नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने कुनै पनि खालका गतिविधि नगर्न सरकारलाई चेतावनी दिएका छन्।
अध्यक्ष ओलीले वाम गठबन्धन लोकतान्त्रिक प्रक्रिया भएको तर्क गर्दै त्यसबाट नआत्तिन पनि नेपाली काँग्रेसलाई सचेत गराए। लोकतन्त्रको मसिहा ठान्ने काँग्रेसले लोकतान्त्रिक प्रक्रिया अन्तरगत वाम गठबन्धन बन्दा आत्तिन नपर्ने उनको भनाई छ।
बुधबार जनमोर्चा, नेपाल र जागरण परिषदका सम्पूर्ण नेता, कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले लोकतन्त्रलाई सुदृढ बनाउँदै मुलुकलाई समृद्ध बनाउन वाम गठबन्धन गर्नु परेको पनि पटक–पटक दोहोर्याए।
अध्यक्ष ओलीले नेकपा एमालेले देश र जनताको हितप्रति समर्पित भएर वाम दलहरूलाई एकताबद्ध बनाउने अभियानको नेतृत्व लिएको दाबी गरे। उनले कुनै निजी वा वैयक्तिक स्वार्थ लेनदेनको आधारमा वाम गठबन्धन नबनेको स्पष्ट पारे।
अध्यक्ष ओलीले पार्टीमा विलय भएको जनमोर्चा, नेपाल र जागरण परिषदका नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिने आश्वासन दिए।