नयाँ शक्तिसँग चुनावी तालमेल गरेको नेपाली कांग्रेसका नेताहरू बाबुराम भट्टराईका लागि भोट माग्न गोरखा जाने भएका छन्।
शनिबार गोरखाको पालुङटारमा कांग्रेस र नयाँ शक्तिले संयुक्त चुनावी सभा गर्दैछन्।
सो सभालाई सम्बोधन गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पालुङटार जाने भएका छन्। उनीसँग केन्द्रीय सदस्य प्रदीप पौडेल पनि पालुङटार जान लागेका छन्।
काठमाडौं ४ बाट उम्मेदवार बनेका अर्का नेता गगन थापा पनि बाबुरामको क्षेत्रमा भोट माग्न जाने भएका छन्। उनी मंसिर ५ गते गोरखा जान लागेका छन्।
उनले गोरखा १ का कांग्रेस उम्मेदवार चिनकाजी श्रेष्ठ र २ का उम्मेदवार भट्टराईका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। गोरखा २ मा कांग्रेसले भट्टराईलाई सघाएको छ भने १ मा नयाँशक्तिले श्रेष्ठलाई समर्थन गरेको छ।
गोरखापछि थापा भोजपुर र नुवाकोटमा कांग्रेस उम्मेदवारका पक्षमा भोट माग्न जाने तय भएको छ।