प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले दुई पटक राष्ट्रपति बनाएको व्यक्ति फर्केर पार्टीमै समस्या खडा गर्छ भनेर कल्पनासमेत नगरिएको बताएका छन्।
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्ष्य गर्दै यो अभिव्यक्ति दिएका हुन्।
‘पार्टीले दुई-दुई पटकसम्म राष्ट्रपति बनायो। त्यस्तो व्यक्ति फर्केर पार्टीमा समस्या खडा गर्छ भन्ने कुरा कल्पनासमेत गरिएको थिएन,’ पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार भएको कार्यक्रममा ओलीले भने।
पूर्वराष्ट्रपति भण्डारीलाई एमाले केन्द्रीय कमिटी बैठकले पार्टीमा सक्रिय हुन रोक लगाएको थियो। त्यसपछि उनले पूर्वउपाध्यक्षको हैसियतमा विज्ञप्ति निकालेर उक्त निर्णयको विरोध गरेकी थिइन्।
आफ्नो सदस्यता कसैले खान नसक्ने भण्डारीको भनाइ थियो।
अध्यक्ष ओलीले भने २०७२ सालमा पार्टी सदस्यता परित्याग गरेर भण्डारी राष्ट्रपति हुन गएको र त्यसयता सदस्यता नवीकरण नभएको बताए।
‘त्यसबेला सदस्यता परित्याग गरेर राष्ट्रपतिमा जाने, मेरो सदस्यता, प्यारो सदस्यता म त्यसैमा बस्छु जान्न राष्ट्रपतिमा भन्नुपर्थ्यो नि त त्यसबेला,’ भण्डारीलाई लक्ष्य गर्दै ओलीले भने, ‘त्यसबेलाचाहिँ छाडेर जाने अनि फर्केर आएपछि नभएको सदस्यता कहाबाट नवीकरण हुन्छ?’
पार्टी कार्यालयका कर्मचारीलाई झुक्क्याएर भण्डारीले सदस्यता नवीकरण गर्न खोजेको ओलीको भनाइ थियो।
यस्तो छ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको भनाइ;
अहिले पार्टीभित्र अलिअलि के-के तपाईंहरू पनि सुनिरहनुभएको होला। कहाँ कसको सदस्यता च्यासलले खाइदियो भन्ने। च्यासल भनेको ठाउँको नाम हो, कसैको सदस्यता खोस्दैन त्यसले, खोस्नुपर्ने आवश्यकता पनि छैन।
पूर्वराष्ट्रपतिजीको सन्दर्भमा तपाईंहरूलाई पनि भ्रम नपरोस्। उहाँको सदस्यता पार्टीले खोसेको होइन। राष्ट्रपति हुने बेला उहाँले परित्याग गर्नुभएको हो, परित्याग गरेरै राष्ट्रपति हुन जानुपर्छ। उहाँ सदस्यता छाडेर राष्ट्रपति हुन जानुभएको हो।
फर्किएर आएपछि उहाँले त्यहाँ सदस्यताको रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर रसिद लिएर त हुँदैन नि! त्यत्रो राष्ट्रपति भएको मानिस भनेर कर्मचारीले त रसिद काटिदिन्छ, त्यसरी लिने होइन सदस्यता।
उहाँले छाडेको सदस्यता नवीकरण हुँदैन। सदस्यता छैन भने कहाँ नवीकरण हुन्छ? कसैको सदस्यता नै छैन भने त लिनुपर्छ, नवीकरण गर्ने होइन। लुगामा चुडेको टाँक लगाउन सक्नुहुन्छ लगाउँदै नलगाएको टाँक जोड्ने भन्ने हुन्छ र? हुँदैन नि!
तपाईंसँग सदस्यता नै छैन भने कहाँबाट नवीकरण हुन्छ। उहाँले २०७२ साल कात्तिक १२ कि १३ गते सदस्यता छाडेको हो। त्यसयता उहाँको सदस्यता छैन। यत्रो वर्ष उहाँले सदस्यता खोज्नुभएको पनि थिएन।
राष्ट्रपति हुन नजानुपर्थ्यो नि त। मेरो सदस्यता, प्यारो सदस्यता म त्यसैमा बस्छु जान्न राष्ट्रपतिमा भन्नुपर्थ्यो, त्यसबेलाचाहिँ छाडेर जाने अनि आएपछि नभएको सदस्यता नवीकरणको कुरा गर्ने?
पार्टी सदस्यता नवीकरण गर्ने हो भने उहाँले पार्टीमा कुरा र निवेदन दिनुपर्थ्यो। उहाँ नयाँ सदस्यता प्रक्रियामा पनि आउनुभएको छैन। पार्टीमा केही भन्नुभएको छैन। कार्यालय आएर दर्ता चलानी फाँटबाट नवीकरण गरेँ भनेर शुल्क तिर्दैमा सबैको सदस्यता नवीकरण हुन्छ? यो भ्रममा कोही नपर्नुहोला।
उहाँले सदस्यताका लागि आवेदन गर्नुभएको छैन। हामीसँग सदस्यता माग्नुभएको पनि छैन। बाहिर टेलिभिजनले त सदस्यता दिने होइन होला, टेलिभिजनमा गएर भनिराख्नुभएको छ। पार्टीले राष्ट्रपति दुई पल्टसम्म बनायो। त्यस्तो व्यक्ति फर्केर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्ने कुरा कल्पनासमेत गरिएको थिएन।
तर उहाँ आएर पार्टीलाई एकताबद्ध हुन सहयोग गर्नुपर्नेमा असन्तुष्ट र हारेका मानिसलाई भेला गरेर असन्तुष्टहरूको जमात बनाएर कुदिरहनुभएको छ।
जननेता मदन भण्डारीको अर्को वर्ष आउने जन्मदिन मनाउन अहिलेदेखि पार्टी कार्यालय खोल्नुपर्छ? अर्को वर्ष असार १४ गतेका लागि आउने जन्मदिनका लागि पार्टीमा असन्तुष्ट रहेका मानिसहरू भेला गरेर कार्यालय खोल्नुपर्छ? त्यसकारण उहाँको तरिका ठिक भएन।
यत्रो आन्दोलनमा एकाद मानिस यस्ता हुन्छन्।