नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरू मुर्ख भएको बताएका छन्।
शनिबार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पार्टीमा छलफल नै नभएको कुरामा कांग्रेसले राजा फर्काउन चाहेको छ भन्नु मूर्खता सिवाय अरू केही नभएको बताए।
‘हाम्रो पार्टीमा यो विषयमा छलफल नै भएको छैन। त्यसैले फेरि राजा फर्किने कुरै छैन। कांग्रेसले राजा फर्काउन लागेको छ भन्ने कुरा वाहियात हो,’ सभापति देउवाले भने।
उनले प्रहरीको पछिल्लो कार्यको प्रशंसा गरे।
गृहमन्त्री रामबहादुर थापाका भाइलाई पक्राउ गरी अनुसन्धान गर्दा प्रहरी डराउन नहुने उनले बताए।
‘प्रहरी राष्ट्रको हो। जनताको हो। कुनै दलको होइन। प्रहरी राष्ट्र र जनताप्रति वफादार हुनुपर्छ,’ देउवाले भने।
जनताको करबाट तलब खाने हुँदा प्रहरी जनताको शान्ति सुरक्षामा लाग्नुपर्ने उनको कथन थियो।
फरक प्रसंगमा उनले नेपाली कांग्रेसको जनजागरण अभियानको सफलता देखेर आत्तिएकाहरू कम्युनिष्टहरूले बाँकेमा काँग्रेसको कार्यक्रममा आक्रमण गरेर आफ्नो चरित्र उदांगो पारेको बताए।
‘अधिकानायवादी सोच भएका कम्युनिष्टहरू जागरण कार्यक्रममा जनताको आकर्षण देखेर आत्तिएका छन्। आफूहरूको भ्रष्टाचारको पोल खुल्ने डरले आत्तिएकै कारण आक्रमण गरेका छन्,’देउवाले भने ‘दोषीलाई कारबाही नहुँदासम्म कांग्रेस चुप लागेर बस्दैन।’
शान्तिपूर्ण रूपमा सभा समारोह गर्न पाउने अधिकार सबैमा रहेको र त्यसैको लागि कांग्रेस सात सालदेखि अनवरत लड्दै आएको हुँदा भविष्यमा पनि लडिरहने उनले बताए।