने छैन। उहाँले नै कबुल गरेका कुरा, जुन यसभन्दा अघि आफैंले उल्लंघन गर्नुभएको छ। पार्टी एकताजस्तो विषयमा समेत आफ्नो कबुल उल्लंघन गर्नुहुन्छ कि हुन्न भन्ने परीक्षामा हुनुहुन्छ,ओली, 'उनले भने,' २०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउनुपर्छ। त्यसका लागि १० बुँदे कार्यान्वयन हुनुपर्छ। फागुन २३ यता भएका सबै निर्णय खारेज गर्नुपर्छ। माधव नेपालसहित १४ जना सांसदमाथि भएको कारबाही अविलम्ब फिर्ता हुनुपर्छ।'
१० बुँदे कार्यान्वयन भएमा माधव नेपाललाई 'कन्भिन्स'गर्न सजिलो हुने उनको भनाइ छ।
माधव नेपालले नेकपा(एकीकृत समाजवादी)पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। निर्वाचन आयोगले बुधबार सनाखतका लागि नेपाल समूहलाई बोलाएको छ।
१० बुँदे लागू नगरे आफूहरूलाई नै बस्न गाह्रो हुने भुसालले स्पष्ट पारे। ओलीको व्यक्तिवादी सोचकै कारण पार्टी यो अवस्थामा पुगेको उनको मूल्यांकन छ।
'मैले सधैंभरि ओली र नेकपा एमाले फरक हो भन्ने गरेको छु। यो पार्टी हो, योसँग एउटा विचार, सिद्धान्त,परम्परा,विधान पद्धति र कार्यकर्ताको ठूलो पंक्ति छ। ओलीजी व्यक्ति हो र उहाँको आफ्नै व्यवस्था छ। म,मेरो,मेरा र मलाई भन्ने उहाँको दर्शन हो,'उनले भने,'यो दर्शन र कुनै पनि संगठनको दर्शन मिल्दैन। ओलीजीले अनधिकृत रूपमा पार्टी कब्जा गरेका छन्। त्यसले गर्दाखेरी ओलीजी समस्या समाधान गर्न चाहँदैनन् भन्ने देखिन्छ। उहाँ बाहेकको नेकपा एमालेको पूरा पंक्ति एकताको पक्षमा देख्छु,मैले।'
ओली सुध्रिन्नन्, नीतिगत रूपमै बस्न सकिन्न अर्को पार्टी बनाउनुपर्छ भनेर माधव नेपालले भनिरहेको भए पनि विभाजनको प्रक्रियाबारे आफूलाई थाहा नभएको उनले बताए।