चौतर्फी दबाबपछि चीनबाट सामग्री ल्याउन हतारमा गरिएको त्रुटिपूर्ण सम्झौता रद्द गरिएको छ। सम्झौता रद्द गरिए पनि ओम्नी इन्टरनेसनलमार्फत् किनिएको पहिलो लटको झन्डै १० टन सामान नेपाल आइसकेको छ।
बजार भाउभन्दा धेरै गुणा मूल्य तिरेर ल्याइएका ती समाग्रीको गुणस्तरमा पनि प्रश्न उठेको छ। अहिलेको सबभन्दा महत्वपूर्ण विषय त्यही हो— चिनियाँ बजारबाट किनिएका ती सामग्री कति ठिक छन्, कति भरपर्दा छन्?
यी सामानको विश्वसनीयतासँग स्वास्थ्यकर्मी र बिरामीको जीवन र मृत्युको प्रश्न जोडिएको छ। भोलि फेरि किनिने सामग्री कति गुणस्तरीय हुन्छन् भन्ने पनि यिनै प्रश्नको निर्क्यौलमा भर पर्छ। कोरोना भाइरससँग लड्न कतिपय मुलुकले किनेर लगेका कतिपय चिनियाँ सामानमा गम्भीर त्रुटि देखिएपछि यो प्रश्न झनै पेचिलो बनेको छ।
के त्यसो भए चिनियाँ स्वास्थ्य सामग्री भरपर्दा छैनन्?
त्यसो होइन।
संसारमा सबभन्दा धेरै स्वास्थ्य सामग्री उत्पादन गर्ने देशमा चीन अग्रणी छ। युरोप, अमेरिका लगायत धेरै विकसित देशमा चीनमा बनेका कतिपय उपकरण र सामग्री प्रयोग हुन्छन्।
तर यो पनि सही हो, चीनमा कम गुणस्तरीय सामान बनाउने उत्पादनकर्ता पनि छन्। कोरोना संक्रमण चीनबाट सुरू भएपछि यसपालि त्यहाँ पनि स्वास्थ्य सामग्री चरम अभाव भयो। अरू नै सामान उत्पादन गर्ने कम्पनीले पनि कोरोनासँग लड्न अतिआवश्यक सामग्री उत्पादन सुरू गरे।
जस्तै, विद्युतीय गाडी बनाउने कम्पनी बिवाइडीले ५० लाख मास्क र संक्रमणविरूद्ध छर्कन मिल्ने औषधि तीन लाख बोतल बनाउने घोषणा गर्यो। त्यस्तै, अमेरिकी एप्पल कम्पनीका लागि काम गर्ने फक्सकन कम्पनीले आफ्ना कर्मचारी निम्ति एक करोड मास्क मात्र उत्पादन गरेन, बजारमा पठाउन प्रतिदिन २० लाख मास्क उत्पादन गर्ने घोषणा गर्यो। यसरी अरू नै काम गर्ने थुप्रै कम्पनीले स्वास्थ्य सामग्रीको अभाव पूर्ति गर्ने काम गरे।
अभावको समय यी ठूला र नाम कमाएका कम्पनीभन्दा स-साना जोडजाड कम्पनी पनि धेरै सरिक भए यो खेलमा। तिनले गुणस्तरमा ध्यान दिनु त परै जाओस्, जानाजानी कमसल र नक्कली सामान बनाएर बजारमा बेचे। चीनभरि नक्कली स्वास्थ्य सामग्री र उपकरणको बिगबिगी बढ्यो।
चीनका ठूला सहरमध्ये चोओचिङमा मात्र यस्ता नक्कली सामान उत्पादकविरूद्ध ८८ हजारभन्दा धेरै गुनासा दर्ता भएको सञ्चार माध्यमले जनाएका छन्। बजार अनुगमन गर्ने सरकारी निकायले चीनभरि कम गुणस्तरीय र नक्कली सामान बनाउने र बेच्ने दसौं हजार त्यस्ता फ्याक्ट्री र पसल बन्द गरेको जनाएको छ। तिनले नक्कली एन-९५ मास्कदेखि, नक्कली थर्मल गन र किट लगायत सामग्री उत्पादन गरेका थिए।
