प्रदेशसभा बैठकबाट एकाएक बाहिरिएको सत्तापक्ष बैठक कक्षमा नफर्किएपछि लुम्बिनी प्रदेशसभा बैठक शुक्रबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
बिहीबार बजेटबारे प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएलगत्तै बजेट पारित गर्न दलहरुसँग सहमतिका लागि एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले समय माग गरेका थिए। विक्षीहरुले छलफलमा बस्न अस्वीकार गर्दै बजेटलाई निर्णयार्थ पेश गरी प्रक्रियामा लैजान माग गर्दै आएका थिए।
तर सभामुख पूर्णबहादुर घर्तिले समय उपलब्ध नगराएपछि मुख्यमन्त्री, मन्त्रीहरु र सत्तापक्षका सबै सांसदहरुले बैठक बहिष्कार गरी बाहिरिए। सत्तापक्षका सबै सांसद बाहिरिएपछि पनि सभामुखले आधा घण्टाको लागि बैठक स्थगित गरिएको जानकारी गराएका थिए।
तर स्थगित गरिएको आधा घण्टापछि पनि सत्तापक्षका सांसद बैठक कक्षमा फर्किएनन्। त्यसपछि संसद सचिवालयले शुक्रबार दिउसो १ बजे बस्नेगरी प्रदेशसभा बैठक स्थगित गरिएको सूचना टाँस गरेको छ। सत्तापक्षका सांसद बैठकमा उपस्थित नभएपछि प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँस गरेर शुक्रवार दिउसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराए।
एमालेका प्रमुख सचेतक ढकालले बजेट निर्णयार्थ प्रस्तुत गर्नुभन्दा पहिले दलहरुका बीचमा छलफल गर्न सभामुखसँग समय माग गरिए पनि उपलब्ध नगराएको र विपक्षी दलहरु पनि छलफलका लागि तयार नभएपछि बैठकबाट बाहिरिएको बताए। सरकारले प्रस्तुत गरेको बजेट सत्तापक्षको मात्र नभई प्रतिपक्ष र आम प्रदेशवासीको रहेकोले आफूहरु अहिले पनि साझा सहमति कायम गरेर बजेटलाई पास गर्ने पक्षमा रहेको उनले बताए।
ढकालले भोलि अर्को कुनै सरकार बने पनि साउन १ गते अघि नै आगामी वर्षको बजेट पास गर्नुपर्ने भएकोले साझा सहमति गर्नुपर्ने बताए। ढकालले समाचारहरुमा आएजस्तो सरकार अल्पमतमा रहेको र बजेट पारित हुने नदेखेपछि बैठक बहिष्कार गरेको भन्नु सत्य नभएको बताए। अहिले आफूहरु विपक्षी दलहरुसंग छलफल गरेर टुंगो लगाउने प्रयासमा रहेको ढकालले बताए।
नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले सत्तापक्षले नै प्रदेशसभा बैठक बहिष्कार गर्नुले बजेट फेल भएको पुष्टि हुने बताए। सरकारले प्रदेशसभामा बजेट टेबुल गरिसकेकोले यहीं प्रकृयाबाटै बजेट निर्णयार्थ पेश गर्नुपर्ने उनले बताए।
‘प्रदेशसभा बाहेक सरकारको बजेट पास हुने अरु सबै विकल्प बन्द भएका छन्, बजेट निर्णयार्थ पेश गर्ने समयमा बैठक नै बहिष्कार गरेर सरकारले आफू अल्पमतमा रहेको स्वीकार गरिसकेको छ’ उनले भने।
बिहीबारको बैठकमा लुम्बिनी प्रदेशसभामा सत्तापक्ष र विपक्षीको रोहमा समान ४१/४१ जना प्रदेशसभा सदस्यहरु उपस्थित थिए। लुम्बिनी प्रदेशसभामा हाल ८३ जना सांसद छन्। जसमध्ये बजेट पारित गर्न बहुमत सदस्य ४२ जनाको समर्थन आवश्यक पर्छ।
६ जना सांसद रहेको जनता समाजवादी पार्टीका चारजना सांसदलाई साथ लिएर शंकर पोखरेल दोश्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।
तर जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिंदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा ४१ जना सांसद देखिएका छन्। बिहीबारको बैठकमा पनि रायमाझी विपक्षीको रोहमा बसेकी थिइन्।
प्रदेशसभामा ४१ जना सदस्य निर्वाचित रहेको एमालेका अहिले ३८ जना मात्रै सांसद छन्। दाङबाट निर्वाचित एमाले सांसद उत्तर कुमार वलीको दुर्घटनामा परी निधन भएपछि सोही क्षेत्रबाट निर्वाचित वलीकी धर्मपत्नी विमलाले माओवादी पार्टी रोजेकी छन्।
दाङबाटै निर्वाचित एमालेका सांसद अमर डांगी र सूर्य चिन्ह लिएर कपिलवस्तुबाट निर्वाचित स्वतन्त्र सांसद दृगनारायण पाण्डेयले पनि प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए। प्रदेशसभा सदस्यबाट राजीनामा दिई नेपाली कांग्रेस प्रवेश गरेका पाण्डेय हालै भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनबाट निर्वाचित हुन्। यसरी सरकारको पक्षमा एमालेका ३८ र जनता समाजवादी पार्टीका ३ गरी ४१ जनाको मात्रै समर्थन देखिएको छ।
उता विपक्षी गठबन्धनमा पनि नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका १ तथा एमालेकी वली गरी ४१ जना नै सांसद छन्। संसदमा मत बराबर भए सभामुखले निर्णायक मत राख्न पाउने कानुनी प्रावधान छ। सभामुख पूर्णबहादुर घर्ति माओवादी केन्द्रबाट निर्वाचित भएकोले उनले निर्णायक मत राख्दा बजेट पारित हुन नसक्ने देखिएपछि सत्तापक्षले बैठक बहिष्कार गरेको सहजै अनुमान गर्न सकिन्छ।