अबिच्युरी
पूर्वप्रधानमन्त्री डाक्टर तुलसी गिरीको ९३ वर्ष उमेरमा मंगलबार बिहान निधन भएको छ। कलेजोको क्यान्सर भएका गिरी केही दिनअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए।
उनको निधनसँगै नेपालमा एकदलीय व्यवस्थाका एक अविचलित हिमायतीको अन्त्य भएको छ। उनी निर्दलीय पञ्चायती व्यवस्थाका सबभन्दा अग्ला नेता हुन्— बौद्धिक र निष्ठा दुवै हिसाबले।
उनको राजनीति भने प्रजातन्त्र अघि बढाउन भनेर सुरु भएको थियो।
कलकत्तामा डाक्टरी पढेर नेपाल फर्किएपछि उनी युवा अवस्थामै राजनीतितिर आकर्षित भए। २००८ सालमा कांग्रेस पार्टीको सदस्यता लिए।
उनको आफ्नै परिवार भने राजनीतिमा थिएन। उनका ठूलाबुबा गौरीनारायण गिरी डिठ्ठा थिए। राणाकाल र त्यसलगत्तै पनि समाजमा डिठ्ठाको ठूलै दबदबा हुन्थ्यो। बुबा ठूला जमिन्दार थिए, तर कुनै राजनीतिक संलग्नता थिएन।
गिरी खलककै रुद्रप्रसाद गिरी भने कांग्रेसको राजनीतिमा सक्रिय थिए। उनी कांग्रेस नेता प्रदीप गिरीका काका हुन्।
नेपालमा राणा शासन भर्खरै अन्त्य भएको थियो। भारतमा पनि स्वतन्त्रता संग्राम सफलतापूर्वक सम्पन्न भएको थियो। त्यो राजनीतिक र सामाजिक उथलपुथलको समयमा डा. गिरी पनि राजनीतितिर तानिए। डाक्टरी पढेर आएका भए पनि उनलाई जागिरको कुनै फिक्री थिएन। न त जागिर खानै उनले डाक्टरी पढेका थिए। उनको परिवारको सिरहा र जनकपुरमा प्रशस्त जग्गाजमिन थियो। त्यतिबेलै भारतको दरभंगामा घर र सिनेमा हल थियो।
तीक्ष्ण बुद्धिका गिरीको नेपाली कांग्रेसका नेता बिपी कोइरालासँग सुरुदेखि नै खुब जम्यो। तर्क, वाकपटुता र तीव्र प्रवाह डा. गिरीका पुँजी थिए। बिपी सुरुदेखि नै उनीसँग प्रभावित भए।
यति प्रभावित भए, अरू नेताका लागि त्यो डाहा र आलोचनाको विषय बन्न पुग्यो।
२००७ सालको राणाविरोधी आन्दोलनमा बिपीसँगै जोखिम मोलेर लडेका अरू धेरै नेता थिए। धेरैले डा. गिरीलाई बिपीले अनावश्यक रूपमा विश्वास गरेको र काखी च्यापेको भनेर आलोचना गर्थे। बिपीले भने कसैको सुनेनन्। यसले डा. गिरीलाई झनै हौस्यायो।
उनी रफ्तारमा अघि बढे, धेरै नेता पछि परे।
२०१२ सालमा वीरगन्जमा भएको नेपाली कांग्रेसको महाधिवेशनले उनलाई पार्टीको महामन्त्री नै बनायो। अब उनी सांगठनिक हिसाबले पनि बिपीका सारथि बने।
त्यो बेला बौद्धिक हिसाबले बिपीसँग तर्क र बहस गर्न सक्नेमा डा. गिरी र सूर्यप्रसाद उपाध्यायजस्ता केही नेता मात्र कांग्रेसमा थिए।
