लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने वा अविश्वासको प्रस्ताव सामना गर्ने भन्नेबारे निर्णय गर्न पार्टी संसदीय दलको बैठक डाकेका छन्।
अहिले लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठक बसिरहेको छ। यसपछि सत्तारूढ दल नेकपा एमालेको संसदीय बैठक बस्ने आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले जानकारी दिए।
'संसदीय दलको बैठकमा राजीनामा दिने, अविश्वासको सामना गर्ने विषयमा छलफल हुनेछ,' उनले भने।
बुधबार दिउँसो १ बजे डाकिएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध विपक्षी गठबन्धनका सांसदहरूले दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल हुन लागेको थियो।
आफूविरूद्धको अविश्वासको प्रस्ताव पास हुने नै देखिएकाले पोखरेलले राजिनामा दिने संभावना बढेको उनी निकट एक नेताले बताए।
'विश्वासको मत पाउने संभावना छैन। उता सर्वोच्चमा परेको रिटमा अदालतले सुनुवाई आजै गर्छ गर्दैन टुंगो भएन। बरू राजीनामा दिए हुन्छ भनेर हामीले सल्लाह दिएका छौं राजिनामा नै आउने संभावना छ,' उनले भने।
गत साउन २१ मा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका थिए।
सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जसपाका तीन सांसदलाई पुनर्वहाली गर्न अन्तरिम आदेश नदिएसँगै मुख्यमन्त्री पोखरेलको सरकार संकटमा परेको थियो।
पोखरेलविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ। उक्त प्रस्तावमाथि छलफल गर्न आज प्रदेश सभा बैठक बस्न लागेको हो।
पोखरेलको सरकारमा मन्त्रीसमेत रहेका जसपाका तीन सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले तत्काल सदर गरिदिएपछि पोखरेल अल्पमत पर्ने निश्चित भएको छ।
यसैबीच मंगलबार बेलुकी भौतिक पूर्वाधार मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन्। उनलाई जसपाले यसअघि नै कारबाही गरेको थियो। तीन सांसदको पद पुनर्वहाली नभएसँगै लुम्बिनी प्रदेश सभा ८० सदस्यीय भएको छ।
लुम्बिनीमा सत्तारूढ नेकपा एमालेसँग ३८ सांसद छन्। बहुमतका लागि ४१ जना सांसद चाहिन्छन्। विपक्षी गठबन्धनसँग ४२ सांसद छन् तीमध्ये एक जना सभामुख हुन्।
नेपाली कांग्रेस १९, माओवादी केन्द्र १९, जसपा ३ र जनमोर्चाका १ सांसद छन्।
पोखरेलविरूद्ध यसअघि पनि संसदमा अविश्वासको प्रस्ताव दर्ता भइसकेको थियो। तर आफूअनुकूल प्रदेश प्रमुख भएकाले उनले बिहान राजीनामा दिएर साँझ फेरि मुख्यमन्त्रीको सपथ लिएका थिए।
त्यतिबेला उनले एमाले एक्लैको बहुमत रहेको दाबी गरेका थिए। विपक्षीले प्रदेश प्रमुखको निवासमा धर्ना दिएपछि तत्कालीन प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले पोखरेलको निवासमै गएर उनलाई सपथ खुवाएका थिए।