झलनाथ खनाल सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य हुन्। तत्कालीन एमालेका अध्यक्ष भइसकेका खनाल पूर्वप्रधानमन्त्री पनि हुन्। पछिल्लो समय खनाल नेकपाको स्कुल विभाग प्रमुख हुन तयार भएको चर्चा चलेको छ। नेकपाको एकता प्रक्रिया र खनालको भावी राजनीतिबारे सेतोपाटीका बिनु सुवेदीले उनीसँग गरेको कुराकानीको सम्पादित अंश:
हिजोआज के काममा व्यस्त हुनुहुन्छ?
अहिले हामी दुइटा पार्टीलाई एकीकरण गर्ने काममा लागेका छौं। पार्टीमा ठूलो पंक्ति छ। यतिबेलाको मुख्य काम नै एकीकरणलाई सम्पन्न गर्ने हो।
एकीकरणको कुरा अन्तिम चरणमा आउँदा शीर्ष नेताहरूमै विभागको नेतृत्व कसले गर्ने भन्ने हानथाप भएर रोकियो नि होइन?
त्यसो होइन। यो बीचमा दुबै अध्यक्ष बाहिर जाने कुरा भयो। म आफैं पनि इलाम गएँ। त्यसैले बीचमा केही दिन ग्याप गरौं। राम्ररी होमवर्क गरौं। बाँकी रहेका काममा राम्रो होमवर्क गरेर एकीकरणको कुरालाई टुंगो लगाऔँ भनिएको हो। चाँडै टुंगो लाग्छ।
केही विभागको प्रमुख को हुने भन्ने विषयमा त लामो रस्साकस्सी भयो नि सचिवालयका बैठकमा?
यो होमवर्कको कुरा हो। होमवर्क त भइरहन्छ। विभिन्न विषयमा, समितिहरू बनाउँदा होस् या कुनै संस्था बनाउँदा होस् अथवा विभाग बनाउँदा कसै न कसैले सोच्नुपर्छ। सोचेको कुरा एक ठाउँमा ल्याएर छलफल गरेर निर्णय गर्नुपर्छ। अहिले त होमवर्ककै अवस्थामा छौं। मैले यो विभाग पाएँ भनेर नाक फुलाउन पर्ने र मैले विभाग पाइनँ भनेर नाक खुम्च्याउन पर्ने आवश्यकता छैन। हामी निर्णयमा पुगेपछि बल्ल कसले के प्राप्त गरियो भनेर भनिहाल्छौँ।
प्रमुख विभागमध्ये संगठन विभाग, विदेश विभाग माधवकुमार नेपाललाई, नीति तथा प्रतिष्ठान तपाईंलाई भन्ने सहमति भएको तर स्कुल विभागमा मात्रै कुरा नमिलेको भन्ने होइन त? सबैमा कुरा नमिलेको हो?
त्यो पनि होमवर्कको कुरा हो। हामीले ३३ विभाग बनाउँदा कसरी बनाउने? कुन विभाग माओवादी पक्षधर कुन एमाले पक्षधर लिने भन्ने कुरा भइरहेको छ। एकीकरणमा एकीकृत साथीहरूलाई विभाग बाँडेको जस्तो मात्रै गर्न पनि भएन। दुइटा पार्टीलाई एकीकरण पनि गर्न पर्ने भएकाले हामी पूर्वएमाले पूर्वमाओवादीका साथीहरू अलग-अलग पनि बसियो। त्यो होमवर्क गरेर हामीले एउटा अवधारणा निर्माण गरेका छौँ। अवधारणा बनाउने बेलामै कतिपय कुरा लिक भएका छन्। कतिपय विभागहरूमा यो वा त्योमध्ये के गर्ने भन्ने पनि छ। ती कुराहरू बाहिर आएको हुनाले ठूलो विवाद भएको हो कि भन्ने देखिएको हो। त्यस्तो ठूलो विवाद केही पनि छैन।
पार्टी स्कुल विभागको नेतृत्वका विषयमा अलि धेरै चर्चा भयो। फेरि स्कुल विभागको नेतृत्व लिन म तयार छु भन्ने तपाईंको अभिव्यक्ति पनि आयो। कुरा के हो?