सूर्यप्रसाद राणाहरूसँगको निकटतामा हुर्किएका थिए। दरबारी चालचलनका वाकिफ थिए। त्यही निकटताका कारण पनि बिपीको सूर्यप्रसादसँग जम्दैन थियो। डा. गिरी भने मधेसका, त्यसमाथि उनी पनि भारतमै पढेका खुला विचारका थिए।
‘उहाँ यति तीक्ष्ण बुद्धिको हुनुहुन्थ्यो, त्यसैबाट प्रभावित भएर बिपीले उहाँलाई सहयोगी बनाउनुभएको हो,’ पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भने, ‘मैले बिपी कोइरालासँग संगत गर्ने मौका पाइनँ। त्यसैले, उहाँलाई दाँज्न चाहन्न, तर त्यसबाहेक जति पनि नेताहरू देखेँ, जुन तीक्ष्ण बुद्धि र दुरगामी सोच गिरीमा थियो, त्यो विरलै नेताहरूमा पाइन्छ।’
२०१५ सालको चुनावमा गिरी सिरहाबाट महासभा सदस्य चुनिए। बिपीको मन्त्रीमण्डलमा सहायक मन्त्री बने।
विस्तारै गिरी बिपीमाथि नै हाबी हुन थाले। बिपीले उनका कुरा मान्नैपर्ने गरी दबाब हाल्न सक्ने भए।
पत्रकार जगत नेपालको पुस्तक ‘पहिलो संसद बिपी-महेन्द्र टकराव’ मा लेखिएको कुराले यसको पुष्टि गर्छ।
नेपालले लेखेका छन्-
बिपीले नयाँ संविधानबमोजिम सपथ लिँदा तुलसी गिरीलाई उपमन्त्रीबाट मन्त्री बनाउने बचन दिएका थिए।
असार १५ गते दरबारमा रिसेप्सन चलिरहेको थियो। उपमन्त्री गिरी विपक्षी दलका नेता भरतशमशेरसँग कुरा गर्दै थिए। बिपीले गिरीसँग भने, 'म राजालाई भेट्न जाँदैछु। तपाईंलाई यसपटक उपमन्त्रीबाट मन्त्रीमा बढुवा गर्न सक्दिनँ। मन्त्रालय पनि हेरफेर गर्न सक्दिनँ। तपाईंले उपमन्त्री भएरै मलाई सघाउनुपर्यो।'
गिरीले भने, 'नेभर। तपाईंले भनेकाले नै मैले उपमन्त्री स्वीकारेको हुँ। मैले मन्त्री पद खाने हो भने तपाईंले बढुवा गर्नैपर्छ। तपाईंले मन्त्री बनाउनुभएन भने म राजीनामा गर्छु।'
बीपीले भने, ‘हुन्छ। म तपाईंको नाम पठाउदिनँ। बढुवा पनि गर्न सक्दिनँ। तर, तपाईंले तीन महिनासम्म मेरो विरोध गर्न पाउनुहुन्न नि। मैले जे भन्छु, त्यही गर्नुपर्छ।’
साथमा रहेका विपक्षी दलका नेता भरतशमशेर राणालाई देखाउँदै बिपीले भने, ‘भरतशमशेरजी तपाईं साक्षी हुनुहुन्छ है मेरो।’
त्यहाँबाट सिधै घर फर्किएका गिरीले श्रीमतीसँग भने, ‘अब हामीले सरकारी क्वार्टर छोड्नुपर्छ है।’
त्यही रात १० बजे नै बिपीका भाइ तारणीप्रसाद कोइरालाले गिरीलाई फोनमा भने, ‘डाक्टरसाब बधाई छ, सान्दाइले तपाईंलाई मन्त्रीमा बढुवा गर्नुभएछ।'
एक महिनामै गिरीले परराष्ट्र मन्त्रीको जिम्मेवारी पाए।
डा. गिरीले बिपीसँग उनको निकटताबारे बोलेका छन्।
एकपटक गिरीले भनेका छन्, ‘म पार्टीमा बोलेपछि डाक्टर गिरी बोलेको होइन, बिपीको बोली हो’ भन्थे।
