लुम्बिनी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल बनेको नेकपा एमालेले आजको प्रदेशसभा बैठक अवरूद्ध गर्ने तयारी गरेको छ।
सूर्य चुनाव चिन्ह लिएर प्रदेश सभा सदस्यमा निर्वाचित आफ्ना दुई जना सांसदलाई पार्टीले कारवाही गरिएको सूचना प्रदेश सभामा पढेर सुनाउनुपर्ने माग राख्दै एमालेले आजको बैठक अवरूद्ध गर्ने भएको छ।
प्रदेशसभा सचिवालयले प्रकाशित कार्यसूचीमा सांसदलाई गरिएको कारवाही बारे उल्लेख गरिएको छैन।
प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धि पत्र पढेर सुनाउनेदेखि मुख्यमन्त्रीको सम्बोधन लगायतका ६ वटा विषय कार्यसूचिमा समावेश गरिए पनि एमालले कारवाही गरेका सांसदको विषयलाई कार्यसूचीमा समावेश गरिएको छैन।
एमालले मंगलबार बिहान ११ बजे नै सूर्य चिन्ह लिएर निर्वाचित भएका सांसद अजय शाही र विमला खत्री ओलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाईसकेको थियो।
प्रदेशसभामा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले सूर्य चिन्ह लिएर निर्वाचित शाही र ओलीले पार्टी र संसदीय दलको विधान र पार्टीको निर्देशन विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको बताए।
उनले प्रदेशसभाको आजको बैठकमा सभामुखले दुई जना सांसदलाई कारवाही गरेको पत्र पढेर नसुनाए बैठक चल्न नदिने बताए।
दिउँसो १ बजेको लागि आह्वान गरिएको बैठक साढे १ बजेसम्म पनि बस्न सकेको छैन।