विपक्षी गठबन्धनमा बहुमत संख्या हुँदाहुँदै लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि अहिले विपक्षीहरूले सपथ ग्रहण रोक्न प्रदेश प्रमुख कार्यालयमा धर्ना दिएका छन्।
नयाँ सरकार गठनको लागि आइतबार बिहान मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले दिउँसो ४१ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
त्यसलगत्तै ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालय पुगेका गठबन्धनका सांसद प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिन पुगेका हुन्। अहिले पनि गठबन्धनका सांसद प्रदेश प्रमुख कार्यालय परिसरमा धर्नामा बसेका छन्।
लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसका सचेतक फकरूद्धिन खानले आफूहरूले ४२ जनाको हस्ताक्षरसहित कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै प्रदेशप्रमुख समक्ष दाबी पेश गरेको सेतोपाटीलाई जानकारी दिए।
'हामीहरूको पक्षमा ४२ जना सांसदको हस्ताक्षर छ, बहुमत सदस्यको हस्ताक्षर एकातर्फ हुँदाहुँदै कसरी पोखरेल मुख्यमन्त्री नियुक्त हुन सक्नुहुन्छ,' खानले भने।
उनले नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टीका २, राष्ट्रिय जनमोर्चाका १ तथा सूर्य चिन्ह लिएर स्वतन्त्रबाट निर्वाचित २ जना सांसदले पनि केसीको पक्षमा हस्ताक्षर गरेको बताए।
सूर्य चिन्ह लिएर कपिलवस्तु २ (ख) बाट निर्वाचित धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी १ (ख) बाट निर्वाचित अजय शाही यसअघि एमालेमा रहेको भए पनि अहिले केसीको समर्थनमा हस्ताक्षर गरेको खानले बताए।
यसअघि आइतबार बसेको एमाले संसदीय दलको बैठकमा सहभागी भएका उनीहरू दुबै जनाले शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने निर्णयमा हस्ताक्षर गरेका थिए।
त्यस्तै कपिलवस्तुबाट निर्वाचित एमालेका दृगनारायण पाण्डेयले भने प्रदेशसभा सदस्य र एमाले पार्टीबाट समेत राजीनामा दिएका छन्।
यस्तै दाङ ३(ख) बाट निर्वाचित एमालेकी विमला वली पनि माओवादी केन्द्रमा प्रवेश गरिसकेकी छन्।
मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै बिहान राजीनामा दिएका थिए।
मुख्यमन्त्रीको राजीनामा पछि लुम्बिनीको राजनितिक जोडघटाउ छिनछिनमै फेरिएको छ। हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दाबी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४० जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए।
४१ जना सांसदको हस्ताक्षर पेश गरेका पोखरेललाई प्रदेश प्रमुखले पुनः मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले फेरि ४२ सांसदको हस्ताक्षरसहित केसीको पक्षमा प्रदेश प्रमुखसमक्ष निवेदन पेश गरेको हो।