गिरीलाई पुल्पुल्याएको बिपीका निकट मित्र गणेशमान सिंहलाई पनि मन परेको थिएन। उनी भन्थे, ‘यो डाक्टरलाई बिपीले कहाँबाट ल्याएर पुल्पुल्याउनुभएको छ।’
डा. गिरीसँग बुद्धि र व्यक्तित्व मात्र थिएन, सम्पत्तिको रवाफ पनि थियो। उनमा यी सबैले उभारेको आत्मविश्वास पनि थियो।
त्यो समय राजा, राणाबाहेक प्रधानमन्त्री, मन्त्री, प्रधानसेनापति, जर्नेलहरू र केही सरकारी उच्च अधिकारीसँग मात्र मोटर सुविधा थियो। कांग्रेसमा सुवर्णशमशेर राणा, सूर्यप्रसाद उपाध्यायलगायत तथा गोरखा परिषदका मृगेन्द्रशमशेर, भरतशमशेर लगायत सीमित राजनीतिक नेताहरूसँग मात्र मोटर थियो।
गिरी भने त्यही बेला शानसँग जर्मनीमा बनेको फक्सवागन गाडी चढ्थे।
गिरी र विश्वबन्धु थापा पहिलेदेखिकै मिल्ने साथी थिए। २०१५ सालको निर्वाचनमा थापा चितवनबाट विजयी भएका थिए। थापाले गिरीलाई भने, 'तँ सानैदेखि मोटर चढिस्। म घोडा चढेँ। काठमाडौं आएपछि घोडा चढ्ने कुरा भएन। मसँग त साइकल छ। संसद जाँदा त तैंले नै लिफ्ट दिनुपर्छ।'
निर्वाचन सकिएको डेढ महिनापछि बिपी नेतृत्वमा सरकार बन्यो। गिरी मन्त्री भए। सांसदलाई गाडी किन्ने पैसा दिन लबिङ गरे। मन्त्रिपरिषद्को निर्णयका आधारमा मन्त्री, सांसद र सरकारका उच्च कर्मचारीलाई गाडी किन्न निर्ब्याजी ऋण दिने निर्णय भयो।
सामान्यत: छ महिनाको तलब बराबर ऋण दिने नियम बन्यो। मन्त्रिपरिषद्ले विशेष निर्णय गरेमा त्योभन्दा बढी दिन सकिने व्यवस्था गरियो। त्यो विशेष व्यवस्था डा. गिरी लगायतका लागि थियो।
प्रतिनिधिसभाको २०१७ जेठ २५ गतेको बैठकमा मन्त्री गिरीले आफूले मोटर किन्न ३२ हजार लिएको जानकारी गराए। यसले बिपी मन्त्रीमण्डलमा गिरीको दबदबा देखाउँछ।
सायद बिपीले उनीमाथि धेरै नै भर गरे। सायद गिरीको रफ्तार धेरै नै तेज थियो। सायद उनलाई बिपीले आफ्नो रफ्तार रोकेको लाग्न थाल्यो।
उनी कांग्रेसमा बिपीलाई विस्थापित गर्न सक्थेनन्। राणा शासन उनले हटाएका थिएनन्। कांग्रेस उनले बनाएका थिएनन्। सबैमा बिपीको नायकत्व स्थापित थियो। बिपीको व्यक्तित्व पनि उनको भन्दा कम थिएन। त्यो झनै बहुआयामिक र बृहत थियो।
डा. गिरी कांग्रेस पार्टीमा उनको टक्करमा आउँथेनन्। त्यसैले अघि बढ्न उनले अर्कै सवारी रोज्नुपर्थ्यो। कांग्रेस उनको सवारी बन्न सक्दैनथ्यो।
परिस्थितिले त्यो पनि जुरायो।
राजा महेन्द्र पश्चिम नेपाल भ्रमणमा जाने भए। पोखरासम्म प्रधानमन्त्री बिपी पनि सँगै गए। त्यसपछि डा. गिरीलाई राजाको सवारी मन्त्री बनाएर पठाए।
