कृष्णी थारूको जिन्दगीमा दुइटा कुरा छन् जो उनले कहिलै बिर्सने छैनन्।
एउटा खुट्टाको खत, अर्को साउन २।
खुट्टाको खतले उनलाई आफू कहाँ थिएँ भनेर सम्झाइरहनेछ, साउन २ ले उनलाई आफू के हुँ भनेर।
थारू अहिले प्रदेश ५ प्रदेशसभाका उपसभामुख छन्।
बर्दियाको राजापुरको एक गरिब परिवारमा जन्मिएकी थिइन्। उनका आमाबुवा बसेको घर उनीहरूको आफ्नो थिएन, मालिकको थियो। आमाबाका सन्तान भने उनीहरू चार छोरी र एक छोरा थिए।
आमाबाको जिन्दगी नै मालिकको बन्दकी जस्तो थियो। मालिककै जमिन जोत, उसकै निगाहमा बाँच। वर्षभरि काम गरेको दुई-चार सय ज्याला हुन्थ्यो। त्यत्रा छोराछोरीको पालनषोषण गर्न सक्दैनथे। आमाबाले कृष्णीकी दिदीको सानैमा बिहे गरेर पठाइदिए। अब पालो थियो उनको।
बिहे गरेर त पठाइदिएनन् तर अर्कैको घरमा काम गर्न जानुपर्यो। त्यतिबेला उनी जम्मा सात वर्षकी थिइन्। बर्दियाको राजापुरमा कृषि विकास बैंकका प्रमुखको घरमा उनी काम गर्न गएकी थिइन्। काम गर्न गएकी थिइन् मतलब कमलरी बस्न गएकी थिइन्।
उनकी आमा पनि कमलरी थिइन्, बा कमैया थिए।
कमलरी बस्न गएको बैंकका हाकिमको घरमा दुई बच्चा थिए, उमेरमा कृष्णीभन्दा एक दुई वर्षमात्रै साना। मालिकका छोराछोरी घरबाहिर खेलिरहन्थे। कृष्णीले घरभित्र भाँडा माझ्ने, कपडा धुने, घर सफा गर्ने, तरकारी केलाएर ठिक्क पारिदिनुपर्थ्यो।
आफूजस्तै उमेरका बालबालिका कोठाभित्र पढ्न बसेका हुन्थे, कृष्णी उनीहरूको ख्याल गर्न। बच्चाबच्चीलाई बोक्नु परे उनै अघि सर्नुपर्थ्यो। कहिले कहिले उनको थकित ज्यानले सम्हाल्न सक्दैनथ्यो, उनीहरूकी आमा उनलाई पिट्न आइपुग्थिन्।
सात वर्षको उमेरदेखि उनले कति पिटाइ खाइन्, कति चोट लाग्यो भन्ने कुराको हिसाब अब बिर्सिसकेकी छन्। कतिपय भने उनले कहिलै बिर्सन सकिनन्।
मालिकको घरमा पाहुना आइरहन्थे खाना खाइवरी सकाउँदा राति ८-९ बज्थ्यो, घरपरिवार र पाहुनाले खाएपछि मात्रै उनले खान पाउँथिन्।
'कहिलेकाहिँ त भात सकिएको हुन्थ्यो, दाल र तरकारी खाएर जुठाभाँडो गर्न लाग्थें, केटाकेटी हो कति खान्छे र? बचेखुचेको खाए पनि अघाइहाल्छे भनेर कहिल्यै पनि मेरो लागि चामल थपेर पाक्दैनथ्यो,' कृष्णीले आफ्नो बाल्यकालको भोकको कथा सम्झिइन्।
पेट भोको भए पनि जुठा भाँडा बिहानलाई राख्न उनलाई छुट थिएन, भाँडा माझेर चुलो सफा गरिसक्दा रातको दश बजिसक्थ्यो। एकदिन भाँडा माझेर सिँढीबाट माथि लैजाँदै थिइन्, चिप्लिएर लडिन्। प्लाष्टिकको बाटामा बोकेका भाँडा भुइँमा खसे। शिशाको गिलास पनि थियो फुट्यो। त्यही शिशाको टुक्राले काटेको चोटको खत अझै पनि उनको खुट्टामा छ, कहिल्यै नमेटिने र नपुरिने!