स्कुल विभागबारे अलिकति बहस भयो। अहिलेसम्म कमिटीभित्र विवाद भएको छैन। तर मिडियामा निक्कै राम्रो विवाद भयो। त्यही सिलसिलामा मलाई मिडियाले ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ बारे सोध्यो। मेरो आफ्नो धारणा सोध्यो। त्यसबारेमा म के भन्छु भने स्कुल विभाग भनेको पार्टीले जस्तो कार्यदिशा, नीति र सिद्धान्त तय गर्छ त्यो कुरालाई व्याख्या विश्लेषण र प्रशिक्षण गर्ने विभाग हो।
पार्टीका विचारहरू रूपान्तरित, मार्गदर्शन गर्ने काम गर्छ। कुनै नेताले आफ्ना विचारको आधारमा स्कुलिङ गर्न मिल्दैन। ईश्वर पोखरेल, नाराणकाजी श्रेष्ठ, झलनाथ खनाल या घनश्याम भुषाल जसले विभागको नेतृत्व गरे पनि पार्टीको कुरा बताउने हो। त्यसैले विभागको नेतृत्व जसले लिए केही फरक पर्दैन।
ईश्वर पोखरेलले जनताको बहुदलीय जनवादकै कुरामा अलि धेरै वकालत गर्नुहुन्छ भन्ने पूर्वमाओवादी पक्षधरको भनाइ छ। नारायणकाजी श्रेष्ठको विषयमा केही न केही त्यस्तो होला। यहाँकै कुरा गर्दा जबज भनेको दक्षप्रजापतिको टाउको जस्तो हो भनेर अभिव्यक्ति दिइसक्नुभएको छ। त्यसो हुँदा पूर्वमाओवादी पक्षधरहरुले स्कुल विभागमा तपाईंको नेतृत्वचाहिँ स्वीकार्छौं भनेका छन्?
मान्छेको चेतना भनेको वस्तुसापेक्ष हुन्छ। एकपटक बनेको चेतना गीताजस्तो शाश्वत होइन। हामीले जनताको बहुदलीय जनवाद बनायौँ, त्यस्तै २१ औँ शताब्दीको जनवाद भयो, कहिले हामीले माओ त्से तुङको विचारधारा भन्यौं। कहिले साथीहरूले माओवादी भन्नुभयो। यी कुरा हिजोको क्रान्तिको युगमा जन्मेका हुन्। २००६ सालमा सुरू भएको लोकतान्त्रिक क्रान्तिको युगलाई नेपालले पार गरेर आयो। यी सबै त्यो युगका उपज हुनुका नाताले यिनीहरू अहिले पनि सन्दर्भ सामाग्री हुन सक्छन्। यिनीहरू हाम्रै पुँजी हुन्। तर अहिले अवस्थामा हामी कसैले पनि ती चिजहरूको मात्रै वकालत गरेर पुग्दैन। अब हामी समाजवादी क्रान्तिको नयाँ युगमा आयौँ। पुँजीवादी समाजलाई रूपान्तरण गरेर समाजवादी क्रान्तिको प्रकृयामा कसैले पनि पूराना कुराको वकालत गरेर पुग्दैन।
अहिले नेकपाले तात्कालिक कार्यदिशा जनताको जनवाद भनेको छ। त्यो ठीक हो भन्ने हो तपाईंको कुरा?
त्यो पनि ठीक होइन। अहिले तपाईं जनताको जनवाद, बहुदलीय जनवाद, नयाँ जनवाद भन्नुस् यो क्रान्तिको रणनीतिक लक्ष्य हो।
यो क्रान्ति त २०६२/०६३ मा आएर पूरा भइसक्यो। पूरा भइसकेपछि त अबको लक्ष्य भनेको त समाजवाद हुन्छ।
अबको लक्ष्य जनताको जनवाद हुन सक्दैन। हामीले अहिलेको दस्तावेजमा त्यो कुराहरू अघि सारेका छौँ भन्ने आएका छन्। त्यो कुरा सुधार्न पर्छ र अबको लक्ष्य समाजवाद हुनुपर्छ। संविधानले नै समाजवादउन्मुख लक्ष्य भनिसक्यो नि। अरूले आ-आफ्नो तरिकाले लक्ष्य निर्धारण गरिसक्यो नि।
नेकपाको दस्तावेजबारे कुरा गर्दा न्यूनतम र अधिकतम लक्ष्यको कुरा गर्नुभएको छ। वैज्ञानिक समाजवाद अधिकतम र समाजवादउन्मुख समाज न्यूनतम लक्ष्य भन्नुभएको छ। लक्ष्य पनि अधिकतम र न्यूनतम भन्ने हुन्छ?
