प्रदेश नम्बर ४ प्रदेशसभा निर्वाचनबाट उपसभामुख पदमा नेकपा (एमाले)का प्रदेशसभा सदस्य सिर्जना शर्मा निर्वाचित भएकी छन्।
पोखराको नदीपुरस्थित प्रदेशसभा हलमा भएको आइतबारको बैठकबाट नवनिर्वाचित उपसभामुख सिर्जना शर्मासँग नेपाली कांग्रेसका तर्फबाट मनकुमारी गुरुङ र राष्ट्रिय जनमोर्चाका तर्फबाट पियारी थापाको उम्मेदवारी परेको थियो।
प्रदेशसभा बैठकमा उपस्थित ५६ मतमध्ये वाम गठबन्धनबाट निर्वाचित शर्माको पक्षमा ३८ मत र विपक्षमा १८ मत परेको प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठकमा जानकारी गराएका थिए। उपसभामुखको चयन मत विभाजनको प्रक्रियाबाट गरिएको थियो।
प्रदेश नम्बर ४ को प्रदेशसभामा एमालेका २७, नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, नयाँ शक्ति नेपालका दुई रहेका छन् भने मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले शपथ खाएका छैनन्।
सभामुख नेत्रनाथ अधिकारीले नवनिर्वाचित उपसभामुख सिर्जना शर्मालाई एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
रासस