रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि झण्डै २ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको छ।
समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर शहरः सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर भन्ने नारालाई निरन्तरता दिँदै नगरपालिकाले १ अर्ब ९८ करोड ७६ लाख २८ हजार ५ सय ७४ रुपैयाको बजेट सार्वजनिक गरेको हो । यो बजेट चालु आर्थिक वर्षको भन्दा ९ करोडले बढी हो ।
चालु आर्थिक वर्षका लागि तिलोत्तमा नगरपालिकाले चालुतर्फ ७५ करोड १ लाख २१ हजार ५ सय ६० र पूँजिगत तर्फ १ अर्ब १२ करोड २५ लाख ५१ हजार गरी १ अर्ब ८९ करोड ६ लाख ७२ हजार ५ सय ६४ को बजेट प्रस्तुत गरेको थियो।
नगरपालिकाले चालुतर्फ जम्मा ९० करोड २० लाख ४३ हजार रुपैया (५१.१० प्रतिशत) र पूँजीगततर्फ ८६ करोड ५५ लाख ८५ हजार ५ सय ७४ रुपैया (४८.९० प्रतिशत) खर्च प्रस्ताव गरेको छ। त्यसमा सामाजिक सूरक्षा तर्फको २२ करोड रुपैया समावेश नगरिएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताईन् ।
आगामी वर्ष तिलोत्तमाले आन्तरिक राजश्वतर्फ ४४ करोड १ लाख ९ हजार २ सय ८७ रुपैयाँ, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्व ५० करोड ७५ लाख १९ हजार २ सय ८७ रुपैया, लागत सहभागिताबाट ४ करोड प्राप्त हुने लक्ष्य लिएको जनाएको छ ।
मंगलबार सम्पन्न दशौं नगरसभामा आर्थिक बर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले दोस्रो लहरको कोरोना महामारीको कारण विश्वभर देखा परेको संकट र अर्थतन्त्रमा पारेको असहज अवस्थामा बजेट ल्याउनुपर्दा नगरबासीको विकासको ब्यग्र चाहनालाई पूर्ण रूपमा समेट्न नसकेको बताईन्।
चौधरीले नगरपालिकाले अगाडि सारेको ‘समुन्नत सुरक्षित र वातावरणमैत्री सुन्दर शहरः सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ सहितको दुरदृष्टि र नगरबासीलाई सर्वसुलभ, भरपर्दो, गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराई नगरवासीको जीवनस्तरमा क्रमिक सुधार ल्याउन तय गरिएको गन्तव्यलाई मूर्तरुप दिन नगर सरकार कटिवद्ध रहेको बताईन्।
बजेट तर्जुमा गर्दा उपलब्ध स्रोत र साधनको अधिकतम उपभोग गर्नुपर्ने मान्यतालाई जोड दिँदै वर्तमान विषम परिस्थितिको उचित तरिकाले सम्बोधन गर्न नेपालको संविधानमा उल्लेखित स्थानीय तहको अधिकारसूची, सार्वजनिक सेवा प्रवाहमा नगर सरकारको भूमिका र सञ्चालित विकास आयोजनाहरु कार्यान्वयनको अवस्थालाई समेत ध्यान दिएको चौधरीको भनाई छ।
जनमैत्री, जनमुखी नगरपालिकाको पहिचान स्थापित हुने गरी बजेट विनियोजन गरिएको चौधरीले दावी गरिन्।
बजेटमा नगर सरकारको क्षेत्राधिकार भित्रका कर तथा गैरकर, राजश्व परिचालन र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको र निर्धारित समयमै विकास आयोजनाको नतिजामूलक कार्यान्वयन गर्नको लागि संचालित महत्वपूर्ण योजनाहरुलाई आगामी वर्ष सम्पन्न गर्ने गरी प्राथमिकताका साथ व्यवस्था गरिएको छ।
नगरपालिकाले शिक्षामा क्षेत्रको विकासका लागि ३५ करोड २४ लाख ५२ हजार, वर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई नेपाल सरकारले उपलब्ध गराउने सुविधाको अतिरिक्त प्रोत्साहन स्वरुप एकहजार रुपैयाका दरले भत्ता उपलब्ध गराउने गरी समग्र स्वास्थ्य क्षेत्रका लागि १९ करोड ४९ लाख ८० हजार, नगरपालिकाको क्षेत्रभित्रका जिर्ण सडकहरुको मर्मत सम्भार तथा स्तरोन्नतीका लागि प्रत्येक वडामा १ करोडका दरले जम्मा १७ करोड विनियोजन गरेको छ । समग्रमा पूर्वाधार विकासको क्षेत्रमा ६४ करोड ८० लाख १३ हजार बजेट विनियोजन गरिएको चौधरीले जानकारी दिईन् ।
त्यसैगरी फरक क्षमता भएका व्यक्ति, महिला, बालवालिका, जेष्ठ नागरिक, जातीय विभेद न्यूनीकरण, लैंङ्गिक हिंसा न्यूनीकरण, समतामूलक समाज निर्माण र राज्यले अवलम्बन गरेको समावेशी विकासलाई प्रवद्र्धन गर्नको ३ करोड ८ लाख ७२ हजार रुपैया विनियोजन गरिएको छ ।
त्यसका साथै विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन, तथा खेलकुद मैदान पूर्वाधार लगायतका कार्यको लागि १ करोड १५ लाख ५० हजार विनियोजन गरिएको छ ।
वन तथा भू–संरक्षण, जलाधार संरक्षण, विपद् व्यवस्थापन, विपद् प्रतिकार्य योजना तयारी, विपद् पीडितहरुका लागि आयआर्जन तथा पुनर्उत्थान लगायतका कार्यक्रमको लागि ३ करोड ४० लाख ९७ हजार रकम बिनियोजन गरिएको चौधरीले जानकारी दिईन् ।