समाजवाद आमरूपमा हाम्रो लक्ष्य हो। अन्तिममा हामी पुग्ने ठाउँ भनेको वैज्ञानिक साम्यवाद हो। त्यो साम्यवाद संसारभरका कम्युनिष्ट र मार्क्सले घोषणा गरेको कुरा हो। समाज आजभन्दा हजारौँ, लाखौँ वर्षअघि मानव समाज साम्यवादी थियो। त्यसपछि दास, सामन्त युगपछि पुँजीवादी युग आयो। पुँजीवाद त पाँच सय वर्ष पनि चल्न सकेन। यो मक्किँदै थोत्रिँदै गएको छ। यसलाई समाजले रूपान्तरण समाजवादले गर्छ। हामी एकपटक साम्यवादमा पुग्छौँ।
अहिलेको कार्यदिशा जनताको जनवाद हो भनेर कार्यदिशा बनाउनुभयो, त्यही छापियो। तर यहाँले त्यो ठीक होइन भन्नुभयो किन?
होइन, किनभने हाम्रो देशमा क्रान्तिका दुइटा चरण छन्। एउटा जनवादी क्रान्तिको चरण अर्को समाजवादी क्रान्तिको। जनवादी क्रान्तिको चरणलाई हामी कसैले जनताको बहुदलीय जनवाद भन्यौँ, कसैले नयाँ जनवाद, कसैले राष्टिय जनवाद भन्यौँ। त्यही भन्ने कुरामध्ये एउटा रूप हो- जनताको जनवाद। जनताको जनवाद समाजवाद होइन। यो पुँजीवादी जनवादको एउटा रूप हो। त्यसो हुनाले अब नेपाली समाज त उन्नत स्तरमा आइसक्यो। हामी जनवादी क्रान्ति सकेर समाजवादी क्रान्ति निमार्णको युगमा आइसक्यौँ। त्यसो हुनाले जनताको जनवाद अहिलेको लक्ष्य हुन सक्दैन। त्यस्तो लक्ष्य राखियो भने हामी प्रतिगमनकारी पो हुन्छौँ।
जनताको जनवाद ठीक होइन भनेर वामदेव गौतमको लामै लेख आयो, ईश्वर पोखरेल जबज ठीक हो भन्नुहन्छ। प्रधानमन्त्री केपी शर्मा ओली त झन् जबजको सुत्रधार आफैं हुँ पनि भन्नुहुन्छ। पूर्वएमाले पक्षधरहरूले जनताको जनवादको कुरा नस्वीकारेको देख्दा त जनताको जनवाद पूर्वमाओवादीका नेताहरूको जबर्जस्तीमा आएको देखियो नि?
यसको स्रोत खोज्ने कसरतभन्दा पनि ऐतिहासिक कालखण्डको सही विश्लेषण गर्नुपर्छ। नेपाली समाज ७० वर्षमा कसरी रूपान्तरित हुँदै आयो? त्यो रूपान्तरणका क्रममा २००७, २०१७, २०४६, २०६२/०६३ को भूमिका के थियो? भन्ने विश्लेषण गर्नु पर्ने हुन्छ। त्यही विश्लेषणमा आधारित भएर हामी समाजवाद निर्माणको युगमा आएका हौँ कि होइनौँ भन्ने कुराको छिनोफानो हुनुपर्छ।
त्यसपछि अबको कार्यक्रमको छिनोफानो हुन्छ। हामी समाजवादी क्रान्ति निमार्णको युगमा आइसक्यौँ त्यसैले अब हाम्रो समाजवादी कार्यक्रमबाहेक अर्को कार्यदिशा हुन सक्दैन। जनताको जनवाद पनि हिजोकै नयाँ जनवादी क्रान्तिको लक्ष्य हो। त्यसैले मैले त पूर्वनेकपा एमालेको आठौँ महाधिवेशनदेखि नै यो कुरा निरन्तर राखेर आएको छु। अहिले जे सुकै भनिएता पनि नेकपा समाजवादी समाजको सही विश्लेषणमा आउँछ।
त्यसको लागि महाधिवेशन नै पर्खिनुपर्ने हो?
