नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानालाई भक्तपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाए पछि सो क्षेत्र अहिले चर्चामा रहेको छ।
भक्तपुरवासीले उनको मनोनयनलाई जिल्लाको प्रतिष्ठाका रुपमा लिएका छन्। प्रतिनिधिसभाका पूर्व सदस्य रामेश्वर ढुंगेल, लेखनाथ न्यौपाने, कांग्रेसका पार्टी जिल्ला सभापति दुर्लभ थापा, पूर्वनगरप्रमुख मदन कृष्ण श्रेष्ठले उनको उम्मेदवारीबाट भक्तपुर जिल्लाको प्रतिष्ठा बढेको बताए।
ढुंगानाले मनोनयनपश्चात् कांग्रेसका पुराना नेता एवं कार्यकर्तासँग भेटघाट गर्न थालेका छन्। उनी आफू भक्तपुरवासी भएको दाबी गर्छन्।
सरकार माओवादीबीचको पहिलो वार्तामा महत्वपूर्ण भूमिका निर्वाह गरेका कांग्रेस नेता ढुंगानासँग सो क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ। मानवअधिकार क्षेत्रमा समेत परिचित नेता ढुंगानाले मनोनयन गरेपछि अन्तर्राष्ट्रिय छविसमेत बनाइसकेको राष्ट्रिय व्यक्तित्वलाई उम्मेदवार पाउनु भक्तपुरवासीले गौरवको विषय बनाएका छन्।
प्रजातन्त्रमा पूर्ण विश्वास राख्ने नेता ढुंगानाले स्थानीय समाजसेवी, पुराना कार्यकर्तासँगको भेटपश्चात् आयोजित छलफलमा आफू विधिको शासनमा विश्वास राख्ने बताए।
उनले नेतालाई झूठो नबोल्न र जनतालाई झूठो आश्वासन नदिनसमेत आग्रह गरे। पहिलो प्रतिनिधिसभा निर्वाचन २०४८ मा काठमाडौंबाट निर्वाचित भई सभामुख रहेका ढुंगानाले २०५१ को निर्वाचनमा पराजय व्यहोर्नुपरेको थियो ।
भक्तपुर २ नं क्षेत्रमा ढुंगानाले वामगठबन्धनका उम्मेदवार महेश बस्नेतसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। बस्नेत पूर्वउद्योगमन्त्री हुन् । नेपाली कांग्रेसले सो क्षेत्रको प्रदेशसभा निर्वाचनमा युवा नेताद्वय प्रदेश सभामा १ मा अंगत खड्का र २ मा गणेशमान चक्रधरलाई मनोनयन गरेको छ।
त्यसैगरी एमालेले प्रदेश सभामा १ मा शशिजंग थापा र २ मा राजेन्द्रमान श्रेष्ठलाई मनोनयन गरेको छ भने नेपाल मजदूर किसान पार्टीले प्रतिनिधिसभा सदस्यमा प्रेम सुवाललाई र प्रदेशसभा सदस्य १ मा सरोजराज गोसाईं र २ मा प्रेमजन थापालाई मनोनयन गरेको छ ।