उद्योगमन्त्री एवम् संयुक्त लोकतान्त्रिक गठबन्धनका धनकुटा क्षेत्र नम्बर १ का प्रतिनिध सभाका संयुक्त उम्मेदवार तथा राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापाले प्रदेश नम्बर १ को राजधानी धनकुटालाई नै बनाउने दाबी गरेका छन्।
बिहिबार धनकुटामा आयोजित चुनावी विशेष साक्षात्कारमा बोल्दै उनले सो कुराको दाबी गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘धनकुटा सबै कारणले प्रदेश नम्बर १ को राजधानी बन्न योग्य छ, भौगोलिक, जातीय, भाषिक, लैंगिक रुपमा पनि धनकुटा सम्पन्न छ।’
मन्त्री थापाले धनकुटा पूर्वाधार, भौगोलिक सुगमता र पहिलेको क्षेत्रीय कार्यालय भएको हिसाबले पनि प्रदेश नम्बर एकको राजधानी हुने जिकिर गरेका छन्।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले धनकुटालाई प्रदेशको राजधानी नबनाउनको लागि वाम गठबन्धनका उम्मेदवारहरूले यसअघि नै घातक निर्णय गरिसकेकोले अब धनकुटालाई राजधानी लोकतान्त्रिक गठबन्धनले मात्रै बनाउन सक्ने जिकिर गरे।
उनले भने,‘एमाले र माओवादी केन्द्रका साथीहरूले धनकुटालाई राजधानी बनाउन हुँदैन भनेर लागिपरिरहेको हामीले थाहा पाएका छौं, तर म भन्छु, धनकुटालाई नै प्रदेशको राजधानी बनाउँछौं, अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाजीसँग हामी डेलिगेशन जाँदापनि उहाँहरूले हुन्छ भन्नुभएको छ, उहाँले त डडेलधुरा हुन्छ भने धनकुटा किन नहुनु भन्नुभएको छ, प्रधानमन्त्रीको कुरा कसरी अविश्वास गर्ने ? त्यसैले हामी त पूर्ण विश्वस्त छौं ।’
धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउने, एयरपोर्ट बनाउने, कृषिको हब बनाउने, पर्यटनको विकास गर्ने, जलविद्युत आयोजना निर्माण गर्ने लगायतका महत्वकांक्षी एजेण्डाहरू उनले अघि सारेका छन् ।
थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तो वाम गठबन्धनको बहुमत नआउने दाबी गर्दै कसको बहुमत आउँछ भन्ने कुरा मंसिरको अन्तिमसम्म कुर्न आग्रह गरे । उनले भने, ‘संयुक्त लोकतान्त्रिक गठबन्धनको बहुमत आउँछ, हेर्दै जानुहोला हामी सरकार बनाउँछौं।’
विश्वमै कम्युनिष्ट शासन स्खलित हुँदै गएकोले नेपाली जनताले नेपालमा कम्युनिष्ट शासन नरुचाएको उनको दाबी थियो । उनले भने, ‘अहिले जनता प्रजातन्त्रमा विश्वास गर्छन्, पिजंडामा थुनिएको सुँगाजस्तो हुन चाहँदैनन्, त्यसैले म भन्छु वाम गठबन्धनको दुई तिहाई वा बहुमतको कुरा चुनावपछि कता जान्छ कता ?’ उनले एमाले र माओवादी केन्द्रबीचको एकता प्रयास र गठबन्धनबाट आफूहरू रत्तिपनि नआँत्तिएको, नमाँत्तिएको र नपात्तिएको जिकिर गरे । उनले धनकुटामा वाम गठबन्धनले बाजी मार्ला तर आफूहरूले चाहीँ जित्ने सुनिश्चित भैसकेको दाबी गरे।
त्यस्तै, प्रदेश ‘क’ को उम्मेदवार एवम् नेपाली कांग्रेसका नेता मनोहर नारायण श्रेष्ठले पनि संविधान कार्यान्वयन, स्थिर सरकार र प्रजातन्त्रलाई बलियो बनाउनकोलागि कांग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनलेमात्रै गर्न सक्ने भएकोले अबको निर्वाचनमा जनताले यही गठबन्धनलाई विजयी बनाउने विश्वास दिलाए । उनले पनि धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउनेबारे सरकारले छिट्टै निर्णय लिने भन्दै यहाँको जनताले लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक बुहमतले विजयी गराउने बताए ।
कार्यक्रममा लोकतान्त्रिक गठबन्धनबाट प्रदेश ‘ख’ को उम्मेदवार बनेका फोरम नेता अर्जुनबहादुर थापाले पनि धनकुटा पहाडी जिल्ला भएपनि भौगोलिक हिसाबले सुगम जिल्ला भएको र यसअघि नै क्षेत्रीय कार्यालयको रुपमा स्थापित भएकोले पनि प्रदेश नम्बर १ को राजधानी बनाउनुपर्ने बताए।