गिलासले काटेर खुट्टाबाट भलभली रगत बगिरहेको थियो। मालिक्नी आइन्। घाउ देखेर मालिक्नीको मनमा थोरै दया पलाउला भन्ने आश उनको केटाकेटी मनले गरिसकेको थियो। तर सोचेजस्तो कहाँ हुन्छ र!
'त्यत्रो घरको काम गर्थें म सानै पनि थिएँ नि, उनीहरूलाई मेरोभन्दा गिलास फुटेको चिन्ता थियो,' उनले भनिन्, 'तेरो बाउले किनेर ल्याइदिन्छ भन्दै गाली गरिरहनुभयो।’
बैंकका हाकिमले उनले वर्षभरि काम गरेको ज्याला भनेर ३ सय रुपैयाँ बुवालाई बुझाउँथे। यसरी कृष्णीले त्यो घरमा ३ वर्ष काम गरिन्।
उनलाई बुवाआमाले माया गरेर कृष्ण नाम राखिदिएका थिए। ती मालिक-मालिक्नीले कहिलै त्यो नामले बोलाएनन्। उनीहरू त सधैँ केटी र मोरी भनेर बोलाउँथे। मोरी भन्ने शब्द पनि उनलाई प्यारो लाग्न थालेको थियो।
'मोरी उता जा, यता आ, यसो गर, उसो गर भनेर मालिक्नीले अह्राउँदा पनि कति माया गरेर बोलाउनुभयो भन्ने लाग्थ्यो, मोरी भनेको के हो भन्ने थाहा नै थिएन,' उनले भनिन्।
१० वर्षको उमेरमा उनी राजापुरकै थारू जमिनदारको घरमा काम गर्न पुगिन्। त्यहाँ पुगेपछि भने उनलाई केही राहत भयो। कामको कुनै मूल्य र ज्याला त थिएन तर जमिनदार थारू नै भएकोले उनले छोएको भान्छा चल्ने भयो। पहिले बसेको घरमा त परिवारका सबै सदस्यले खाएपछि सफा गर्न र जुठा भाँडा जम्मा गर्नमात्रै भान्छा पस्न पाउँथिन्।
थारू मालिकको घरमा भान्छामा जान पाउने भएपछि के पाकेको छ भन्ने थाहा पाउन थालिन्। पेटभरि खान पाउन थालिन्। तर ज्याला भने त्यहाँ पनि थिएन, वर्षको एउटा नयां लुङगी, सल र ब्लाउज पाउँथिन्। त्यही एकसरो कपडामा उनले वर्ष गुजार्थिन्।
उमेरसँगै उनको आवश्यकता र चाहना पनि बढ्दै थिए। चाडपर्व आउँदा टोल छिमेक र वरपर आफूजस्तै केटाकेटी खुसी हुन्थे, नयाँ कपडा, मीठो खानेकुरा र परिवारसँगको भेटघाटमा रमाइरहेका हुन्थे, उनी भने यी सबैबाट टाढा थिइन्।
'रहर त लाग्थ्यो नि, केटाकेटी घर बाहिर खेलिरहेको देख्दा खेल्न जाउँ भन्ने हुन्थ्यो, चाडपर्वमा राम्रो लगाएर र मीठो खाएर परिवारसँग रमाइरहँदा मलाई पनि त्यस्तै गर्न पाए भन्ने लाग्थ्यो, तर ती पुरा हुनु भनेको मेरो भाग्यमै थिएन, म कल्पना गरेर भए पनि खुसी हुन खोज्थें,' उनले भनिन्।
उनले बुवाआमालाई म भाइबहिनी हेरेर घरको काम गर्छु अर्काको घरमा नपठाउनुस् नभनेकी होइनन्।
'तर आमाले कम्तिमा पेटभरि खान त पाएकी छौ भनेर पठाउनुहुन्थ्यो, म पनि खान पाएकोमा चित्त बुझाउँथें,' उनले सम्झिइन्।
कृष्णी १५ वर्षकी पुग्दै थिइन्। त्यतिबेलासम्म उनले तीन वटा मालिकको घरमा काम गरिसकेकी थिइन्। राजापुरकै कृष्ण थारू पनि जमिनदारको घरमा कमैयाको रूपमा काम गर्थे। कृष्णीको उनै कृष्णसँग विवाह भयो।
