नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारवाही गरेको छ।
उर्लाबारीमा क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा सोमबार बसेको पार्टी क्षेत्रीय समितिको बैठकले पार्टीका क्रियाशील सदस्य भीमबहादुर राउत, रामप्रसाद सुवेदी र विपीन खड्कालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सचिव पर्वत राईले जानकारी दिए।
यस्तै, बैठकले निर्वाचनमा असहयोग पुर्याउने ३१ जनालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ। उनीहरूलाई पत्र पठाउँदै स्पष्टीकरण सोध्ने निर्णय गरेको सचिव राईले बताए।
यसैगरी, क्षेत्र नम्बर १ मा पार्टी हारको कारण खोज्दै प्रतिवेदन तयार पार्न महासमिति सदस्य ललित अधिकारीको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ। मोरङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य गरी तीनवटै पदमा कांग्रेसले हार व्यहोरेको थियो। रासस