यही पृष्ठभूमिमा नेपालले स्थानीय व्यापारीमार्फत् चिनियाँ बजारबाट किनेका सामग्री कत्तिको सक्कली वा प्रभावकारी छन् भन्ने प्रश्न महत्वपूर्ण छ।
कोरोनाविरूद्ध लड्न चीनबाट सामान किनेका धेरै मुलुकले ती सामान त्रुटिपूर्ण भेटिएको भन्दै फिर्ता गरेका छन्। यसरी फिर्ता गर्नेमा स्पेन, नेदरल्यान्ड्स र टर्की लगायत छन्।
नेदरल्यान्ड्सले मार्च २१ तारिखमा चीनबाट ६ लाख थान मास्क मगाएको थियो। केही मास्क वितरण गरिसकेपछि तिनमा समस्या देखियो। फिल्टरले राम्ररी काम नगर्नेदेखि मास्क मुखमा राम्ररी नबस्नेसम्म समस्या आयो। त्यसपछि सबै मास्क फिर्ता गर्ने निर्णय डच स्वास्थ्य मन्त्रालयले गरेको बेलायतबाट प्रकाशित हुने फाइनान्सियल टाइम्सले जनाएको छ।
त्यस्तै, स्पेनले कोरोना संक्रमण जाँच्न चीनबाट ५८ हजार र्यापिड टेस्टिङ किट किनेको थियो। आठ हजार किट बाँडिसकेको थियो। तिनले दिने परीक्षण नतिजामा त्रुटि देखियो। न्यूयोर्क टाइम्सका अनुसार ३० प्रतिशत मात्र परिणाम सही आएपछि स्पेनले ५० हजार किट उत्पादक कम्पनी सेन्झेन बायोइजी बायोटेक्नोलोजीलाई फिर्ता पठाइदिएको छ।
टर्कीले आफूले किनेका एन्टिबडी टेस्टिङ किटमा कुनै समस्या नभएको तर एन्टिजेन टेस्टिङ किटमा भने समस्या भएको जनाएको छ। एन्टिजेन टेस्टिङ किट कमसल देखिएकाले प्रयोग नै नगरी टर्कीले फर्काएको फाइनान्सियल टाइम्सले जनाएको छ।
स्पेनले त्रुटिपूर्ण भनी किट फर्काएपछि म्याड्रिडस्थित चिनियाँ दूतावासले ट्विट गर्दै ती किट चिनियाँ सरकारले सूचीकृत गरेका कम्पनीबाट नकिनिएको जनाएको छ।
स्पेनिस भाषामा लेखिएका ती ट्विटमा भनिएको छ— चीनमा स्वीकृति लिएका र सूचीकृत कम्पनीहरूको सूची हाम्रो वाणिज्य मन्त्रालयले स्पेनलाई उपलब्ध गराएको छ। उक्त सूचीमा स्पेनलाई टेस्टिङ किट बेच्ने सेन्झेन बायोइजी बायोटेक्नोलोजी कम्पनी नभएको र उक्त कम्पनीले चीनको राष्ट्रिय चिकित्सा सामग्री प्रशासनबाट लाइसेन्स पनि प्राप्त नगरेको दूतावासले ट्विटमा उल्लेख गरेको छ।
नेपालले हतारमा सामान खरिद गर्ने ठेक्का दिएको ओम्नी इन्टरनेसनलले चीनमा स्वीकृतिप्राप्त कम्पनीबाट सामान किनेको हो कि होइन यकिन छैन।
नेपाल सरकारसँग त्यस्ता चिनियाँ कम्पनीहरूको सूची छ कि छैन?
