स्वास्थ्यमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दीपक बोहोराले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
उनले आचारसंहिता विपरित आफ्नो निर्वाचन क्षेत्रमा बिजुलीका पोल तथा पैसा बाँडेको भन्दै उनको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको हो। रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका स्वास्थ्यमन्त्री बोहोराले मतादातालाई प्रभावित गर्ने गरी शुद्धोधन गाउँपालिका–४ को जुगडीहवा र वडा नम्बर ५ को शीतलपाटीको थारु गाउँमा गत शनिबार राति २२ थान बिजुलीको पोल बाँडेको अरोप लगाइएको छ।
शुद्धोधन गाउँपालिका–४ का वडाध्यक्ष राजेन्द्र कँडेल, वडा नम्बर ३ का वडाध्यक्ष हेमबहादुर खड्का र वडा नम्बर ५ का वडाध्यक्ष पुन्यराम गौतम, वडा सदस्य हेमन्त थापा, भुनेश्वर थारुलगायत १०० जनाभन्दा बढी सर्वसाधारणले हस्ताक्षर गरी निर्वाचन आचारसंहिता विपरित जनतालाई प्रलोभन दिने उम्मेदवारको उम्मेदवारी खारेजी गर्न माग गरेका हुन्।
यसैबीच सो ठाउँमा निर्वाचन आचारसंहिता विपरित बिजुलीको पोल खसालेको भन्दै निर्वाचन आचारसंहिता अनगुमगन समिति रुपन्देहीका सदस्य खीमप्रसाद अर्यालको टोली सोही ठाउँमा पुगी स्थलगत अध्ययन गरेको छ।
निर्वाचन अधिकृत कार्यालयको आचारसंहिता अनुगमन टोलीले आचारसंहिता अनुगमन उल्लंघनको अनुगमन गरी तत्काल ती पोल शुद्धोधन गाउँपालिकाको मातहतमा राखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए। निर्वाचनपश्चात् आवश्यक छलफल गरी आवश्यक ठाउँमा गाउँपालिकाले ती पोल वितरण गर्ने भएको छ।
मन्त्री बोहोराले आफूले आचारसंहिता विपरित हुने गरी कुनै काम नगरेको भन्दै विद्युत् पोल वितरण गरेको आरोपको खण्डन गरे।