राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र महतोले विमलेन्द्र निधिलाई जनकपुरका जनताले यसपटक चुनाव हराएर ठूलो ‘सबक’ सिकाउने दाबी गरेका छन्।
बुधबार धनुषाको जनकपुरमा आयोजित एक कार्यक्रममा नेता महतोले अहिलेको निर्वाचनलाई आफूहरूले निर्वाचनरुपी आन्दोलन कै रुपमा उपयोग गरिरहेको बताउँदै भने,‘जनताको मत आन्दोलनको पक्षमा आउनुपर्छ, हुनुपर्छ। आन्दोलनमा सहभागिता भएका सम्पूर्ण जनताहरूले मधेश आन्दोलनको विरुद्धमा लाग्ने, दमन गर्ने, मधेशी जनताको छातीमाथि गोली बर्साउनेहरूलाई हराएर पठाउनुपर्छ।’
साक्षात्कारमा बोल्दै नेता महतोले विगतमा भएका मधेश आन्दोलनका विरुद्धमा सरकारी पक्षले बुलेटको प्रयोग गरेर जनताको अधिकार खोसेको भएपनि अहिले जनताले बुलेटभन्दा पनि तागदकारी हतियार ब्यालेट पाएकोले अब त्यसको जवाफ दिने बेला आएको स्पष्ट पारे ।
उनले भने,‘अब ब्यालेटको उपयोग जनताले गर्नेछन् । सरकारी शक्तिशाली हतियारभन्दा बलियो हतियार हामीसँग छ, हिजोको मधेश आन्दोलनका क्रममा सप्तरीको मलेठमा ६ जना मधेशी दाजुभाईहरूको हत्या भयो, अब त्यसको पनि हिसाबकिताब जनताले दिन्छन्।
मधेशी जनताको विरुद्धमा संविधान जारी भयो, यो हामीलाई कहिल्यै स्वीकार्य छैन, यो संविधानको पक्षमा आफूले पनि हस्ताक्षर गरेर अरु मधेशीलाई पनि बाध्य बनाउने कांग्रेसका शीर्ष मधेशी नेता यहीँ जनकपुरका हुन्।’
मधेश आन्दोलनका क्रममा राज्यले मधेशीहरूको हत्या गरेकोले अब सरकारमा बसेर गोली चलाउने, दमन गर्नेहरूलाई अब जनताले राम्रोसँग हिसाबकिताब चुक्ता गराउने उनको भनाई थियो। महतोले अघि थपे,‘जबसम्म समग्र मधेशको विकास हुँदैन, मधेशमा कुनै न कुनै आन्दोलन भैरहन्छ । ब्यालेट जनताको हातमा छ। मधेश आन्दोलनलाई समाप्त पार्नेको विरुद्धमा अब मत हालेर देखाउने बेला आएको छ। उनीहरूलाई चुनावबाटै हराएपछिमात्रै सिंगो मधेशी जनताले सफलता पाउनेछन्।’