विवाहपछि कृष्णीको परिचय फेरियो। एक त पतिपत्नी दुबैको नाम एउटै भयो भनेर उनी आफैंले कृष्णबाट नाम फेरेर कृष्णी भइन्। अर्को उनी कमलरीबाट बुक्रलहरी बनिन्। कमैयाकी पत्नीलाई बुक्रलहरी भनिन्थ्यो। पति जुन जुनघरमा कमैया बसेका छन् त्यो घरमा नि:शुल्क काम गर्नुपर्थ्यो। अर्थात् मालिकको घरमा श्रीमानकै ज्यालामा नि:शुल्क काम गर्नु पर्ने श्रमिक।
'विवाह भएका पुरुषले श्रीमतीलाई पनि मालिकको घरमा काम गर्न लैजानुपर्थ्यो, काम गरेबापत खान पाए पनि ज्याला भने पाउने थिएनन्। मैले पनि बिहेपछि त्यसैगरी काम गर्नुपर्यो,' उनले भनिन्।
कमलहरीभन्दा बुक्रलहरीको पीडा झनै ठूलो थियो।
'मालिकको घर परिवार, श्रीमान सबैले बुक्रलहरीलाई बोझ सम्झिन्थे। मप्रति नै निर्भर छन्, यसलाई मैले नै पालेको छु भन्ने सोचाइ राखेको पाइन्थ्यो, तर हामीभित्र कस्तो पीडा हुन्थ्यो कसलाई देखाउनु?' उनले भनिन्।
सात वर्षको उमेरदेखि अर्कैको घरमा नि:शुल्क काम गरेकी कृष्णीले २४ वर्ष उमेरसम्मको आफ्नो उर्जाशील युवा अवस्था यसैगरी बिताइन्। यी वर्षमा कृष्णीलाई खाटमा सुतेको अनुभवसमेत थिएन। सधैं जुटको बोरामा सुतेर उज्यालो बनाउँथिन्। साहुका छोराछोरी खाटमाथि सुतेका हुन्थे, उनी त्यही खाटमुनि पल्टिँदै पुग्थिन्। बिहान उठ्दा कतिपटक त मालिकका छोराछोरीले राति फेरेको पिसाबमा भिजेकी हुन्थिन्।
मालिकको घरमा काम गर्दागर्दै उनका दुई छोराछोरी जन्मिए।
'छोराछोरीलाई लगाइदिने र ओढाइदिने थाङना कपडा पनि थिएन, फाटेको लुङगी र सलले बेरेर राख्नुपर्थ्यो सबैभन्दा बढी दु:ख त उनीहरू बिरामी पर्दा अस्पताल लैजान पैसा नहुँदा हुन्थ्यो। अस्पताल लैजान पैसा नभएपछि गाउँघरमै जडिबुटीकै भरमा बस्थ्यौं,' उनले सम्झिइन्।
समय सधैँ उस्तै त हुन्न। जमानाले उनीहरूलाई केही भनिरहेजस्तो लाग्थ्यो। र त मालिकहरूले श्रमशोषण र दमन अब सहन सकिन्न भन्ने विद्रोहको भाव मनमा आउन थालेको थियो। उनीहरू बस्ने मालिकको घरमा अरू पनि ३/४ जना कमैया थिए। टोलछिमेकका मालिकको घरमा पनि कमैया राखिएका थिए। उनीहरू घरमै काम गर्दा र वनजंगल मेलापात जाँदा छलफल गर्न थाले।
हाम्रो श्रमशोषण भइरहेको छ, वर्षभरि बधुवा श्रमिकको रूपमा काम गरिरहन्छौं न त हाम्रो ज्याला तोकिएको छ न त काम गर्ने समय भनेर उनीहरू एकअर्कालाई सम्झाउँथे।
संगठित हुँदै गरेको मालिकलाई थाहा भए त्यो घरमा बस्न पाउँदैनथे। त्यसैले उनीहरूले मेलापात जाँदामात्रै छलफल गर्थे। बर्दियासँगै बाँके, दाङ, कैलाली, कञ्चनपुरमा पनि कमैया र कमलहरी समस्या धेरै थियो। अरू जिल्लामा पनि कमलहरीहरू कामको ज्याला र समय तोक्नुपर्यो भन्ने आवाज उठाइरहेको उनीहरूले सुने। त्यसपछि त उनीहरू चुपचाप हैन बाहिर निस्केर बोल्न थाले। कृष्णी त अग्रपङ्तिमै आइन्।
