शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी भएकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राज्यमन्त्रीबाट राजीनामा दिएकी छन्।
यसअघि सत्ता साझेदार माओवादी केन्द्रले मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि वैशाख ६ गते राजीनामा दिएका पोखरेलले जनता समाजवादी पार्टीका चार जना प्रदेश सभा सदस्यलाई साथमा लिई दोस्रो पटक प्रदेश सरकारको नेतृत्व लिएका थिए।
प्रदेश सभामा ६ जना सदस्य रहेको जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, कल्पना पाण्डे, विजय यादव र सुमन शर्मा रायमाझीलाई वैशाख ६ गते नै मन्त्री पद दिएर सरकारमा सहभागी गराएका थिए। तर राज्यमन्त्री रायमाझीले भने दुई महिना नबित्दै शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएकी छन्।
रायमाझीले जनता समाजवादी पार्टी नेपालले सरकारलाई समर्थन नरहेको र पार्टीको समर्थन र सहयोगबिना आफू प्रदेश सरकारमा सहभागी हुन नसक्ने भएकोले संविधानको धारा १६९ को २ (क) बमोजिम शुक्रबारदेखि नै लागु हुने गरी राज्यमन्त्रीबाट राजीनामा दिएको उल्लेख गरेकी छन्।
जसपाका तीन जनालाई मन्त्री पद दिए पनि आफूलाई मात्र राज्यमन्त्री दिएकोप्रति रायमाझी पहिलेदेखि नै असन्तुष्ट रहेकाले राजीनामा दिएको स्रोतको दाबी छ।
रायमाझीको मोबाइल अफ भएका कारण सम्पर्क हुन नसके पनि लुम्बिनी प्रदेशमा जसपाका संसदीय दलका नेता सन्तोष पाण्डेले रायमाझीको राजीनामा बारे पार्टीमा छलफल भइरहेको जानकारी दिए।
‘हामी अहिले काठमाडौंमा छौं, पार्टीको सल्लाहबमोजिम राजीनामा दिएको हो र त्यसबारे छलफल भइरहेको छ,’ उनले भने।