सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संक्रमणकालको अन्त्य भइसकेकाले अब सबै मिलेर आर्थिक सम्वृद्धिको एजेण्डालाई पूरा गर्नु बाटोमा एकढिक्का हुनुपर्ने बताएका छन्।
काठमाडौंमा बिहिबार आयोजित नेपाल विज्ञापन संघको १८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले मुलुक संघीयतामा गइसकेकाले कसैले पनि अब राजनीतिक संक्रमणकालको नाममा मुलुकलाई बन्दी बनाउन नपाउने बताएका हुन्।
अब सरकार र निजी क्षेत्र सबैको एजेण्डा आर्थिक सम्वृद्धि रहेको भन्दै उनले त्यस बाटोमा हातेमालो गरि अघि बढ्न उनले संघलाई आह्वान गरे। मन्त्री बस्नेतले प्रतिष्पर्धाले व्यवसायमा परिमार्जन ल्याउने भन्दै मर्यादित ढंगले व्यवसायिक प्रतिस्पर्धामा अघि बढ्न संघलाई सुझाव दिए।
मन्त्री बस्नेतले सञ्चारमाध्यममा क्लिन फिड नीति लागू गर्ने सम्बन्धमा सरोकारित निकायबाट नै दुई थरीका विचार आएकाले त्यसबारे छलफल भइरहेको जानकारी दिए। यद्यपी, उनले विज्ञापन संघलाई उद्योगको रूपमा स्थापित गर्नका लागि भने सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे।
गत साउन १ गतेदेखि नै लागू गर्ने भनिएपनि तयारी नपुगेको भन्दै सरकारले अहिलेसम्म क्लिन फिड निति लागू गर्न सकेको छैन।