त्यही दुईहप्ते पश्चिम भ्रमणमा राजा र डा. गिरीको आन्द्रा गाँसियो। दुवैको निसाना एउटै थियो— बिपी कोइराला।
राणा शासनविरोधी क्रान्तिको नेतृत्व गर्ने, राजालाई संवैधानिक दायरामा सीमित गर्ने, जनताको शासन स्थापना गर्ने र बहुलवादमा आधारित समाज अघि बढाउने कामको अग्रपंक्तिमा बिपी थिए।
उनको त्यो नायकत्वलाई चुनौती दिन राजालाई बहुदलभित्रकै एउटा खलनायक चाहिएको थियो।
उनले डा. गिरीलाई त्यसको काबिल पाए।
बिपी प्रधानमन्त्री भएकै बेला भारतका समाजवादी नेता जयप्रकाश नारायणले उनलाई 'दलविहीन ग्राम पञ्चायत’ को अवधारणा पठाएका थिए। जयप्रकाश गाउँ तहसम्म पार्टीको प्रतिस्पर्धाले सामाजिक सन्तुलनका तन्तुहरू खल्बल्याउँछ भन्ने विश्वास गर्थे।
त्यसैले प्रजातन्त्रमा गाउँ तहको विकास अवधारणा प्रभावकारी बनाउन दलरहित ग्राम पञ्चायतको परिकल्पना उनले गरेका थिए। उनले बिपीलाई पठाएको अवधारणा त्यही थियो।
पढिसकेपछि आफ्ना विश्वासपात्र डा. गिरीतर्फ प्रतिवेदन फाल्दै बिपीले भने, ‘जयप्रकाश बूढा पनि खुस्केछन्! ल यो रिपोर्ट पढ्नुस् त डाक्टर।'
गिरीले पछि भनेका छन्, 'बिपीलाई मन नपरेको त्यही रिपोर्ट मलाई चाहिँ खुब मन पर्यो। मैले सोचेँ- यदि नेपालमा दलविहीन व्यवस्था स्थापना गर्न सकियो भने त राजा र सरकारबीच त्यस्तो दूरी कहिल्यै हुने छैन। राजालाई पार्टीसँग डर थियो। संगठित राजनीतिक शक्ति उनलाई स्वीकार्य थिएन। त्यसबाट जहिले पनि आफ्नो शक्तिमाथि ‘थ्रेट’ ठान्थे।'
पश्चिम नेपालको भ्रमण क्रममै डा. गिरीले राजा महेन्द्रलाई जयप्रकाशको अवधारणाबारे व्याख्या गरे। राजाको दिमागमा संसदीय प्रजातन्त्रको विकल्पमा सैद्धान्तिक रूपमै एकदलीय व्यवस्थाको बिउ डा. गिरीले त्यही बेला रोपिदिएको धेरेको विश्वास छ।
गिरीमार्फत् राजा महेन्द्रले विस्तारै कांग्रेसका धेरैलाई आफ्नो विश्वासमा पारे।
२०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरे।
महेन्द्रले बनाएको नयाँ मन्त्रिपरिषदमा गिरीले बिपी मन्त्रिपरिषद्जस्तै परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाए। थप पुरस्कारका रूपमा रक्षा मन्त्रालयको जिम्मेवारी पनि पाए। त्यसको दुई वर्षपछि राजाले उनलाई प्रधानमन्त्री बनाए।
३५ वर्षकै उमेरमा नेपालको सबैभन्दा कलिलो प्रधानमन्त्री बन्ने अवसर गिरीलाई प्राप्त भयो।
पञ्चायती व्यवस्थामा २०१९ देखि २०३४ सम्म गिरी तीनपटक प्रधानमन्त्री बने।
२०१९ सालमा राजा महेन्द्रले ०१५ सालको संविधान विस्थापित गरेर नयाँ संविधान जारी गरे।