बर्दियामा कृष्णीले समुदाय र मिडियाको सहयोग लिँदै नेतृत्व गरिन्। जिल्लामा मात्र होइन काठमाडौं केन्द्रीत आन्दोलन हुन थाले।
अन्ततः २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गर्यो।
त्यो घोषणाको आज २० वर्ष पुगेको छ। उनीहरूको जीवनको सबैभन्दा खुसीको दिन, बाल्यकालदेखि बाँधा मजदुरको रूपमा बाँधिएर बस्नु परेको जंजिरबाट मुक्ति पाएको दिन।
त्यो दिन कृष्णी जीवनमा पहिलो पटक त्यति खुसी भइन् रे।
'म अहिले जहाँ छु मेरो जग भनेको नै कमलहरी कमैयाविरूद्धको आन्दोलन नै हो, त्यो दिन नआइदिएको भए आज म यहाँ आउन सक्ने थिइन मेरा छोराछोरी पनि कसैको घरमा बाँधिएर बस्नुपर्ने हुनसक्थ्यो,' उनले भनिन्।
उनीहरू कमैयाको जंजिरबाट मुक्त त भए तर जाने ठाउँ थिएन, बस्ने घर थिएन, खाने गाँस थिएन। मालिकको घरबाट निस्किएका थिए। सरकारले कमलहरी मुक्त गरेपछि मालिकको जग्गा काटेर त्यही काम गर्ने कमैया कमलहरीहरूलाई दिन्छ भन्ने गलत प्रचार गरिएको थियो, त्यसको परिणाम उनीहरूले धेरै समस्या भोग्न बाध्य भए।
जाने कतै पनि ठाउँ नभएपछि रूख मुनि, सडक किनार र खाली चौरहरूमा पाल टाँगेर बस्न थाले। साउन महिना वर्षा र भेलको समय, बालबालिका, गर्भवती महिला, वृद्धवृद्धाको बिचल्ली भएको थियो। वर्षामा सर्पको टोकाइको डर त्यस्तै हुन्थ्यो। ती दिन सम्झिँदा उनलाई अझै पनि डर लाग्छ।
हिजो आफूहरूको मुक्तिको आवाज उठाउने कृष्णीहरू अब भने पुनर्स्थापनाको आवाज उठाउन थाले। कमैया मुक्त घोषणासँगै आफूहरूको बास, गास, शिक्षा, स्वास्थ्य रोजगारीको पनि व्यवस्था गर्नुपर्छ भनेर आवाज उठाउन थाले। सरकारले बाध्य भएर प्रति कमैया परिवारलाई ५ कट्ठा जग्गा ३५ क्यूफिट काठ, १० हजार रुपैयाँ दिने घोषणा गर्यो।
५ कट्ठा जग्गा दिने सरकारको निर्णय कार्यान्वयन हुन सकेन। बर्दियामा यति धेरै कमैया कमलहरी थिए। जति जग्गा छुट्याइएको थियो सबैले बाँडेर एक-डेढ कट्ठा लिए।
कृष्णीको परिवार अहिले सरकारले कमलहरी मुक्तिको घोषणा गरेपछि दिएको राजापुरको १ कट्ठा दुई धुर जग्गामा बनाएको घरमा बस्दै आएको छ।
श्रीमानले छोराको साथमा रहेर त्यहीँ पसल गर्छन् कृष्णी भने छोरीको साथमा प्रदेशसभाको जिम्मेवारीका लागि भैरहवास्थित सरकारी निवासमा बस्छिन्। तर उनलाई सरकारी निवासभन्दा आफ्नै झुपडी महलजस्तो लाग्छ रे।
कमैया मुक्ति घोषणा पछि कृष्णीले संस्था गठन गरेर आफूजस्तै कमलहरी कमैयाहरूलाई संगठित गर्दै आएकी थिइन्। २०५८ सालमा उनले मुक्त कमैयाको पक्षमा व्यवस्थित काम गर्न ग्रामीण जागरण समूह गठन गरिन्।
