सरकारी कार्यालयको सरकारी नं प्लेटका विभिन्न नगरपालिका र जिल्ला समन्वय समितिको कार्यालयको सवारी विभिन्न पार्टीका कार्यकर्ता ओसार्न र मनोनयन दर्ताका लागि पार्टीको काममा प्रयोग भएको पाइएको हो । यहाँ आधा दर्जनभन्दा बढी सवारीसाधन दलको प्रचार र सभामा तथा मनोनयन दर्तामा प्रयोग भएको स्थानीयवासीले बताएका छन् । यहाँ स्थानीय तहसँगै मन्त्रीको सुरक्षाका नाममा विभिन्न ठाउँमा सरकारी गाडी प्रयोग भएको हो ।
जिल्लाबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायत मन्त्री र राज्यमन्त्री तथा पूर्व मन्त्रीसमेतले सरकारी सवारी साधन प्रयोग गरेका हुन् । उम्मेदवारीका लागि सरकारी सवारी साधन प्रयोग गरेकामा स्थानीयवासीले विरोध जनाएका छन् । यता निर्वाचन आयोगले समेत अनुगमन नगर्दा सरकारी सवारी साधनको दुरुपयोग भएको हो ।
पढाइ प्रभावित
इनरुवा–१ स्थित भगवती माविमा मनोनयन दर्ताको बेला बालबालिकाले पढ्न नपाएको गुनासो गरेका छन्। विद्यालयमा निर्वाचन आयोगले मनोनयन दर्ताको कार्यक्रम राखेकाले त्यहाँ आज पठनपाठन हुन नसकेको हो ।
विद्यालय र बालबालिका शान्ति क्षेत्र भएको घोषणा गरिए पनि निर्वाचनमा बालबालिकाको मौलिक अधिकार हनन हुने गरी विद्यालयको प्रयोग गरेको प्रति विद्यार्थी तथा अविभावकले आपत्ति जनाएका छन्। बिनासूचना विद्यालय बन्द गराइएकाले बालबालिका त्रसित हुँदै घर फर्केका छन्। विद्यालयले आफ्नो नियमित कक्षा सञ्चालन गर्नुपर्नेमा शिक्षक प्रधानाध्यापक समेत पार्टीको प्रचारमा हिँडेकाले पढाइ प्रभावित भएको विद्यार्थीको गुनासो छ।