लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दैछ।
प्रदेश सरकारले पूर्ण बजेट ल्याउने चौथो वर्षमा आईपुग्दा पहिलो पटक अर्थमन्त्रीको रूपमा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले मंगलबार दिउँसो ३ बजे प्रदेशसभामा बजेट प्रस्तुत गर्दैछन्।
यसअघिका बजेट भने आर्थिक मामिला मन्त्रालय समेत आफैंसँग राखेका कारण मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्दै आएका थिए।
दिउँसो ३ बजे प्रदेशसभामा प्रस्तुत गरिने आगामी वर्षको उक्त बजेट ३८ अर्ब हाराहारी रहेको स्रोतले बताएको छ। चालु आर्थिक वर्षमा ३६ अर्ब ३५ करोड २५ लाख बजेट प्रस्तुत गरेको प्रदेश सरकारले यस वर्ष बजेटको आकार केही बढाएको हो।
प्रदेश सरकारले चालु वर्ष जस्तै आगामी वर्षको बजेट पनि कोभिडको नियन्त्रण, उपचार र कोभिडका कारण रोजगारी गुमाएकाको रोजगारी केन्द्रीत गर्दै नीति तथा कार्यक्रम ल्याएको थियो।
यस वर्षको बजेटमा स्मार्ट कृषि गाउँ कार्यक्रम र मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमलाई निरन्तरता दिँदै गाउँमै कृषिको विकासको लागि माटो परीक्षण गर्ने जस्ता नयाँ कार्यक्रम समावेश गरिएका छन्।
त्यस्तै हरेक जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नका लागि बजेट विनियोजन गरिएको छ। बजेटमा कोभिड नियन्त्रण पूर्वाधार विकास क्षेत्रमा सिर्जना हुने खालका कार्यक्रमलाई प्राथमिकता दिइएको मन्त्री चौधरीले जानकारी दिए।
श्रोतका अनुसार सरकारले स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर ल्याउन लागेको बजेटमा यसअघि सबैभन्दा विवादास्पद र आलोचना हुँदै आएको स्थानीय पुर्वाधार साझेदारी विकास कार्यक्रमको नाममा सांसदलाई दिँईदै आएको सांसद विकास कोषलाई भने यथावत राखेको छ।
कोषको रकम व्यापक दुरूपयोग भएको भन्दै आलोचना भएपछि संघीय सरकारले भने उक्त बजेट आगामी वर्षको लागि खारेज गरेको छ।