गिरीले नयाँ संविधानमा ‘हिन्दु अधिराज्य’ राख्न राजालाई सुझाए। हिन्दु धर्मप्रति उनको खासै लगाव होइन। उनको जीवन दृष्टि मूलत: ‘सेक्युलर’ नै देखिन्छ।
तर उनले नेपाल हिन्दु अधिराज्य हुनुमा रणनैतिक फाइदा देखे। २०१७ सालको ‘कू’ लाई भारतले समर्थन गरेको थिएन।
‘कू’ को केही समयपछि भारतीय प्रधानमन्त्री जवहारलाल नेहरूले राजा महेन्द्रलाई लामो चिठी लेखेर उनको कदम किन गलत छ भनेर व्याख्या गरेका थिए। राजा महेन्द्रले मागेको समर्थन दिन उनी किन असमर्थ छन् भनेर अर्थ्याएका थिए। सोही चिठीमा नेहरूले नेपालको हितका लागि सहभागितामूलक प्रजातन्त्रमा चाँडोभन्दा चाँडो फर्कन सुझाएका छन्।
भारतले राजाको ‘कू’लाई समर्थन नगरेको पृष्ठभूमिमा नेपाललाई ‘हिन्दु अधिराज्य’ बनाउनुको फाइदाबारे गिरीले राजा महेन्द्रलाई अर्थ्याए।
नेपाललाई ‘हिन्दु अधिराज्य’ बनायो भने ढिलो चाँडो भारतको सद्भाव प्राप्त गर्न सकिन्छ भन्ने उनको ठम्याई थियो। ८० प्रतिशत भारतीय हिन्दु रहेको सन्दर्भमा नेपाल ‘हिन्दु अधिराज्य’ बन्नु भारतीयका लागि आकर्षणको विषय हुन्छ भन्ने निचोड डा गिरीले महेन्द्रलाई सुनाए। संसारको एक मात्र हिन्दु राष्ट्रसँग भारतले कटुता राखिराख्न सक्दैन भन्ने सुझाए। महेन्द्र राजी भए।
संविधानमा हिन्दु अधिराज्य लेखियो।
यसरी राजतन्त्र र आफ्नै रणनितिक फाइदाका लागि डा गिरीले नेपालको राजनीतिमा धर्म मिसाए।
बीपी कोइरालाले पछि संविधानमा ‘हिन्दु अधिराज्य’ लेखिएको विषयलाई ‘फ्रड अन कन्स्टिच्युसन’ अर्थात संविधानमाथि धोखा भनेका छन्।
भित्रैदेखिको विश्वास वा रणनीतिक कारण जे होस्, जहिलेदेखि डा. गिरी एकदलीय व्यवस्थाका हिमायती बने, त्यसलाई जीवनपर्यन्त निर्वाह गरे।
एकदलीय शासनको वकालत गरेर डा. गिरी प्रधानमन्त्री बनेपछिका झन्डै ५५ वर्षमा धेरै बहुदलवादी पञ्च भए, धेरै पञ्च बहुदलवादी भए। तर, उनको एकदलीय व्यवस्थाप्रतिको निष्ठा कहिल्यै डगमगाएन।
राजनीति चटक्कै छाडेर २०४२ सालमा श्रीलंका जाँदा पनि उनी एकदलीय व्यवस्थाका हिमायती थिए। २०६१ सालमा राजा ज्ञानेन्द्रले ‘कू’ मार्फत सत्ता हातमा लिएपछि नेपाल फर्कंदा पनि उनी राजाको सक्रिय नेतृत्वमा एकदलीय व्यवस्थाकै पक्षपाति थिए।
उनले २०४२ सालमा देश छाडेको भने राजनीतिक कारणले हैन। प्रेमका कारणले उनले देश छाडे।
त्यसअघि नै दुइटा विवाह गरिसकेका गिरी साराह योञ्जनको प्रेममा परे। योञ्जन रेडियो नेपालमा अंग्रेजी समाचार वाचिका थिइन्। उनीसँगै विवाह गर्न गिरीले हिन्दु धर्म परित्याग गरिदिए। श्रीमतीसँगै उनी पनि इसाई धर्मको एउटा हाँगो ‘यहुवाका साक्षीहरू’ समूहको सदस्य बने र श्रीलंका गए। दुई वर्ष त्यहाँ बसेर उनीहरू भारतको बैंगलोर बसे।
