जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभामा रिक्त रहेको समानुपातिक सदस्यमा नयाँ सदस्यको नाम पठाएको छ।
यसअघि प्रदेशसभा सदस्य रहेकी कल्पना पाण्डेलाई कारबाही गरेपछि खाली रहेको उक्त स्थानमा निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरिएको जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए।
शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारकी उद्योग वन तथा वातावरण मन्त्री समेत रहेकी पाण्डेलाई पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै कारबाही गरिएपछि प्रदेशसभा सचिवालयले पदमुक्त गरेको थियो।
पार्टीको कार्यकारिणी बैठकले सोही पदमा रूपन्देहीकी भट्टराईलाई सिफारिस गरेको हो।
लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये तीन जना कारबाहीमा परेका थिए। पाण्डेसँगै पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेका सन्तोष पाण्डेय र विजयबहादुर यादवलाई कारबाही गरेको हो।
सन्तोष पाण्डेय र विजयबहादुर यादव प्रत्यक्ष चुनाव जितेर निर्वाचित भएकोले उनीहरूको स्थानमा अर्को सदस्य पठाउन नमिल्ने भए पनि कल्पना पाण्डे भने समानुपातिक सूचीबाट प्रदेशसभा सदस्य चुनिएकाले उनको स्थानमा भट्टराईको नाम पठाउने निर्णय गरेको यादवले जानकारी दिए।