नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको विचार व्यक्त गरेका छन्।
कांग्रेस दार्चुलाद्वारा जिल्ला सदरमुकाम खलंगामा शुक्रबार आयोजित चुनावी आमसभामा कांग्रेस सभापति देउवाले लोकतन्त्रमा नेपाली जनताले शान्तिको सास फेर्न पाइरहेको तर कम्युनिष्टको एकताले देशलाई अधिनायकवादतर्फ लैजाने खतरा बढेको बताए। ‘कम्युनिष्टले घुमाइफिराइ एकता गरेर जनतालाई धम्काउने, डराउने र त्रासमा राख्ने कोसिस गरिरहेका छन्’ प्रधानमन्त्री देउवाले भने।’
विसं २००७ मा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गरेको कांग्रेसले नेपाली जनतालाई यो देशको मालिक बनाएको बताउँदै उनले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नेपालको प्रजातान्त्रिक भविष्यका निम्ति अति महत्वपूर्ण खुट्किला भएको स्पष्ट पारे।
दार्चुलाको विकासका लागि कांग्रेस सदैव तयार छ भन्दै सभापति देउवाले चुनावलगत्तै व्यास, अपि हिमाल, मार्मा र लेकम गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राखेर स्थानीय तहलाई सहुलियत दिइने आश्वासन दिए।
प्रधानमन्त्रीले कञ्चनपुरको ब्रहमदेवदेखि दार्चुलाको तिंकरसम्म जोड्ने २९० किमीको महाकाली करिडोरलाई दुई वर्षभित्र पूरा गरिने र भारतसँग सिमानाका जोडिएको जिल्ला सदरमुकाम र जौलजीवीमा पक्की पुल बनाइने प्रतिबद्धता जनाए।
सोही सभामा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले जिल्लाका नौ स्थानीय तहमध्ये पाँच तहमा पार्टीले जित हासिल गरेकाले जिल्लामा कांग्रेसको जित सुनिश्चित भइसकेको जिकिर गरे। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विक्रमसिंह धामीले जिल्लाको समग्र विकास कांग्रेस जित्दा मात्रै हुने बताए।
यस्तै प्रदेशसभा क्षेत्र नं कमा सदस्यका उम्मेदवार मदन गिरीले महाकाली करिडोर पूरा गर्ने आफ्नो मुख्य प्रतिबद्धता रहेको बताए। प्रदेशसभा समानुपातिक उम्मेदवार नन्दा बमले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउन आह्वान गरे।