खुल्ला राजनीतिमा आएको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कपिलवस्तुको शिवगढीमा पार्टीको केन्द्रीय सम्पर्क कार्यालय बनाउन थालेको छ।
पार्टीका महासचिव विप्लवको घर भएको शिवराज नगरपालिका-९ शिवगढीमा पार्टीको सम्पर्क कार्यालय तथा सभागृह बनाउन थालिएको हो।
कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि ८० किलोमिटर उत्तर पश्चिम रहेको शिवगढीमा बनाउन लागिएको सम्पर्क कार्यालय तथा सभागृहको विप्लवले शिलान्यास गरेका छन्।
पार्टीका प्रचार विभाग प्रमुख बसन्त श्रेष्ठले पार्टीले यसअघि आफ्ना गतिविधि सञ्चालन गर्दा पनि कपिलवस्तुलाई नै आधार बनाएर अगाडि बढाउने गरेकाले सम्पर्क कार्यालय पनि कपिलवस्तुमै बनाउन लागिएको जानकारी दिए।
‘शिवगढीमा पार्टीको सम्पर्क कार्यालय र सभागृह निर्माणको लागि बुधबारमात्रै भवनको शिलान्यास गरिएको छ, अहिले त्यसैलाई केन्द्रीय सम्पर्क कार्यालयको रूपमा निर्माण गर्दैछौं, भविष्यमा राजनीतिक घटनाक्रम तथा पार्टीको आवश्यकताअनुसार क्षेत्रीय वा जिल्लास्तरीय जुनसुकै कार्यालयको रूपमा पनि सञ्चालन हुन सक्छ,’ उनले भने।
केही वर्ष भूमिगत रहेका विप्लव फागुन २१ गते काठमाडौंमा सार्वजनिक भएका थिए।
खुला राजनीतिमा आएपछि पनि विप्लव कपिलवस्तु, नवलपरासीलगायत जिल्लामा सक्रिय छन्।
पार्टीका केन्द्रीय सदस्य एवं नमूना निर्माणको कामका इन्चार्ज सञ्जिवका अनुसार आगामी असारभित्रै पार्टीको केन्द्रीय सम्पर्क कार्यालय निर्माण सम्पन्न भइसक्ने छ। उनले किसानबाट किनेको ४ कट्ठा क्षेत्रफलमा एक करोडभन्दा बढी लागतमा पाँच तले सम्पर्क कार्यालय भवन निर्माण गर्न लागिएको जानकारी दिए। सभागृह भवन पनि अलग्गै रहने छ। पहिलो चरणमा एकएक तलाका भवन निर्माण गरी सम्पर्क कार्यालय र सभागृह सञ्चालन गर्ने र थप तला पछि थप्दै जाने बताए।
पार्टीलाई संस्थागत गर्दै आर्थिक रूपमा समेत सवलीकरण गर्न आठौं महाधिवेशनबाटै पारित भएबमोजिम भवन निर्माण गर्न लागिएको उनले बताए। उनले निर्माण गरिने भवन पार्टी कार्यालयमात्र नभई आवास गृहको रूपमा पनि चलाउन सकिने बताए।
‘जीवनभर पार्टीका लागि काम गरेका नेता कार्यकर्ता बुढेसकालमा सहाराविहीन हुन नपरोस् भनेर शिवगढीमा मात्र होइन देशभरि नै भवन निर्माण गर्नुपर्छ भन्ने हाम्रो पार्टीको निर्णय छ,’ सञ्जिवले भने।
अहिलेलाई केन्द्रीय सम्पर्क कार्यालय भनिएकाले शिवगढीमा निर्माण गर्न लागिएको भवनमा भने अध्ययन सामग्री उपलब्ध हुने देखि व्यवस्थित रूपको बनाइने बताए।
‘पछि महासचिव कमरेड जहाँ बस्नुहुन्छ, केन्द्रीय कार्यालय त्यहीँ बनाउन सकिएला तर अहिले यसैलाई सम्पर्क कार्यालय भनिएकाले अध्ययन सामग्री राख्नेदेखि व्यवस्थित रूपको कार्यालय यहीँ बन्ने छ,’ उनले भने।
पार्टीसँग पैसा रहेको र नेता कार्यकर्ताबाट श्रमदान गर्नेदेखि बुद्धिजीवी, व्यापारी, कर्मचारीबाट पनि सहयोग जुटाउन आह्वान गरिने भएकाले भवन निर्माणको लागि आर्थिक समस्या नपर्ने उनले बताए।
‘अहिलेको अवस्थामा अरू राजनीतिक दल घाटामा भए पनि हाम्रो पार्टीको फन्ड संकलन छ, केही त्यही फन्ड रकम प्रयोग गर्छौं, पार्टीका नेता कार्यकर्ता, बुद्धिजीवी, व्यापारी, कर्मचारीलाई पनि सहयोगको लागि आह्वान गर्छौं। हामी आफैंले पनि श्रमदान गर्छौं, भवन निर्माणका लागि आर्थिक समस्या पर्दैन,’ उनले भने।
उक्त पार्टीले यसअघि रोल्पाको थवाङमा पनि पार्टीको कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याएको जनाएको छ।
खुला राजनीतिमा आएपछि व्यक्तिगत सुरक्षाको लागि भन्दै सरकारले उपलब्ध गराएको सुरक्षा टोली विप्लवले फिर्ता गरिसकेको उक्त पार्टीले जनाएको छ।
पार्टीका प्रचार विभाग प्रमुख बसन्त श्रेष्ठले विप्लवलाई अहिले कतै जानु पर्ने र कुनै असुरक्षा नभएकाले सरकारले उपलब्ध गराएको केही दिनपछि नै सुरक्षा टोली फिर्ता गरिदिएको बताए।
‘अहिले महासचिव कमरेडलाई कतै जानु पनि छैन, कुनै असुरक्षा पनि छैन, कहीँ नजाँदा सुरक्षाकर्मी त्यत्तिकै राख्नुभन्दा आवश्यक परे सुरक्षा निकायसँग समन्वय गर्ने गरी तत्कालै फिर्ता गरिएको हो,’ श्रेष्ठले भने।
सरकारले विप्लवको सुरक्षामा प्रहरी निरीक्षकको कमान्डमा अगुवा गाडीसहित १० जना सुरक्षाकर्मी खटाएको थियोे।