संस्थामार्फत मुक्त कमैयाहरूको खाद्य सुरक्षा, बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतको लागि दातृ निकायको सहयोगमा वकालत गर्दै आइन्। १२ जनाको समूहबाट सुरू गरेको त्यो संस्था चलाउँदै गर्दा धेरै कुरा सिक्ने अवसर पाइन्। बैठक कसरी बस्ने, माइन्युट कसरी लेख्ने सबै सिक्न थालिन्।
२०५९ सालमा राजापुर गाविसस्तरीय मुक्त कमैया समूहको अध्यक्ष भइन्। कमैयाको क्षेत्रमा काम गर्ने भन्दै थुप्रै संघसंस्था बाँके, बर्दियामा केन्द्रीत थिए। संस्थाहरूले खाद्य सुरक्षाको नाममा खाद्यान्न उपलब्ध गराउँथे। शिक्षाको नाममा कापी-कलम दिन्थे। उनलाई चित्तै नबुझ्ने। बसीबसी खाद्यान्न दिनुभन्दा काम दिनुस् भन्न थालिन्।
'तपाईंहरू भौतिक निर्माणमा सहयोग गरिदिनोस् हामी श्रम गरेर भवन बनाउँछौं, सडक बनाउँछौं त्यसबापत् ज्याला लिन्छौं तर काम नगरी खाद्यान्न वितरण गरेर हाम्रो बानी नबिगारिदिनोस् भन्यौं,' उनले भनिन्। बसीबसी खान हुन्न भन्ने उनलाई लाग्थ्यो।
२०६१ सालमा मुक्त कमैया समाजको केन्द्रीय सदस्य भइन्। २०६४ सालमा कमलहरी महिला जागरण समाज गठन गरिन्। मुक्त कमैया समाजको गाविस जिल्ला र केन्द्रीय तहसम्म बसेर काम गर्दा पुरूषहरूको आश्रयमा रहेर गठन गरिएका संस्थाले महिलाहरूको उद्धार हुन सक्दैन भन्ने उनलाई लागिसकेको थियो।
त्यसैले दाङ, बाँके, बर्दिया, कैलालीका महिलाहरूलाई आवद्ध गरी कमलहरी महिला जागरण समाज गठन गरेको उनी बताउँछिन्। ०६४ सालमा संस्था गठन गरे पनि जिल्ला प्रशासन कार्यालय बर्दियामा दर्ता गर्दा भने २०६७ साल पुगिसकेको थियो।
'जुनसुकै संस्थामा पनि नेतृत्व तहमा महिला नपुग्दासम्म महिलाहरूको पक्षमा काम गर्न सकिँदैन भन्ने लाग्यो, समग्रमा कमलहरीहरू विभेदमा त छन् नै त्यसैभित्र पुरूष र महिलाको बीचमा पनि विभेद थियो,' उनले भनिन्।
संस्था गठनपछि मुक्त कमलहरी महिलाको नेतृत्व विकास, सरसफाइ, आर्थिक सशक्तिकरण र आयआर्जन कसरी बढाउन सकिन्छ भनेर छलफल गर्ने, योजना बनाउने र स्रोत पनि आफैंले खोज्न थालिन्। यसपछि उनको नेतृत्व र व्यक्तित्व झन् तिखारियो।
पहिले-पहिले मालिकको घरमा काम गर्दा उनीहरूका छोरी/बुहारी विभिन्न तालिम गोष्ठीमा गएको सुनाउँथे। उनलाई भने तालिम भनेको दौडिने काम हो भन्ने लाग्दो रहेछ। संस्थामा आवद्ध भएपछि पहिलो पटक तालिममा जाने कुरा सुनेकी थिइन्।
उनलाई लागेको थियो- लौ न अब कसरी दौडिने होला! उनी डराएकी पनि थिइन् रे।
'म त्यतिबेला लुङगी लगाउँथे, लुङगी लगाएर कसरी दौडिने होला भनेर दुई दिनसम्म डराइरहें। तालिमको दिन जाँदा त कोठाभित्र वरिपरि बसेर छलफल भइरहेको थियो, म अचम्मै परें,' उनले भनिन्।
