जिल्लाको माथागढी गाउँपालिका–५, गोठादीका वडाध्यक्ष रनबहादुर खाम्चालाई वडाध्यक्षको जिम्मेवारी पाएपछि उनी सरकारी कर्मचारी जस्तै दिनहुँ व्यस्त छन्।
वडा कार्यालयमा बसेर सिफारिस लेख्ने कामकाजमा दिन बितेको पत्तो नभएको खाम्चा बताउँछन्। बिहान १० बजे कार्यालयमा पुगेपछि सिफारिस लेख्ने कार्यमा उनलाई भ्याइनभ्याइ हुन्छ।
‘कर्मचारीभन्दा अघि नै कार्यालयमा पुगेको हुन्छ, अहिले सिफारिस लेख्ने काममा व्यस्त छु, जनताको सेवा गर्न पाउँदा निकै खुशी लागेको छ’ उनले भने। उनले सार्वजनिक बिदाको दिन पनि नभनी जनताको सेवामा समर्पित हुँदै आएका छन्।
निस्दी गाउँपालिका–१ का वडाध्यक्ष पूर्णबहादुर खाँण पनि कार्यालयमा बसेर सिफारिस लेख्नमै व्यस्त छन्। ‘वडाध्यक्षको जिम्मेवारी सम्हालेपछि सिफारिस लेख्ने कामले एकछिन पनि फुर्सद छैन’– उनी भन्छन्। ‘दिउँसो कार्यालयमा बसेर सिफारिस लेख्ने, बिहान साँझ वडाको विकास निर्माणका काममा व्यस्त छु, जनता र गाउँको विकास गर्नैपर्यो’ उनले भने।
जन्म, मृत्यु, विवाह, बसाइँसराइबाहेक अन्य नागरिकता, मालपोतलगायतका धेरै प्रकृतिका सिफारिस वडाध्यक्षले नै गर्नुपर्दछ। कामको जिम्मेवारी गाउँपालिकाका अध्यक्ष, नगरप्रमुखलाई भन्दा वडा अध्यक्षलाई बढी हुन्छ।
तर, त्यही वडाध्यक्षलाई बजेटसम्बन्धी पूर्ण अधिकार नभएको तानसेन नगरपालिका–६ का अध्यक्ष सागर महर्जन बताउँछन्। कामको जिम्मेवारी बढी, बजेट अधिकार शून्यजस्तै भएका कारण अबको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार हुने व्यक्ति पाउन कठिन हुने उनको भनाइ छ।
जनप्रतिनिधिले गर्ने सिफारिसको काम कर्मचारीबाट भयो भने जनप्रतिनिधिले सिफारिस लेख्ने समय विकास निर्माणको काममा दिन सकिने रैनादेवी गाउँपालिकाका वडाध्यक्ष जीवनाथ पोखरेल बताउँछन्।
वडाध्यक्षलाई कार्यालय समय अवधिभर सिफारिस लेख्ने, हस्ताक्षर गर्ने कामले एकछिन फुर्सद हुँदैन। वडा कार्यालय व्यवस्थापनको लागि पनि बजेट अत्यन्त कम भएको र वडाबाटै खाता सञ्चालनको व्यवस्था नहुँदा वडाध्यक्षलाई काम गर्न अप्ठ्यारो भएको उनीहरूको गुनासो छ।
रासस