लुम्बिनी प्रदेशका नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले प्रदेशभरका स्वास्थ्य संस्थाबाट नि:शुल्क रगत उपलब्ध गराउने पहिलो निर्णय गरेका छन्।
बुधबार मन्त्री पदको पद तथा गोपनीयताको सपथ ग्रहणलगत्तै कार्यभार सम्हाल्ने क्रममा उनले प्रदेशका सबै स्वास्थ्य संस्थाबाट नि:शुल्क रूपमा रक्तसञ्चार सेवा प्रदान गर्ने निर्णय गरेका हुन्।
नि:शुल्क रक्तसेवा प्रदान,स्वस्थ लुम्बिनीको पहिचान भन्ने नारालाई अगाडि सार्दै प्रदेशभर रगतमा लाग्ने शुल्कमा छुट दिने निर्णय मुख्यमन्त्रीसामु पठाएको उनले बताए।
आगामी नीति तथा कार्यक्रममा लागू हुने गरी यो निर्णय कार्यान्वयनमा आउने मन्त्री श्रेष्ठको भनाइ छ।
पहिलो निर्णयमा हस्ताक्षरपछि स्वास्थ्य मन्त्री श्रेष्ठले बुटवलका विभिन्न स्थानमा रहेका कम्युनिष्ट नेता तथा सहिदका शालिकमा माल्यार्पण गरी अग्रजहरूले लिएको बाटोमा अगाडि बढ्ने प्रण गरेका थिए।
सबभन्दा पहिले बुटवल पुष्पलाल पार्कमा रहेको कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरी सम्मान व्यक्त गरेका श्रेष्ठले नेकपाका पूर्वअध्यक्ष मनमोहन अधिकारीको गोलपार्कमा रहेको शालिकमा माल्यार्पण गरे।
त्यस्तै, मणिमुकुन्द सेन उद्यान बुटवल फूलबारीमा रहेको नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठक जीवराज आश्रितको शालिक र सहिद स्मारकमा माल्यार्पण गरेका थिए।