प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बैतडी आउने भएका छन्। नेपाली कांग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक गठबन्धनले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा आज एकैदिन तीन ठाउँमा चुनावी सभाको आयोजना गरेको छ।
दिउँसो १ बजे पुरचौडी हाटमा, दिउँसो २ बजे पाटनमा र दिउँसो ३ बजे मेलौलीमा आयोजना हुने सभालाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले सम्बोधन गर्ने कार्यक्रम रहेको नेका जिल्ला सचिव वीरबहादुर बिष्टले जानकारी दिए। लोकतान्त्रिक गठबन्धनको औचित्यका बारेमा नागरिकलाई जानकारी गराउन पार्टी सभापति एवं प्रधानमन्त्री आफैँ आउन लागेका सचिव बिष्टले जानकारी दिए।
यस्तै, प्रधानमन्त्री देउवाले आज नै दार्चुलाको खलंगा र दिउँसो १२ बजे लटिनाथमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस, दार्चुलाले जनाएको छ । प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्ने भएपछि बैतडी र दार्चुलाको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रधानमन्त्रीको सुरक्षाको सुरक्षा व्यवस्था चुस्त–दुरुस्त पारिएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।
यसैगरी, वाम गठबन्धनले पनि चुनावनजिक आएसँगै केन्द्रीय नेताको उपस्थितिमा चुनावी सभा गर्ने जनाएको छ। आज बैतडीको देहीमाडौंमा वाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई पूर्वमन्त्री एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य कर्णबहादुर थापाले सम्बोधन गर्ने एमाले बैतडीका सचिव लीलाधर भट्टले जानकारी दिए।
साना दलहरूले घरदैलोमार्फत चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । आफूले घरदैलोमार्फत चुनावी अभियान जारी राखेको विवेकशील साझा पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणदत्त अवस्थीले जानकारी दिए।