नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने निर्णय लिने अधिकार मुख्यमन्त्री शंकर पोखरेललाई दिएको छ।
आज बसेको पार्टी संसदीय दलको बैठकले नयाँ परिस्थितिमा के गर्ने र कसरी अगाडि बढ्ने भन्ने अधिकार मुख्यमन्त्रीलाई नै दिइएको एमाले संसदीय दलले जनाएको छ।
‘नयाँ परिस्थितिमा के गर्ने र कसरी अगाडि बढ्ने भन्नेबारे अधिकार मुख्यमन्त्रीलाई नै दिएका छौं,’ बैठकपछि एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले पत्रकारहरूसँग भने।
उनले मुख्यमन्त्री पोखरेलले राजीनामा दिन लागेकोबारे भने केही खुलाउन चाहेनन्। ‘राजीनामा दिनेबारे छलफलमा पुगिसकेका छैनौं,’ उनले भने।
आज लुम्बिनी प्रदेशमा प्रदेश सभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध दर्ता अविश्वास प्रस्तावमाथि छलफल हुनेछ।
बैठक बस्नुअगाडि सभामुखले कार्यव्यवस्था समिति बैठक नराखेको भन्दै एमाले संसदीय दलले आपत्ति पनि जनाएको छ। प्रदेश सभा बैठकमा अनुपस्थित हुने चेतावनी पनि एमाले सांसदले दिइरहेका छन्।
लुम्बिनीमा मुख्यमन्त्री पोखरेलका पक्षमा ३८ र विपक्षमा सभामुखसहित ४२ जना सांसद छन्।