लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ को बजेट बहुमतले पारित नहुने भएपछि मुख्यमन्त्री शंकर पोखरेलसहित मन्त्रीहरू संसद बैठक छोडेर हिँडेका छन्।
यसअघि मुख्यमन्त्री पोखरेललाई समर्थन गरेर जनता समाजवादी पार्टीकी सांसद सुमन शर्मा रायमाझीले राज्यमन्त्री पदबाट राजीनामा दिँदै समर्थन फिर्ता लिएकी थिइन्।
आजको बैठकमा उनी विपक्षी दलको लहरमा बसेकी थिइन्। सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र सांसद अजय शाही उपचारका लागि काठमाडौं आएका छन्। उनी अहिले बुटवल फर्किइरहेको बुझिएको छ। तत्कालीन नेकपाबाट चुनाव जितेकी दाङकी सांसद विमला वली पनि अहिले माओवादी केन्द्रमा छन्।
पोखरेलले यी तीनै जना सांसदको समर्थन देखाएर दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए।
प्रदेश सभाको कार्यसूची अनुसार आज प्रदेश सभामा बजेट निर्णयार्थ पेस गर्ने कार्यसूची थियो।
यसअघि बैठकमा बजेटका छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरू र मुख्यमन्त्रीले जवाफ दिएका थिए।
तर बजेट निर्णयार्थ पेस हुनुअगावै मुख्यमन्त्री पोखरेलसहित सबै मन्त्री तथा सत्तापक्षका सांसदहरू बैठकबाट बाहिरिए। सत्तापक्ष नै संसदबाट हिँडेपछि छलफलका लागि भन्दै सभामुख पूर्णबहादुर घर्तीले आधा घन्टा बैठक स्थगित गरेका छन्।
विपक्षीहरूले भने सरकार अल्पमतमा परेकाले बहुमत नपुग्ने बताएका छन्। उनीहरूले बहुमत पुग्ने दाबी छ भने विश्वासको मत लिन भनेका छन्।
संवैधानिक व्यवस्थाअनुसार प्रदेशले साउन १ गतेदेखि नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन गर्नुपर्ने हुन्छ।