आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रतिस्पर्धाका लागि खेलकुद पदाधिकारी, ओलम्पियन र खेलाडीसम्मका व्यक्तित्वले उम्मेदवारी दिएका छन्।
खेलकुद क्षेत्रबाट प्रतिनिधिसभाको चुनावमा उठ्ने मध्येका एक हुन्, युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसी । उनी काठमाडौं क्षेत्र नं १० बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार हुन्।
विसं २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराएको सन्दर्भले निकै चर्चा बटुलेको थियो। अहिले केसीको प्रतिस्पर्धी वाम गठबन्धनबाट माओवादी केन्द्रका हितमान शाक्य छन्।
‘राष्ट्र निर्माण र खेलकुद क्षेत्रको विकासका लागि सदैव समर्पित भएर लाग्छु,’ उनले भने।
त्यस्तै, नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नं ८ मा प्रतिनिधिसभाको उम्मेदवार हुन्। विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका श्रेष्ठले पार्टीभित्र वडा, नगर, इलाका, जिल्ला र उपत्यका कमिटीको नेतृत्व सम्हाल्नुका साथै विसं २०५३ र २०६३ गरी दुईपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवमा नियुक्त भएका थिए।
उक्त क्षेत्रमा उनको मुख्य प्रतिस्पर्धी कांग्रेस नेता नवीन्द्रराज जोशी छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कोषाध्यक्ष सुरेन्द्र हमाल कांग्रेसको तर्फबाट बाँके क्षेत्र नं २ को प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका छन्। विसं २०३५ देखि विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरू गरेका हमाल विसं २०४९ को स्थानीय निर्वाचनमा नेपालगन्ज नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भएका थिए। सन् १९८४ मा अमेरिकाको लसएन्जल्समा सम्पन्न ओलम्पिकको २३औँ संस्करणमा हमालले नेपालका तर्फबाट सहभागिता जनाएका थिए।
त्यसैगरी, सन् १९८३ मा सिरियामा भएको एशियन भारोत्तोलन च्याम्पियनसिपमा उनले नेपाललाई काँस्य पदक दिलाए। हमालले दक्षिण एशियाली खेलकुद (साग)को पहिलो र दोस्रो संस्करणमा रजतपदकसमेत हात पारका थिए।
‘खेल क्षेत्र बुझेको व्यक्तिले नै खेल र खेलाडीका लागि केही गर्न सक्छ भन्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ,’ उनले भने।
हमालले मुलुकलाई चिनाउने सबैभन्दा उपयुक्त माध्यम खेलकुद भएकाले पनि यसको स्तरोन्नतिमा आफू सदैव लागिरहने प्रतिबद्वता व्यक्त गरे। हमालको चुनावी प्रतिस्पर्धी एमालेका विजयकुमार गुप्ता, संघीय फोरमका दुर्गेसकुमार वैश्य र राष्ट्रिय जनता पार्टीका कैलाशकुमार मिश्र छन्।
कांग्रेसले काठमाडौं क्षेत्र नं ९ प्रदेशसभा (क) बाट अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरलाई उम्मेदवार बनाएको छ। तुलाधर सबैभन्दा पुरानो क्लब ‘ए’ डिभिजनमा रहेको संकटा क्लबको अध्यक्षका साथै तेक्वान्दो खेलको प्रशिक्षकसमेत छन्। तुलाधरले खेलकुदको विकासमा आफ्नो ध्यान केन्द्रीत रहने बताए।
उनले खेलकै कारणले आफू राजनीतिमा लागेको भन्दै भौतिक पूर्वधारको कमी रहेकाले यसको निर्माणतर्फ विशेष ध्यान दिने बताए। तुलाधरको मुख्य प्रतिस्पर्धा वाम गठबन्धनका उम्मेदवार अजयक्रान्ति शाक्यसँग हुने अनुमान गरिएको छ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)का पूर्वसदस्यसचिव केशव स्थापित वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नं ६ प्रदेशसभा (क) को उम्मेदवार हुन्। स्थापित विसं २०५१ मा राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवसमेत भइसकेका छन्। उनी काठमाडौं महानगरपालिकाको पूर्वप्रमुख पनि हुन्।
‘राष्ट्र निर्माणका साथै खेल क्षेत्रको विकास गर्ने ठूलो सपना छ,’ उनले भने।
नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष टंक आङबुहाङ ताप्लेजुङ प्रदेशसभा ‘ख’बाट वाम गठबन्धनको उम्मेदवार बनेका छन्। उनी यसअघि सम्पन्न दुवै संविधानसभा चुनावमा ताप्लेजुङबाट पराजित भएका थिए ।
त्यसैगरी, एन्फाका पूर्वमहासचिव कुमारजंग थापा कांग्रेसबाट सुनसरी क्षेत्र नं ३ को प्रदेशसभा (क) बाट उम्मेदवार हुन् भने एन्फाकै केन्द्रीय सदस्य महमद समिउल्लाह बारा क्षेत्र नं ३ प्रदेशसभा (ख) मा एमालेको उम्मेदवार हुन्।
यस्तै, एन्फा उपाध्यक्ष किशोर राई सुनसरी क्षेत्र नं १ प्रदेशसभा (क) बाट कांग्रेसका तर्फबाट चुनावी मैदानमा छन्।
कांग्रेसले ललितपुर क्षेत्र नं १ प्रदेशसभा (ख)बाट कराँतेका मीनकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ भने नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह कांग्रेसको तर्फबाट जाजरकोटमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन्। उनको प्रतिस्पर्धी माओवादी केन्द्रका नेता शक्ति बस्नेत छन् ।
यस्तै, नेपाल भलिबल संघका पूर्वकोषाध्यक्ष बुद्धि कटुवाल सुनसरी क्षेत्र नं १ प्रदेशसभा (ख)बाट कांग्रेसको उम्मेदवार हुन्। नेपाल क्रिकेट संघ (क्यान)का पूर्व कार्यवाहक अध्यक्ष दीपक कोइराला वाम गठबन्धनका तर्फबाट कास्की क्षेत्र नं १ मा प्रदेशसभा (क) मा उम्मेदवार हुन्।