नेकपा एमालेकी नेतृ एवं प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले आफू पहिलो पटक सांसद हुँदा हस्ताक्षर गर्न समेत मुस्किल परेको बताएकी छन्।
‘म पहिलो पटक सांसद भएपछि शान्ता लेख्न (हस्ताक्षर गर्न) ५ मिनेट लाग्ने गर्दथ्यो, तर आज खराखर लेख्न सक्ने भएकी छु,’ चौधरीले सेतोपाटीसँगको भनिन्।
आफू जमिनदारको घरमा १८ वर्षसम्म कमलहरी बसेको बताएकी उनले त्यहीँ भएर सानोमा पढ्न नपाउँदा सांसद भएपछि नाम लेख्न समेत नसक्ने अवस्थामा रहेको बताइन्।
‘निरन्तरको संघर्ष र प्रयासबाट मात्रै हरेक मानिसले जीवनमा सफलता प्राप्त गर्न सक्दो रहेछ,’– चौधरीले भनिन्, ‘मलाई पहिलो पटक सांसद हुँदा कतिपयले औंठा छाप भनेर अपहेलना पनि गरे, तर मैले त्यसको वास्ता गरिन।’
आफू विघठित संविधानसभा अन्तरगतको प्राकृतिक स्रोत साधन समितिको सभापति हुँदा पनि आफैँले छलफल मार्फत पारित गरेका लिखित निर्णयहरू पढेर प्रेसका सामु सुनाउन समेत नसकेको विगत उनले स्मरण गरिन्।
‘हाम्रो समितिले गरेका निर्णयहरू म आफैँ पढेर सुनाउन सक्दिन थिँए,’– शान्ताले भनिन्, ‘प्रेसका साथीहरूले दिदी तपाईंले नै निर्णय पढेर सुनाउनुहोस् भन्दा कस्तो रुन मन लाग्दथ्यो, कस्तो आत्मग्लानी हुन्थ्यो।’
तर पनि आफूले हार नमानेर छोरा छोरीसँग पढ्न सिकेको शान्ताले बताइन्।
आफू हाल गृहनगर दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ गोग्लीस्थित सरकारी विद्यालयमा कक्षा नौमा अध्ययनरत रहेको बताएकी उनले अर्को वर्ष आफूले पनि एसएलसी दिने भन्दै खुसी साटिन्।
‘मैले सर्टिफिकेट देखाउन र डिग्री हासिल गर्नका लागि भन्दा पनि ज्ञान हासिल गर्नका लागि छोराछोरी समान बालबालिकासँगै पढिरहेकी छु,’– शान्ताले भनिन्, ‘सामाजिक उत्पीडन, गरिबी, अभाव र यातानाबारेको डिग्री त सायद मैले १८ वर्ष कमलरी जीवन व्यथित गर्दा हासिल गरिसकेकी छु जस्तो लाग्छ।’
शान्ताले कक्षा ८ को परीक्षामा आफ्नो ६५ प्रतिशत अंक प्राप्त भएको भन्दै खुसी पनि साटेकी थिइन्। पछिल्लो समय महिलाहरूले पहिलेका भन्दा तुलानात्मक रूपमा धेरै हक अधिकार प्राप्त गरेको तथा महिलाको अवस्थामा सुधार आएको भएपनि अझै पितृसत्तात्मक सोचका कारण समाजमा महिलामाथिको हिंसा भने कायमै रहेको बताइन्।
महिला राष्ट्रपति, सभामुख, न्यायालय प्रमुख जस्ता सर्वोच्च पदहरूमा पुग्न सफल भएको प्रति खुसी व्यक्त गरेकी उनले समान रूपमा स्थानीय तहदेखि नीति निर्माण तहसम्म नेतृत्वको अवसर पाउनुलाई ठूलो सफलता मान्न सकिने बताइन्। राज्यले संविधानमार्फत महिलाहरूलाई पछिल्लो समय थुप्रै अधिकारहरू दिएको उल्लेख गरेकी उनले ति सबै व्यवहारिक रूपमा कार्यान्वयन हुन सके थप खुसीहरू थपिने उनको धारणा थियो।
