कुनै पनि सरकारी कार्यालय, कूटनीतिक नियोग वा विशिष्ट तहका व्यक्तिहरूको निवासमा राखिएका राष्ट्रिय झण्डाले नेपाली राष्ट्रिय स्वाभिमानसँगै उक्त कार्यालयको गरिमा बढाएको हुन्छ।
तर लुम्बिनी प्रदेशसभा सचिवालयमा टांगिएको राष्ट्रिय झण्डाले भने राष्ट्रिय स्वाभिमान बढाउन त कता कता आफ्नै अस्तित्वको गुहार मागिरहेको छ।
त्रिभुज आकारमा सिम्रिक रंगको पृष्ठभूमिमा गाढा नीलो रंगको किनार र माथिल्लो भागमा सेतो रङले चन्द्र र तल्लो भागमा सूर्य अंकित सेतो रङले नेपालको राष्ट्रिय झण्डा हेर्दै आकर्षक हुन्छ। तर यहाँ राखिएको झण्डा कुन रङको छ भन्ने छुट्टाउनै गाह्रो छ।
प्रदेश सभाको मूल गेटमा राखिएको यो झण्डाको पृष्ठभूमि र किनारको रङ खुइलिएको मात्र होइन त्रिभुज आकारमा अंकित चन्द्र सूर्यको आकार च्यातिएर धुजाधुजा भएको छ।
राष्ट्रिय स्वाधिनताको प्रतीक र पहिचानको परिचाय राष्ट्रिय झण्डाको दुरूपयोग गर्न कोही कसैले पनि पाउँदैन। सिम्रिक रंगको पृष्ठभूमि र गाढा नीलो रंगको किनारा हुनपर्ने राष्ट्रिय झण्डाको रंग उडेर बेहाल छ।
झण्डाको माथिल्लो भागमा अंकित चन्द्र र तल्लो भागमा अंकित सूर्यको आकार र रङ छुट्याउन मुस्किल पर्छ। झण्डामा अंकित चन्द्र र सूर्यको आकार पत्रपत्र उप्किएर भए पनि प्रदेशसभा सचिवालयको लाज छोपिरहेको छ।
राष्ट्रिय झण्डाले देशको पहिचान झल्काएको हुन्छ। तर प्रदेशसभा सचिवालयले भने राष्ट्रिय झण्डाको मर्यादा र गरिमा गिराउँदै राष्ट्रियताको खिल्ली उडाएको छ। नेपालको राष्ट्रिय झण्डाको धेरै दुरूपयोगसँगै सरकारी कार्यालयमा राखिएका झण्डा धुजाधुजा हुँदासमेत नफेरिएपछि सरकारले राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ समेत बनाएको छ।
सरकारले बनाएको उक्त कार्यविधिमा राष्ट्रिय झण्डाको आकार र रङसँगै झण्डा कहिले परिवर्तन गर्ने भन्ने समेत उल्लेख गरिएको छ।
राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ अनुसार सरकारी कार्यालय भवनभित्र र बाहिर तथा आवास भवनमा प्रयोग गरिने राष्ट्रिय झण्डा हरेक वर्षको बडा दसैं र नयाँ वर्षको अवसरमा अनिवार्य रूपमा नयाँ फेर्नु पर्नेछ।
त्यसअघि नै राष्ट्रिय झण्डा च्यातिएमा, बिग्रिएमा, रंग उडेमा वा अन्य कारणले अशोभनीय देखिएमा भने कार्यविधिको अधीनमा रही जुनसुकै समयमा पनि फेर्न सकिने भनिएको छ। कार्यविधिअनुसार रंग उडेको र च्यातिएको झण्डा प्रयोग बर्जित छ।
तर २०७४ सालमा लुुम्बिनी प्रदेशसभा स्थापना भएपछि राखिएको यो झण्डा भने अहिलेसम्म परिवर्तन गरिएको छैन। शिरमा यही झण्डाको छाया पार्दै प्रदेशसभाका ८७ जना सांसद साढे तीन वर्ष अघिदेखि प्रदेशसभा भवन जाने र आउने गरिरहेका छन्।
हरेक नीति तथा कार्यक्रम प्रस्तुत हुँदा यही झण्डा तल उभिएर प्रदेश प्रमुखहरूले सलामी लिँदै आएका छन्। तर झण्डाको यस्तो अवस्थाबारे न त प्रदेशसभामा जाने सांसदहरूले जानकारी पाए न त सचिवालयका कर्मचारीहरूले झण्डा फेर्ने तर्फ ध्यान दिन सके।
प्रदेशकै कानुन बनाउने थलो प्रदेशसभामा राखिएको झण्डाको दुर्दशाले प्रदेशसभा सचिवलायको खिल्ली उडाएको मात्र होइन राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधिको समेत धज्जी उडाएको छ।
प्रदेशसभा सचिवालयका सहप्रवक्ता तथा सूचना अधिकारी विमला पौडेलले सचिवालयमा झण्डा राखिएको देखिरहे पनि त्यसको अवस्थाबारे ध्यान नदिइएको बताइन्।
‘झण्डा त टाँगेको देखेको हो, तर कस्तो छ भन्ने ध्यान नपुगेकै हो, अब सचिवालयमा सल्लाह गरेर फेर्न भन्छु’,पौडेलले भनिन्।