झापामा मनोनयन दर्तालाई सहज र सरल बनाउन सरोकारवालासँग लिखित सम्झौता गरिएको छ ।
राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल गरी मनोनयन दर्तालाई सहज बनाउन तीनबुँदे लिखित सम्झौता गरिएको निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए।
उनका अनुसार निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने, मनोनयन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आ–आफ्नो तर्फबाट प्रयास गर्नेलगायतका सम्झौता भएको छ।
त्यस्तै भोलि (कात्तिक १६ गते) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने मनोनयन दर्ताका लागि समय र कोणसभा गर्ने स्थानसमेत तोकिएको उनले बताए।
राप्रपालगायतको गठबन्धनले बिहान १० देखि ११ बजेसम्म र कोणसभा गर्ने स्थान मेची रंगशाला, राजपासहितको गठबन्धनले बिहान ११ देखि १२ः३० बजेसम्म र कोणसभा गर्ने स्थान खाद्य गोदामको मैदानमा तोकिएको छ।
त्यस्तै, नेपाली काँग्रेससहितको गठबन्धनले दिउँसो साढे १२ बजेदखि अपरान्ह २ बजेसम्म र कोणसभा एसपी मोड अगाडि, एमाले–माओवादीसहितको गठबन्धनले २ देखि ४ बजेसम्म र कोणसभाका लागि वीरेन्द्र उच्च मावि पछाडिको खुल्ला मैदानमा र साना दल तथा स्वतन्त्रले समय अनुकूल मिलाएर गर्ने र कोणसभा भने नेपाल विद्युत् प्राधिकरण अगाडिको तोकिएको निर्वाचन अधिकृत आचार्यले बताए।
मनोनयनपत्र दर्ताका लागि झापाको भद्रपुरमा मुख्य निर्वाचन कार्यालयसहित पाँचवटा निर्वाचन कार्यालय स्थापना भइसकेको छ।
जिल्ला समन्वय समितिको कार्यालयमा झापा क्षेत्र १ र ३ को कार्यालय स्थापना गरिएको छ। झापा क्षेत्र नम्बर २ को जिल्ला शिक्षा कार्यालय, क्षेत्र नम्बर ४ को जिल्ला स्काउट कार्यालय र क्षेत्र नम्बर ५ को जिल्ला हुलाक कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको छ।
आयोगले झापा क्षेत्र नम्बर ३ मा मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश खिलानाथ रेग्मी, क्षेत्र नं १ मा निर्वाचन अधिकृततर्फ सर्वोच्च अदालत काठमाडौंका इजलास अधिकृत शिवप्रसाद पराजुली, क्षेत्र नं २ मा सर्वोच्चका उपरजिष्ट्रार इन्दिरा शर्मा, क्षेत्र नं ४ मा सर्वोच्चका इजलास अधिकृत प्रेम खड्का र क्षेत्र नं ५ मा इजलास अधिकृत शकुन्तला कार्कीलाई खटाइएको छ।
यता जिल्ला प्रहरी कार्यालय झापाले मनोनयन दर्तालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णुकुमार केसीले मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षाको व्यवस्था मजबुत बनाएको बताए।उनले भने, ‘आवश्यकताअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिनेछ।’