कुनैपनि स्थानमा टिकिराख्न सजिलो नभएपनि लक्ष्य हासिल गर्नका लागि निरन्तर संघर्षरत र प्रयासरत रहनुपर्ने उनले बताइन्। ‘महिलालाई राजनीतिमा पनि सजिलो छैन। त्यहाँ पनि टिकिरहन निकै गाह्रो छ। महिला पुरुष सँगसँगै हिड्नु पर्दा चरित्रमा दाग लगाउनेहरूको कमी छैन। तर आफू इमान्दार भए कसैसँग डराउनुपर्दैन,’ शान्ताले भनिन्।
सरकारको निर्णयसँगै आफू २०५७ सालमा कमलहरी जीवनबाट मुक्त भएसँगै अन्य बालिकाले आफूजस्तै दुःख र यातना खेप्न नपरोस् भन्नका लागि आन्दोलन गर्दा थुप्रै उल्झनहरू झेल्नु परेको उनले बताइन्। १८ वर्ष विभिन्न जमिनदारको घरमा कमलहरी जीवन व्यथित गर्नुपर्दा थुप्रै पीडा र यातानाहरू आफूले खेप्नु परेको उनले बताइन्।
‘शारिरीक श्रम मात्रै हैन, मानसिक यातना पनि कति खेपे कति, जो भनेरै साध्य छैन,’– शान्ताले भनिन्, ‘कलिलै बालिका हुँदै गर्दापनि जमिनदार र उनका छोराहरूले गर्न व्यवहार सम्झदा आज पनि रुन मन लाग्छ।’
आज आफूले बालिकाहरूको मुक्तिका लागि चालेका संघर्षका कदमहरू सही थिए भन्ने प्रमाणित हुँदा खुसी लाग्ने गरेको पनि उनले बताइन्।
वर्गीय समस्या सबैभन्दा ठूलो समस्यावर्गीय समस्या नै महिला सशक्तिकरणको लागि सबैभन्दा ठूलो समस्या भएको शान्ता चौधरीले बताएकी छन्।
महिला स्वावलम्बी हुन सके भने पनि महिलामाथि हुँदै आएका हिंसाका घटनाहरूमा उल्लेख्य मात्रामा न्यूनीकरण हुने उनको धारणा छ।
‘गरिबीकै कारण विदेशमा पुगेका चेलीका पीडा सुन्दा मलाई विगत झलझली याद आउँछ र आँखाबट आँशु रसाउन थाल्छ,’– शान्ताले भनिन्, ‘हाम्रा दिदी बहिनीहरू रहरले हैन कहरले विदेशिएका छन्। अब त्यस्ता श्रमिक महिलाहरूको सुरक्षा राज्यले गर्न सक्नुपर्छ।’
उनले आज पनि श्रमिक महिलाहरूले समान कामको समान ज्याला पाउन नसकेको भन्दै त्यसमा स्थानीय सरकार गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरिन्। श्रमिक महिला दिवसको नारा गाउनेहरूले होटल र सहर बजारमा कार्यक्रम गर्नुभन्दा लक्षित समुदायका महिलाहरूलाई सम्बोधन गर्न आवश्यक रहेको उनले बताइन्।
‘आज महिलाको क्षेत्रमा काम गर्ने संघसंस्था च्याउ सरी उर्मिएको देख्दा म दंग छु। मेरो आग्रह छ, स्थानीय सरकार, सिडियो साप र बुद्धिजीवि मित्रहरू सहर बजार र होटलका कार्यक्रमहरूमा नजानुहोस् बरु श्रमिक महिला कहाँ गएर उनीहरूका कुरा सुन्नुहोस्,’ शान्ताले भनिन्।
जुन समुदायको लागि भनेर कार्यक्रमको यतिधेरै हल्ला खल्ला गरिन्छ त्यो समुदायसम्म पुगेपछि मात्रै दिवसले सार्थकता पाउने उनले बताइन्। ‘सर्वहारालाई अधिकार दिन, भूमिहीनलाई न्याय दिन र उत्पीडनमा परेका महिलाहरूलाई न्याय दिन मेरो बाँकी जीवन समर्पण गर्नेछु,’– उनले थपिन्, ‘म मन्त्री हुन र शक्तिमा जानका लागि कहिल्यै मरिहत्ते गर्ने सोचमा छैन।’
तर उनले अन्त्यमा भने पितृसत्तात्मक सोच पाल्ने व्यक्तिहरूले अझै पनि महिलालाई दोस्रो दर्जाको उपमा दिने गरेको भन्दै अब पनि छोरा छोरीका बीचमा विभेद गर्नु उचित मान्न नसकिने उनले बताइन्।