हामी एकआपसमा छलफल गर्छौँ। सचिवालयले बनाएको एउटा अवधारणा स्थायी समिति, केन्द्रीय कमिटीमा जान्छ। त्यसपछि एउटा निचोड निस्किन्छ।
तत्कालका लागि कार्यदिशा यो हो भनेर छापिएको दस्तावेज कार्यकर्ताको हातमा नपुग्दै यस्ता फरक-फरक विचार आउँदा उनीहरू द्वुविधामा पर्ने देखियो नि?
त्यस्तो हुन सक्छ। त्यो कुरा सम्हालेर अगाडि बढ्न पर्ने हुन्छ। हामीले समाजवादउन्मुख भनिसकेका छौँ। सकारले अघि सारेको नीति कार्यक्रम पनि त्यही छ। पार्टीको दस्तावेजले समाजवादको लक्ष्य छोड्ने कुरा रहँदैन।
साउन १३ को सचिवालय बैठकमा विभाग प्रमुख स्थायी समितिबाट बनाऔँ भनेर रामबहादुर थापाले प्रस्ताव राख्नुभएको थियो। त्यसमा तपाईं सहमत हुनुहुन्छ?
बैठकमा यस्तो प्रस्ताव आएको मलाई थाहा भएन। पत्रिकामा पढेँ। म यस्सो बाहिरतिर भएको बेलामा प्रस्ताव आएको भए भिन्दै कुरा हो। तर हामीले बकाइदासित होमवर्क गरेका छौँ। यदि सचिवालयको बैठक भएर छलफल भएर प्रस्ताव आयो भने छलफल गर्न सकिन्छ।
त्यो बैठकमा बादलले प्रस्ताव राख्नुभयो, माधवकुमार नेपालले असहमति जनाउनुभएको र प्रधानमन्त्रीले नेताहरूको धारणा पनि बुझौँ भन्ने प्रस्ताव राखेपछि एउटा निर्णय गर्नुभएको होइन तपाईंहरूले?
त्यसो होइन। हामीले अहिले धेरै कुरा गर्न बाँकी छ। पोलिटब्युरोको गठन, राष्टिय परिषद् निर्माण, राष्ट्रिय सल्लाहकार परिषद्, कतिपय आयोग बनाउने, उपत्यका र प्रवासका काम पनि गर्न बाँकी छ। त्यसो हुनाले यी सबै कुरामा अरू केन्द्रीय नेताको रूची र धारणाको कुरा के छ बुझौँ अनि निर्णय गरौँ भनेर हामीले बैठकको अलिकति ग्याप राखेका हौँ।
महासचिव विष्णु पौडेलसँग कुरा गर्दा उहाँले स्थायी समितिका सदस्यको धारणा बुझ्ने सिलसिलामा अधिकांशले विभाग प्रमुख बन्ने इच्छा व्यक्त गरेको भन्नुभयो। त्यही खालको छलफल भयो भने हामी सचिवालयका सदस्य अनुगमन तथा समन्वयको भूमिकामा बसौँ। विभागको जिम्मेवारी स्थायी समितिका सदस्यलाई दिऔँ भन्ने कुरामा तपाईं सहमत हुनुहुन्छ?
