स्थानीय ओम अस्पतालमा एक हप्ताको उपचारपछि पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि आज घर फर्केका छन्।
लगातार ज्वरो आई छातीमा समेत समस्या देखिएपछि धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधि यही मंसिर ४ गते चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्य परीक्षणपछि उनमा निमोनिया देखिएकामा उनलाई इन्जेक्सनमार्फत एन्टिबायोटिक औषधि चलाई चिकित्सककै निगरानीमा राखिएको थियो।
अस्पतालका पेटरोग विशेषज्ञ डा राहुल पाठक, छातीरोग विशेषज्ञ डा सुबोधसागर ढकाललगायतको टोलीले उनको उपचार गरेको थियो । ‘उहाँले अझ तीन दिन औषधि खानुपर्छ, ट्याब्लेट औषधि दिइएको छ, अहिले ठीक हुनुभएको छ तर पनि उहाँले स्वास्थ्य ख्याल गर्नुपर्छ,’ डा ढकालले बताए। धेरै मानिससँग नभेट्न र अन्य बिरामीबाट टाढै रही आराम गर्न चिकित्सकले निधिलाई सल्लाह दिएका छन्।
नेता निधि अस्पतालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराष्ट्रपति रामवरण यादव, राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपतिका विज्ञ सदस्य, भारतीय राजदूत मञ्जीवसिंह पुरीलगायतले अस्पतालमा पुगी निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।