काठमाडौंस्थित चिनियाँ दूतावासलाई मैले नेपाल सरकारलाई त्यस्तो सूची उपलब्ध गराए-नगराएकोबारे सोधेको थिएँ। आफूहरूसँग कूटनीतिक माध्यमबाट नेपाल सरकारले त्यस्तो सोधखोज नगरेकाले सूची उपलब्ध नगराएको जवाफ दूतावासले दियो।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने चिनियाँ सरकारले सूचीकृत गरेको कम्पनीसँगै नेपालले सामग्री किनेको दाबी गरेका छन्।
‘चीनले अहिले त्यस्ता १७ वटा कम्पनी सूचीकृत गरेको रहेछ। हामीले त्यहीमध्येको कम्पनीबाट किनेका हौं,’ मन्त्री ढकालले सेतोपाटीसँग भने, ‘यी सूचीकृत कम्पनीले उत्पादन गरेका सामान मात्रै चीनले अन्तर्राष्ट्रिय बजारमा पठाएको छ।’
सूचीकृत चिनियाँ कम्पनीका सामान मात्र अन्तर्राष्ट्रिय बजारमा गएको भन्ने मन्त्रीको दाबी स्पेनको उदाहरणले खण्डित गर्छ।
सरकारले बेइजिङस्थित दूतावासबाट पहल गरेर चिनियाँ सरकारले तयार पारेको कम्पनीहरूको सूची प्राप्त गरेको पनि हुन सक्छ। सेतोपाटीले कुरा गरेका स्वास्थ्य मन्त्रालयका केही अधिकारीले भने चीनको त्यस्तो सूचीबारे आफूहरू अनभिज्ञ रहेको बताए।
मन्त्रालयसँग चीनले जारी गरेको उक्त सूची छ भने त्यो सूची र नेपालले किनेका सामग्री बनाएका कम्पनीको सूची सार्वजनिक गरे त्यसले अहिले उठेका केही चासो सम्बोधन गर्ने थियो।
स्पेनले आफूले चीनबाट सूचीकृत कम्पनीहरूको नाम प्राप्त गर्नुअघि नै सामग्री किनेको जनाए पनि नेदरल्यान्ड्सले सूचीकृत कम्पनीबाटै मास्क किनेको हो वा होइन यकिन छैन। युरोपियन युनियनले स्वीकृत गरेका कम्पनीबाटै मास्क किनेको भए चीनबाट आयातीत यी सामग्रीहरूको गुणस्तरमा अर्को प्रश्न उठ्नेछ। त्यसैले तिनको उपयोगअघि परीक्षण गर्नुपर्ने देखिन्छ, जसरी टर्कीले गर्यो र एन्टिजेन टेस्टिङ किट कमसल देखिएकाले फिर्ता गरिदियो।
नेपालले किनेर ल्याएका टेस्टिङ किटहरूको विश्वसनीयतामा पनि प्रश्न उठेपछि तिनको प्रभावकारिता परीक्षण गरिने स्वास्थ्य मन्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका तर्फबाट विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकारले खरिद गरेका किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई अनुरोध गरिसकिएको छ। परिषदले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोगका लागि वितरण हुने हो।’
स्वास्थ्यकर्मीहरूको सुरक्षा र बिरामीहरूको परीक्षणमा आश्वस्त हुन हामीले किट मात्र जाँचेर हुन्न। नेपालले चीनबाट किनेर ल्याएका मास्क र थर्मल गनको पनि परीक्षण गर्नुपर्छ। नेदरल्यान्ड्सले ६ लाख मास्क फिर्ता गरेको र चीनले नै नक्कली मास्क र थर्मल गन (डिजिटल थर्मोमिटर) बनाउने कैयन उत्पादक कम्पनीलाई कारबाही गरेकाले यी सामग्रीको पनि तुरुन्तै परीक्षण गरिनुपर्छ।
प्रदेश र जिल्लामा पुगेका 'थर्मल गन’ ले राम्ररी काम गरेनन् भने ज्वरो जाँच्दा नै गलत सूचना दिन सक्छ। मास्क राम्रो परेन भने डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीलाई संक्रमण हुने सम्भावना रहन्छ।
त्यसैले सरकारले सम्बन्धित निकायमा मास्क, थर्मल गन लगायत अन्य आवश्यक सामग्री पनि परीक्षणका लागि पठाउनुपर्छ।
ओम्नीसँगको सम्झौता रद्द गरिसकेपछि हामीलाई अर्को चुनौती पनि छ। अहिले आएका सामग्री अपुग छन्। अब थप सामग्री कहाँबाट ल्याउने? अहिले संसारभर सामान अभाव भएको अवस्थामा छिटो ल्याउनुपर्यो, मुनासिब मूल्यमा ल्याउनुपर्यो र त्रुटिपूर्ण सामान ल्याउनु भएन।
यसका दुइटा विकल्प छन्— पहिलो, चीनसँग अनुरोध गरेर जि-टु-जि (सरकार-सरकारबीच) सम्झौता गर्ने। दोस्रो, अलिबाबा समूहसँग हारगुहार गरेर ऊमार्फत् सामान किन्ने।
अलिबाबा आफैं सामान बेच्ने कम्पनी होइन। तर, चीनमा सबै सप्लायर्ससँग सम्पर्क भएको सबभन्दा ठूलो प्लेटफर्म अलिबाबा नै हो। उसले अहिले धेरै देशलाई सहयोग गरिरहेको छ। नेपाललाई पनि सहयोग गर्न चाह्यो भने सामानको चाँडो व्यवस्था गरिदिन पनि सक्छ र सामान सस्तो पनि हुन्छ।
अस्ति नेपाललाई अनुदान दिँदा चीन सरकारले किनेको मास्कको मूल्यभन्दा ज्याकमाले किनेर दिएको त्यही मास्कको मूल्य सस्तो छ।