अहिले पार्टी त्यो हिसाबले जालाजस्तो मलाई लाग्दैन। सचिवालयका सदस्यनै विभागको जिम्मा लिएर अघि बढ्न तत्पर हुनुहुन्छ। अहिले उहाँहरूको उमेर हेर्दा पनि विदा गरिहाल्न पर्नेजस्तो मलाई लाग्दैन। उहाँहरू एक्टिभ हुनुहुन्छ भने एक चरण अझै अघि बढे हुन्छ। तर क्रमश: हामी त्यस्तो बिन्दुमा आइपुगेका छौँ। अब युवाहरूलाई जिम्मेवारी दिँदै जाने र सचिवालयका सदस्य जिम्मेवारीबाट मुक्त हुँदै जाने गर्नुपर्छ।
मालेको महासचिव हुँदा तपाईं ३५ वर्षभन्दा धेरै हुनु भएको थिएन, पार्टी र सरकारको नेतृत्व गरिसक्नुभयो। विभागको प्रमुख बारम्बार भइसक्नुभयो। अरू नेताहरू पनि तपाईंजस्तै नै हुनुहुन्छ। तर विभागको प्रमुख को बन्ने? अध्यक्ष को बन्ने, प्रधानमन्त्री को बन्ने भन्ने हानथाप त तपाईंहरू ६५ देखि ७० वर्षकै हाराहारीका नेताहरुको बीचमा भयो। अर्कातिर ४० वर्षमूनिका केन्द्रीय सदस्य भेटाउन गाह्रो छ। मौका दिनुभएन है युवाहरुलाई माथि आउन?
म त सम्पूर्ण जिम्मेवारी युवालाई दिऔँ, हामी सल्लाहकार भएर बसौँ भन्ने हो भने पनि तयार छु। तर पार्टी भनेको एउटा संस्था हो। त्यो संस्थामा स्थायी समिति, केन्द्रीय कमिटीका सदस्यले हामीलाई अहिले नै बिदा दिनुहुन्छ त? प्रश्न त्यो हो। बिदा दिएर उहाँहरूले काम राम्रोसँग सम्हालेर अघि बढ्नु हुन्छ भने ठीक छ।
तर युवा नेताहरू त एकसे एक हुनुहुन्छ नि?
पार्टी सञ्चालन भनेको जागिर खाएको जस्तो होइन। जागिरमा अलि बुढा पुरानाहरूलाई बिदा गरौँ अर्कालाई दिऔं भनेजस्तो हुँदैन। यो नीति, सिद्धान्त र भिजनको कुरा हो। तपाईं जति बुढो भए पनि तपाईंसँग भिजन छ भने के गर्ने त? तपाईँको पछि नलागेर हुन्छ?
युवाहरूसँग भिजन छैन भन्न खोज्नुभएको हो?
युवाहरूसँग भिजन छ भने भिजन नभएका बुढापाकालाई लखेटेर उहाँहरू आइहाल्नुहुन्छ नि!
तर नेकपामा ५३ वर्षको मान्छे मन्त्री हुँदा युवा मन्त्री हुनुभयो भनेर खुसी हुन पर्ने अवस्था छ?
अहिले त मन्त्रीहरू सबै युवा हुनुहुन्छ। को छन र बुढापाका? मलाई उदाहरण दिनुस् त। केपी ओली पनि मभन्दा कान्छै हो।
७० वर्षमूनिका सबै युवा हुने हो भने त मोदनाथ प्रश्रितबाहेक बुढापाका अरू कोही हैन, सबै हामीले नै धान्ने हो भन्नेजस्तो देखियो नि त?
अब ३०/४० का उमेरका मान्छेलाई पनि मन्त्री बनाउनुपर्छ भन्ने कुरा बेग्लै हो। खासगरी नेतृत्व निर्माण गर्दा बुढापाकालाई छोड्न हुन्न, युवाहरूलाई पनि छोड्न हुँदैन। बुढापाका, अधबैंसे र युवाहरूको संलग्नतामा नेतृत्व निमार्ण गर्नुपर्छ। आगामी महाधिवेशनबाट त्यसरी नै जाने हो।
त्यसो भए महाधिवेशनमा सचिवालय सदस्य रहेका नेताहरूले अब हामीले विश्राम गरौँ, युवाहरूलाई ठाउँ दिऔँ भनेर जाने सम्भावना छ त?
