दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि उम्मेदवारी दर्ता भएसँगै अहिले पर्साको नगर र गाउँगाउँमा चुनावी गतिविधि तीव्र बनेको छ । विशेष गरी अहिले पर्साको सर्वाधिक चर्चाको विषय बनेको छ क्षेत्र नं १।
जिल्ला सदरमुकाम वीरगञ्जसहितको महत्वपूर्ण क्षेत्र समेटिएको यो निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसबाट अनिल रुगंटा र संघीय समादवादी फोरम नेपालबाट पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव उम्मेदवार बनेका छन्।
मधेश आन्दोलनको केन्द्रबिन्दु र आर्थिक नगरीका रुपमा रहेको पर्साको क्षेत्र नं १ मा प्रभावशाली रहेका रुगंटा र यादव आमनेसामने भएपछि यहाँका मतदाता मात्र नभई मधेशका अन्य जिल्लाका मतदातासमेतमा को जित्ने होला? भन्ने चासो बढ्न थालेको छ।
यो क्षेत्रमा वाम गठबन्धनबाट विचारी यादव उम्मेदवार बनेका छन् । उनको उम्मेदवारीले पनि यहाँको चुनावी प्रतिस्पर्धालाई रोमाञ्चक बनाइदिएको छ।
संघीय समाजवादी फोरमका विजय सरावगीले वीरगञ्ज महानगरपालिकाको प्रमुख पद जितेकाले क्षेत्र नं १ मा यादवको स्थिति राम्रो रहेको ‘लख’ मतदाताले काटेका छन्। कांग्रेस उम्मेदवार रुगंटा माडवाडी समुदायका हुन् र उनले जातिगत रुपमै पनि राम्रै भोट पाउने अर्काथरिको विश्लेषण छ।
दुवै उम्मेदवारले समृद्ध वीरगञ्जको नारा दिँदै आएका छन् । क्षेत्र नं १ मा ६७ हजार ४०५ मतदाता रहेका छन् ।