जिल्लाका जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिका र शिवालय गाउँपालिकाका केही वडा सदरमुकामभन्दा धेरै टाढा हुनुका साथै सडक सञ्जालसँग नजोडिएका कारण यहाँबाट मतपेटिका सदरमुकाम ल्याउन ढिला हुने देखिएको छ।
सडकको पहुँच नभएका ठाउँमा हेलिकप्टरमार्फत सदरमुकाम ल्याउनका लागि आग्रह गरिएको र मंगलबार दिउँसोसम्ममा सबै मतपेटिका सदरमुकाम ल्याइने जाजरकोट प्रहरी प्रमुख नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए। सडक सञ्जालसँग जोडिएका छेडागाड नगरपालिका, भेरी नगरपालिका, त्रिवेणी नलगाड नगरपालिकाबाट मतपेटिका सदरमुकाम ल्याउने काम जारी रहेको छ ।
गएराति अध्याँरो र चिसोका कारण मतपेटिका प्रहरी चौकीसम्म ल्याउने काम भएको र आज सदरमुकाम ल्याउने काम हुने जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले बताए।
बेलुका ८ः०० बजेदेखि बिहान ८ः०० बजेसम्म यहाँका गाउँमा रहेका टेलिफोन टावरले काम नगर्ने भएका कारण सूचना संकलन गर्न समस्या हुने गरेको छ। नेपाल प्रहरीको सेटले पनि रातिको समयमा काम नगर्दा जाजरकोटको दुर्गम गाउँमा सूचना छिटोछरितो तरिकाले दिन निकै चुनौती भएको पाइएको छ। जाजरकोटमा ७२.२२ प्रतिशत भोट खसेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए।
यहाँका पूर्व तथा पश्चिमका अधिकांश ठाउँमा चिसोका कारण मतदाता मतदान केन्द्रसम्म आएर मतदान गर्न ढिला गरेका थिए। स्थानीय तहमा भएको चुनावभन्दा यसपटकको चुनावमा मतदातामा उत्साह कम देखिएको पाइएको छ।
आइतबार रातिसम्म १४ स्थलको मात्र मतपेटिका सदरमुकाम आइपुगेको छ। वटा ११६ वटा मतदान केन्द्र र ८५ वटा स्थलमा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएको जाजरकोट प्रहरीले जनाएको छ।