एकदम छ। तर युवाहरू सही विचार, नीति र सिद्धान्त लिएर अगाडि बढ्नु पर्छ। पार्टीको कार्यदिशा, नीति र सिद्धान्त मान्छेको उमेरभन्दा पनि दिमागसित सम्बन्धित छन्। त्यसकारणले त्यो खालको दिमाग भएका साथीहरू आउँछन् भने अहिलेको दोस्रो तहमात्रै होइन, तेस्रो तहका नेतालाई हामी नेता मान्न तयार हुनपर्छ।
एक-पटक एकीकृत पार्टीको नेतृत्व लिन्छु भन्ने इच्छा भएका, जिन्दगीमा एकचोटी प्रधानमन्त्री त बन्नैपर्छ भन्ने रहर भएका नेताहरु छन् त नेकपामा?
अब पदलोलुपहरूको केही पनि काम छैन। अहिले तपाईंले भनेका सबै पदलोलुपहरू हुन्। एक पटक प्रधानमन्त्री या फलानो पदमा पुग्छु भन्ने महत्वकांक्षा राखेर कुनै पनि पदमा पुगिँदैन।
पार्टी सही नीति, कार्यदिशा र सिद्धान्तका आधारमा चल्छ। तपाईं सही नीति र कार्यदिशामा चल्नुहुन्छ भने अध्यक्ष, महासचिव बन्न सक्नुहुन्छ। तर तपाईंसँग त्यो योग्यता छैन तर पदमात्रै चाहियो भने त्यो सम्भव छैन। कम्युनिष्ट पार्टी वैचारिक र राजनीतिक नीति कार्यदिशा र सिद्धान्तको आधारमा चल्नुपर्छ।
सचिवालयमा भएका समकालीन सबै एकपटक प्रधानमन्त्री बन्नुभयो म पनि बन्न पाए हुन्थ्यो भन्ने वामदेव गौतमलाई छ। एमालेलाई त्यत्रो समय नेतृत्व गरेँ एक पटक एकीकृत पार्टीको अध्यक्ष बन्नुपर्छ भन्ने माधव नेपाललाई पनि छ। केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड पनि महाधिवेशनबाट अध्यक्ष बन्न चाहनुहुन्छ होला। ती सबै पदलोलुप हुन्?
त्यस्तो चाहनाको आधारमा पार्टी चल्दैन। कुनै पनि नेताले अनावश्यक चाहना राख्न जरूरी छैन। उहाँहरूलाई तपाईंको मिडियामार्फत् अहिले पनि भन्छु-पार्टीको सही नीति, कार्यदिशा, सिद्धान्त के हो त्यसको प्रवक्ता भएर आउन पर्यो। सिर्जनशीलता देखाउन पर्छ। अनि बल्ल पदको आकांक्षी बन्नुपर्छ। त्यो नभई मैले यति समय काम गरेँ यो पद पाउनुपर्यो भन्ने कुरा पदलोलुपता हो।
पदलोलुपता भएको कुनै पनि मान्छेले पार्टीलाई हाक्न सक्दैन, पार्टीको नेतृत्व गर्न सक्दैन। त्यसो हुनाले पार्टीलाई सही ढंगले अगाडि बढाऔँ। नेतृत्व लिन चाहनेले सिर्जनशीलता देखाउन पर्यो। जनवादी क्रान्ति सम्पन्न गरिसक्ने अनि अबको लक्ष्य जनताको जनवाद हो भनेर सिर्जनशीलता देखिन्छ? सिद्धान्त त सूर्यजस्तै स्पष्ट हुनुपर्छ।
नेकपामा बहुत धेरै गुट उपगुट देखिन्छ, सचिवालयमै पनि तीनवटा गुट, त्यसमूनिका उपगुट भन्ने छ। तपाईं कतापट्टीको हो? कि आफ्नो छुट्टै गुट छ?