२०६१ माघमा सत्ता हातमा लिएपछि राजा ज्ञानेन्द्रले उनलाई बोलाए। आफूभन्दा मुनि र मन्त्रिपरिषद्का अरू सदस्यभन्दा माथि राखेर उनले डा. गिरीलाई मन्त्रिपरिषद्को उपाध्यक्ष बनाए।
गिरीले सुरुमा आनाकानी गरे। उनले राजालाई बाहिरै बसेर सहयोग गर्ने बताए। उनले अंगालेको धर्मका कारण पनि सार्वजनिक पद धारण गर्न उनलाई अप्ठ्यारो थियो। तर, ज्ञानेन्द्रले जिद्दी गरेपछि उनी तयार भए।
‘राजा ज्ञानेन्द्रले सहयोग गर्न अनुरोध गरेपछि उहाँ आउनुभयो। यद्यपि उहाँ जुन आध्यात्मिक समूहमा हुनुहुन्थ्यो, त्यसले उहाँलाई दल खोल्न, सत्ता चलाउन र चुनाव लड्न अनुमति दिँदैनथ्यो,’ गिरीको मन्त्रीमण्डलमा गृहमन्त्री रहेका थापा भन्छन्, ‘त्यतिबेला पनि उहाँले राजनीतिक रूपमा समाधान निकाल्न सबैसँग कुराकानी गर्नुभएको थियो।
थापाका अनुसार नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग कुरा गरेर गिरीले २०६२ माघमा भएको नगरपालिका चुनाव स्थगित गर्ने सहमति गरेका थिए।
‘सरकारले चुनाव स्थगित गर्ने र दलहरूले आन्दोलन रोक्नेमा पहिला गिरिजाबाबु तयार हुनुभएको थियो, तर उहाँहरूको माओवादीसँगको सम्बन्ध यति सघन भइसकेको रहेछ, पछि हुन्न भन्नुभयो,’ थापाले भने।
थापाका नजरमा गिरी त्यस्ता नेता हुन्, जो आफूले ठीक ठानेको विचारमा विचलित भएनन्, मृत्युपर्यन्त पछ्याए।
‘उहाँ निष्ठावान् राजनीतिज्ञ हो। जहाँ रहनुभयो, इमानदारी निभाउनुभयो। बिपीलाई छोडेर राजासँग सहकार्यमा लाग्नुभयो। अनेकौं राजनीतिक उतारचढावका बाबजुद जिन्दगीको अन्तिम घडीसम्म उहाँ आफ्नो आस्थामा अडिग रहनुभयो,’ थापाले भने, ‘सत्तामा हुँदा पनि उहाँलाई नि:स्वार्थ र इमानदार व्यक्तिका रूपमा पाएँ। कुनै व्यक्तिगत स्वार्थ, लोभलालच वा पैसा कमाऊँ भन्ने भावना उहाँमा कहिल्यै थिएन।’
सत्ता हातमा लिएपछि पनि राजा ज्ञानेन्द्र प्रजातन्त्र फर्काउने कुरा गर्थे। सत्ता जनताको नासो हो भन्थे। डा. गिरी भने खुल्लमखुल्ला एकदलीय शासनको वकालत गर्थे। नेपालको हित राजाको सक्रिय नेतृत्वमा आधारित एकदलीय शासनमा मात्र छ भन्थे।
उनी २०४७ सालको संविधानलाई पनि जनआन्दोलनले ल्याएको परिवर्तन मान्न तयार थिएनन्। उनी भन्थे, ‘त्यो राजाले दिएको संविधान हो, राजाले जतिबेला पनि फिर्ता लिन सक्छन्।’
एकदलीय व्यवस्थाप्रति यति वफादार अर्को कुनै पञ्च देखिएन। त्यसैले, एकदलीय व्यवस्थाका नायक उनै हुन्।
अनि बहुदलका खलनायक पनि।