प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन भएका छन्।
संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो।
संसदीय दलको नेताका लागि पार्टीका दुईजना आकांक्षी रहेका प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध चयन भएको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिए। कोइराला कांग्रेसका सुनसरी सभापतिसमेत हुन्।
कोइराला प्रदेशभाको निर्वाचनका बेला सुनसरी क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सांसदमा विजयी भएका थिए।
स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सुनसरीमा कोइरालाको कुशल नेतृत्व कै कारण सुनसरीमा कांग्रेसको राम्रो नतिजा आएको थियो। कोइरालालाई मंगलबार प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ।
रेडक्रशमा पुन : मेहता
यसैबीच, नेपाल रेडक्रश सोसाइटी इनरुवाको सभापतिमा पुनः रामप्रसाद मेहता चयन भएका छन्। सोमबार सम्पन्न भएको भेलाले पुनः मेहतालाई सभापति पदमा चयन गरेको हो।
त्यसैगरी, उपसभापतिमा महिचन साह, सचिवमा कामेश्वर पण्डित र कोषध्यक्षमा कुमार ओझालाई सर्वसम्मतरुपले चयन गरिएको सदस्य वीरेन्द्र साहले जानकारी दिए।
यस्तै, सदस्यमा वीरेन्द्र साह, योगेन्द्रप्रसाद मेहता, निरादेवी मेहता, सीता रिजाल, ब्रह्मदेव पण्डितलगायतको चयन भएको छ।
रासस