यो तपाईंजस्तै पत्रकारले देख्ने कुरा हो। हाम्रो पार्टीभित्र त्यस्तो गुट छैन। हाम्रो पार्टी एउटै छ, त्यो नेकपा हो। २० को दशकको सुरूआतदेखि नेपालको कम्युनिष्ट पार्टी विभाजित भएको थियो। त्यसलाई हामीले एकीकृत गरेका छौँ। हामीले ३५ भन्दा धेरै समूह एकतावद्ध गर्यौँ। अहिले दुई समूह एक बनाएपछि नेपालका कम्युनिष्ट पार्टी आधारभूत किसिमले एक भएका छन्। पार्टीका नाममा कतै पुच्छरसुच्छर राख्नु पर्ने आवश्यकतासमेत अन्त्य भएको छ। अब गुटको हैसियतको कुनै अर्थ छैन।
तर फलानो माधव नेपाल, फलानो झलनाथ खनाल, फलानो प्रचण्ड, फलानो केपी ओली पक्षको भनेर तपाईंहरूका बीचमा हिसाबकिताब हुन्छ नि। टाउको गन्नुहुन्छ?
यो सबै काम पत्रपत्रिकाको काम हो। तपाईंहरू जुन टाउको गनी गनी लेख्नुहुन्छ। हामी त टाउको होइन, नेकपाका यति नेता भनेर गन्छौँ।
मन्त्री, राजदूत बनाउँदा त भागबन्डा भएकै हुन्छ। त्यति कमन सेन्स त यहाँका कार्यकर्ताले पनि लगाउँछन् होला। मिडियाले पनि त्यही देखेर लेखेका हुन्छन्?
त्यो गुटबन्दी हो, गुटबन्दी कसैले गर्न मिल्दैन। क्याबिनेट बनाउँदा पार्टीले निर्णय गर्नुपर्छ। राजदूत बनाउँदा पनि पार्टीले निर्णय गर्नुपर्छ। मनोमानी तरिकाले गर्ने प्रधानमन्त्री र सरकारलाई कुनै हक हुँदैन। सरकार त पार्टीको हो। सरकार आफैं भुइँफुट्टा भएर निस्केको हो र? त्यसकारण पार्टीका नीति, कार्यदिशा र सिद्धान्तलाई कार्यान्वयन गर्ने काममा सरकार दृढ हुनुपर्छ।
तर त्यसो भएको छैन नि?
कतिपय कुरामा समस्या देखा परेको सही हो। मन्त्रिपरिषद् गठन या अरु नियुक्ति, राजदूत नियुक्तिको हुँदा समस्या देखा परेको छ। सरकार एकलौटी हुन खोजेको छ। यो गलत हो, सच्याउन पर्छ। पार्टीको सामूहिक निर्णयको आधारमा अगाडि बढ्ने अभ्यासलाई स्थापित गरेर अगाडि बढ्नु पर्छ।
नेकपाको नेतृत्वमा विश्वासको संकटजस्तो देखिन्छ। कहिले प्रधानमन्त्रीले मात्रै एक्लै बोलाउने भेट्न, कहिले प्रचण्डले मात्रै बोलाउने। एकजना अध्यक्षलाई एक्लै कसैले भेट्यो भने अर्को अध्यक्ष झस्किने खालको छ नि?
अहिले हामीले दुई वटा अध्यक्ष बनाएका छौँ। यो सधैँभरि हुने कुरा होइन। महाधिवेशनसम्म दुई अध्यक्षलाई जारी राख्न बाध्य छौँ। दुई अध्यक्ष हुनुहुन्छ, जसले बोलाए पनि जानै पर्यो। केपी ओलीले बोलाउनुभयो, म गएँ। प्रचण्डले बोलाउँदा पनि गएँ।
मेरो लागि यो प्रिय भन्ने छैन। म नेकपालाई प्रिय ठान्छु। मेरा निम्ति यो ‘एस’, यो ‘नो’ भन्ने छैन। एसम्यान बनाउने प्रवृत्ति दास प्रथा हो। दास प्रथालाई ज-जसले अबलम्बन गर्छन् म त्यसविरूद्धमा छु।
यहाँको निकटता अलि धेरै प्रचण्डसँग छ भन्छन् नि?