उनीहरूकै दबाबका कारण सरकारले केन्द्रमा मुक्त कमैया पुनर्स्थापना समाधान आयोग गठन गरेको थियो। जिल्लामा पनि आयोगको समिति बनाउनु पर्यो भनेर वकालत गर्दै आइन्। जिल्ला समिति पनि गठन भयो, उनी सदस्य भइन्।
आफूजस्तै कमलहरीको लागि दातृ निकायको साझेदारीमा स्थानीय तहहरू सँगै रहेर काम गर्न थालिन्। स्थानीय तहमा गइरहनु पर्दा राजनितिक दलहरूको नजिक पुगिन्।
मुक्त कमैया, सुकुम्बासी, हिंसापीडित तथा पछाडि परेको समूहको प्रतिनिधित्व गर्दै आवाज उठाउँदै गर्दा उनको नेतृत्व क्षमता, आत्मविश्वास पनि बढ्दै गइरहेको थियो।
कृष्णीलाई आफ्नो पार्टीमा ल्याउन सकियो भने उनीजस्तै मुक्त कमैया कमलहरीहरूलाई ल्याउन सकिन्छ भनेर सबैजसो पार्टी उनलाई ल्याउन चाहन्थे। उनलाई भने राजनीतिक दलप्रति त्यति चासो थिएन। थियो त आफूजस्तै कमलहरीलाई कसरी पुनर्स्थापना गर्न सकिन्छ, उनीहरूलाई सानो भए पनि झुपडीको मालिक कसरी बनाउन सकिन्छ? उनले आफ्नो समय त्यसैमा खर्चिइन्।
सानैदेखि दु:ख भोग्दै आएकी कृष्णीलाई कम्युनिष्ट पार्टी गरीब, सुकुम्वासी र मजदुरका पक्षमा काम गर्ने पार्टी हो भन्ने लाग्थ्यो रे। धेरै पार्टीबाट प्रस्ताव आउन थालेपछि उनले तत्कालीन एमाले रोजिन्।
'सामाजिक अभियानमा धेरै काम गरे पनि सबै समस्याको समाधान राजनीतिक रूपमै गर्नुपर्ने रहेछ भन्ने लागेर पनि राजनीतिमा आएकी हुँ,' उनी भन्छिन्।
२०७४ को चुनावमा उनी नेकपाको तर्फबाट प्रदेश सभा ५ मा समानुपातिक सांसद भइकी हुन्। त्यसपछि उपसभामुख।
९ दिनमात्रै प्रौढ कक्षा पढेकी कृष्णीले काम गर्दै जाँदा औपचारिक र अनौपचारिक शिक्षाका धेरै पाठ सिक्दै गइन्।
हिजोको दु:ख आफूले भोगेको पीडा सम्झिँदा अझै पनि उनको आङ सिरिङ हुन्छ, आँखामा आँसु छचल्किन्छ। अब त ती दिन उनले सम्झिनु पर्दैन तर कतै कमजोर महसुस हुँदा भने साहसको लागि तिनै सम्झना काम लाग्छन् रे।
'मैले कस्ता दु:ख काट्नु परेको थियो भन्ने सम्झेपछि कमजोर हुन हुन्न भन्ने पनि सम्झिइन्छ। अनि उर्जा आउँछ,' उनले भनिन्, 'हिजो हाम्रो भगवान, नीति निर्माता सबै मालिक नै थिए। अहिले म कानुन बनाउने ठाउँमा आइपुगेकी छु। मेरो प्रतिनिधित्व कमैया महिला र मुक्त कमैयाको सम्मान हो भन्ने लाग्छ।'
प्रदेश ५ सरकारले मुक्त कमलहरी कमैयाका छोराछोरीलाई पठनपाठनको लागि मासिक १ हजार छात्रवृत्तिको व्यवस्था गरेको छ। मुक्त कमैया कमलहरीहरूलाई पशुपालन, कृषि उत्पादन, तरकारी खेतीमा अनुदानको व्यवस्था गरिएको छ। महिलाहरूको नेतृत्व क्षमता बढाउनेसँगै उनीहरूलाई स्वरोजगार बनाउनको लागि पनि विभिन्न तालिम सञ्चालन हुने गरेका छन्। यसो हुनुलाई उनी आफ्नो प्रतिनिधित्वको उपलब्धि मान्छिन्।