पहिलो चरणको निर्वाचन सकिएर दोस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा दलका नेताहरू आपसी गालीगलौजमा उत्रिएका छन् ।
नेकपा (एमाले) र माओवादी केन्द्रबाट बनेको वाम गठबन्धन र नेपाली कांग्रेस र राप्रपाबाट बनेको लोकतान्त्रिक मोर्चाका नेता यतिबेला एकले अर्कोलाई गाली गर्ने र आफू मात्रै ठीक भनी मतदातासँग भोट मागिरहेका छन्।
कुनै ठाउँमा एक मोर्चाले चुनावीसभा गर्यो भने भोलिपल्टै अर्को मोर्चाले त्यसै ठाउँमा गरिहाल्ने, अघिल्लो दिनमा दलका नेताले लगाएको दोष मेट्न त्यसको खण्डन गर्ने प्रवृत्ति बढेको देखिन्छ।
विशेषगरी वाम गठबन्धनले निर्वाचनमा गठबन्धनको दुई तिहाई मत आउने, निर्वाचनपछि नेपाली कांग्रेसको सरकार हट्ने र पुस महिनादेखि वाम गठबन्धनको बहुमतको स्थिर सरकार बन्ने र पाँच वर्षसम्म एउटै सरकारले शासन गर्ने भनेर दाबी गर्दै गठबन्धनका नेता तथा उम्मेदवारले भाषण गर्दै हिँडेका छन्।
चुनावपछि एमाले र माओवादीबीच पार्टी एकता हुने, ५० वर्षसम्म कम्युनिष्टले शासन गर्ने, सुकुम्बासी समस्या, आर्थिक समृद्धि र विकास, वृद्धवृद्धालाई पाँच/पाँच हजार भत्ता पुर्याउने, केरुङ–काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म रेल कुदाउने, कोही भोका नांगा बस्न नपर्ने, रोजगारीका अवसर सिर्जना गरेर विदेशिने युवाको संख्या घटाउनेजस्ता आश्वासन दिएका छन्।
उता लोकतान्त्रिक मोर्चाको नेतृत्व गरेको कांग्रेसले वाम गठबन्धनका नेताका अभिव्यक्तिलाई आपत्तिजनक ठहराउँदै त्यसको खण्डन गरेको देखिन्छ।
कम्युनिष्ट शासन आए देशमा अनिष्ट हुने, एकदलीय, राष्ट्रपतीय शासन प्रणाली र अधिनायकवाद लाद्नेजस्ता आरोप लोकतान्त्रिक मोर्चाका नेताको छ।
कम्युनिष्ट शासनले देशको आर्थिक विकास र समृद्धि हुन नदिने, जनता आफूले लागेको बोल्न र रुन पनि नपाउने भन्दै नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक मोर्चा नेताले मात्रै लोकतन्त्रको संस्थागत विकास, संविधान कार्यान्वयन र आर्थिक समृद्धि सम्भव भएको जिकिर गरेका छन्।
नेपाली जनताले कम्युनिष्ट शासन प्रणाली नचाहेको भन्दै लोकतान्त्रिक मोर्चाका नेताले नेपाली कांग्रेस पक्षधर मोर्चाको जित सुनिश्चित भएको दाबी गरेका छन्।
मंसिर १० गते भएको निर्वाचनमा ३२ जिल्लाका दल र उम्मेदवारको भविष्य अहिले सुरक्षाकर्मीको कडा सुरक्षाका साथ राखिएको मतपेटिकाभित्र छ। मंसिर २१ गते अधिराज्यका ४५ जिल्लामा दोस्रो चरणको निर्वाचन हुने र सोही दिनको साँझबाट राजनीतिक दल र उम्मेदवारको भविष्यको फैसला जनताले गर्नेछन्।