कोही पनि व्यक्तिसँग अलिकति निकटता या दूरी आश्चर्यजनक होइन। नीति, सिद्धान्त, विचारको कारणले मान्छे निकट त हुन सक्छ नि। तर पार्टीभित्र त्यही निकटताको आधारमा ग्रुप बनाउने प्रवृत्तिबाट एकदमै सचेत हुनुपर्छ।
अर्को एउटा कुरा एकदमै चर्चामा चल्यो, पार्टी एकीकरण हुँदा दुई जना अध्यक्षबीच भएको सहमतिमा आवश्यकताको आधारमा सरकारको आलोपालो गर्ने बुँदाबारे खुब छलफल भयो। त्यसमा यहाँको धारणा के छ?
अहिलेसम्म त्यो सहमति सचिवालयमा राखिएको छैन। पार्टीमा आएर छलफल भएपछि पार्टीले ग्रहण गर्ने कुरा हो। तर यो त दुई जनाको बीचमा भएको सहमति छ। त्यही सहमति पार्टीले मान्नुपर्छ भन्ने पनि केही छैन। मान्नुहुन्न भन्ने पनि केही छैन। तर पार्टीको तर्फबाट उहाँहरूले सहमति गर्नुभएको छ भने पालना गर्नुपर्छ। पालना गर्नुको विकल्प हुँदैन। यदि सहमति बनेको छ भने चाँडोभन्दा चाँडो पार्टीको औपचारिक तहमा ल्याइनुपर्छ। सहमति होइन भने अनावश्यक रूपले विवाद खडा नगरियोस्।
यहाँहरुले कहिल्यै छलफलमा कुरा उठाउनुहुन्न?
जुन कुरा हाम्रो लागि आवश्यक लाग्छ त्यो उठाउने हो। हाम्रो लागि आवश्यक नै छैन।
दुई जना अध्यक्षका लागि त छ नि त?
दुईजना अध्यक्षले आवश्यकता ठाने पनि उहाँहरुले राख्ने हो। त्यसपछि हामीले मत दिने हो।
यहाँहरू एकताको प्रक्रिया अन्तिम चरणमा पुर्याउने प्रक्रियामा हुनुहुन्छ। त्यसपछि पार्टी महाधिवेशनको कुरा आउला। आगामी महाधिवेशनमा यहाँको भूमिका के हुन्छ?
आगामी महाधिवेशनमा पार्टीका कार्यदिशा, नीति र सिद्धान्तलाई समुन्नतिकरण गर्ने काममा मेरो मुख्य भूमिका हुन्छ। पार्टीका कार्यक्रममा कन्फ्युजन हुन हुँदैन। हामीले स्पष्ट रूपले समाजवाद लक्ष्य हो भनेर अघि बढ्नु पर्छ। त्यो काममा मेरो सबैभन्दा ठूलो भूमिका हुन्छ। म अरू पद यो देऊ भनेर लड्नेवाला छैन। पार्टीले आफैं मेरो योग्यता र क्षमताका आधारमा यो काम गर्नुस् भन्छ भने म ध्यानमा राखेर अघि बढ्छु।
नेतृत्वको दौडमा यहाँ हुनुहुन्न?
म अब युवाहरूलाई आह्वान गर्छु। नीति र सिद्धान्तसहित आउनुस् भन्छु। हामीले त ७० वर्षको लामो अवधि हाँकेर आइसक्यौँ। अब समाजवादी क्रान्तिको निमार्ण गर्ने नयाँ युगलाई पार लगाउने काम युवाहरुले गर्नुपर्छ।
तपाईंको राजनीतिको अन्तिम बिन्दु के हो? एक पटक राष्ट्रपति बन्ने चर्चा पनि खुब भएको थियो। कहाँ पुगेर टुंग्याउँछु जस्तो लागेको छ?
मेरो राजनीतिक भविष्य अझै निकै नै वर्ष छ। किनभने म अहिले पनि बुढो भएको महसुस गरेको छैन। म वैचारिक, शारिरीक रूपले युवा नै छु। एक-दुई दाँत भाँचिएका छन् नत्र म हरेक हिसाबले युवा छु। त्यसैले पार्टीले दिने कुनै पनि जिम्मेवारी पूरा गर्न सक्षम छु। त्यसैले यो अवस्थालाई म अझै क्रियाशील बनाएर लान्छु। तर पदलोलुप भएर अगाडि बढ्ने पक्षमा छैन।