आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि रुपन्देहीमा अहिले मनोनयन दर्ता भइरहेको छ।
बिहान १० बजेदेखि मनोनयन दर्ता भइरहेको मुख्य निर्वाचन अधिकृत नरीश्वर भण्डारीले जानकारी गराएका छन् । बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म दलहरूलाई छुट्टाछुट्टै समयमा मनोनयन दर्ताका लागि समय तोकिएको हो।
राजनीतिक दलहरूसँग भएको छलफलका आधारमा दलहरूलाई मनोनयन दर्ताको समय तोकिएको मुख्य निर्वाचन अधिकृत भण्डारीले बताए । विगतमा सदरमुकाममै मुख्य निर्वाचन कार्यालय स्थापना गरी मनोनयन दर्ता गरिँदै आएपनि यसपटक भने सदरमुकाम नजिकै रहेको मायादेवी गाउँपालिकामा पर्ने शैक्षिक तालिम केन्द्रमा मुख्य निर्वाचन कार्यालय स्थापना गरी मनोनयन दर्ताको व्यवस्था मिलाइएको छ।
रुपन्देहीमा पूर्वमन्त्री तथा एमाले उपमहासचिव विष्णु पौडेल, अर्का उपमहासचिव घनश्याम भुसाल, पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला, स्वास्थ्य मन्त्री दीपक बोहोरा, खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक, पूर्वमन्त्री ओमप्रकाश यादव गुल्जारी र पूर्वमन्त्री भरतकुमार शाह लगायतका केन्द्रीयस्तरका नेताहरू चुनावी मैदानमा छन् ।
रुपन्देहीका प्रभावशाली नेता बालकृष्ण खाँण भने प्रत्यक्ष निर्वाचनको प्रक्रियाबाट बाहिरिएका छन्। रुपन्देहीमा प्रतिनिधि सभाका लागि ५ र प्रदेश सभाका लागि १० निर्वाचन क्षेत्र छन् । निर्वाचनको लागि वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनका बीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । जसअन्तरगत वाम गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं. १ मा छबिलाल बिश्वकर्मा, क्षेत्र नं. २ मा विष्णु पौडेल, क्षेत्र नं. ३ मा घनश्याम भुसाल, क्षेत्र नं. ४ मा ओमप्रकाश गुल्जारी र क्षेत्र नं. ५ मा डिलाराम आचार्यले मनोनयन दर्ता गराउँदै छन् ।
लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं. १ मा अब्दुल रज्जाक, क्षेत्र नं. २ मा युवराज गिरी, क्षेत्र नं. ३ मा दीपक बोहोरा, क्षेत्र नं. ४ मा प्रमोद यादव र क्षेत्र नंं ५ मा भरत शाह रहेका छन् । उता प्रदेशसभा अन्तर्गत वाम गठबन्धनबाट क्षेत्र नं. १ को १ मा डा. कृष्ण न्यौपाने २ मा माधव (दयाराम न्यौपाने )शर्मा, क्षेत्र नं. २ को १ मा लिला गिरी, २ मा भोज प्रसाद श्रेष्ठ, क्षेत्र नंं ३ को १ मा विश्वास (अनुप ) बराल २ मा तुलसी चौधरी, क्षेत्र नं. ४ को १ मा पल्लवी शुक्ला २ मा सहबुद्धिन देवान र क्षेत्र नंं ५ को १ मा भुमिश्वर ढकाल रहेका छन् ।
प्रदेशसभा अन्तर्गत लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं. १ को १ मा ताहिर अलि २ मा हरि न्यौपाने, क्षेत्र नं. २ को १ मा काजिमान श्रेष्ठ २ मा महेशमान सिंह, क्षेत्र नं. ३ को १ मा देवी चौधरी २ मा रामचन्द्र ढकाल, क्षेत्र नं. ४ को १ मा अष्ठभुजा पाठक २ मा बसिउद्धिन खान र क्षेत्र नं. ५ को १ मा बिष्णु पोखरेल रहेका छन् ।
रुपन्देही जिल्लामा कुल ५ लाख २२ हजार ६ सय २ जना मतदाता रहेका छन् भने २ सय ८ मतदान स्थलमा ५ सय ९८ मतदान केन्द्र तोकिएको छ ।