आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलहरू तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
प्रतिनिधि सभाको एक र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एमाले र माओवादी तथा नेपाली काँग्रेस र राप्रपाले तालमेल गरेपछि कडा चुनावी प्रतिस्पर्धा हुने भएको छ। प्रतिनिधि सभाका लागि एमाले माओवादीका साझा उम्मेदवार भूपेन्द्रबहादुर थापा र काँग्रेस राप्रपाको प्रजातान्त्रिक गठबन्धनको तर्फबाट काँग्रेसका खम्बिर गर्बुजा चुनावी मैदानमा उत्रेका छन्।
प्रदेश सभाको क्षेत्र नं १ मा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता विनोद केसी र प्रजातान्त्रिक गठबन्धनका राप्रपाका केन्द्रीय सदस्य भीमप्रसाद गौचन उम्मेदवार बनेका छन्। गौचन पञ्चायतकालमा चारपटक राज्यमन्त्री र एकपटक जिविस सभापति बनेका थिए।
प्रदेश सभाको क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमालेकी नरदेवी पुन र प्रजातान्त्रिक गठबन्धनबाट काँग्रेसका अमलाल फगामी चुनावी मैदानमा उत्रेका छन्। एमालेकी पुन पूर्व राज्यमन्त्री हुन्। तीन सिटका लागि १२ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा वाम र लोकतान्त्रिक गठबन्धनबीच हुने देखिएको छ। प्रतिनिधि सभामा वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका एमालेका वैकल्पिक केन्द्रीय सदस्य थापा जिविसको पूर्व उपसभापति हुन्।
नेपाली काँग्रेस म्याग्दीका सभापतिसमेत रहेका उम्मेदवार गर्बुजा विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नवराज शर्मासँग तीन हजार ४४६ मत अन्तरले पराजित भएका थिए। बेनी नगरपालिका–१ रत्नेचौरका थापा राष्ट्रिय राजनीतिमा पुग्न सफल जिल्लाका सीमित नेता मध्येमा पर्छन् भने रघुगंगा गाउँपालिका–४ दग्नामका गर्बुजा बेलायती सैनिकबाट अवकाश पाएपछि राजनीतिमा सक्रिय छन्।
गत वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा जिल्लामा रहेका ४५ वटा वडाका अध्यक्षका उम्मेदवारले पाएका मतलाई आधार बनाउँदा म्याग्दीमा वाम गठबन्धन प्रजातान्त्रिकभन्दा सात हजार मतले अगाडि छ। एमाले माओवादी आफ्नो जनमत सुरक्षित गराउन र काँग्रेस र राप्रपाका मतदातालाई आकर्षित गर्ने कसरतमा जुटेका छन् ।
स्थानीय तह निर्वाचनमा ७१ हजार ४६३ जना मतदाता रहेकामा आसन्न निर्वाचनका लागि चार हजार ७५ मतदाता थपिएर जिल्लाभर मतदाता संख्या ७५ हजार ५३८ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारले १६ हजार ९८२, राप्रपाले ६६०, एमालेले १८ हजार ९३८ र माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले पाँच हजार ७०७ मत ल्याएका थिए ।
बेनी नगरपालिकाको प्रमुख, रघुगंगा, अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र मालिका गाउँपालिकाको अध्यक्ष जितेको काँग्रेसले विगतको तुलनामा संगठन बलियो भएको र जनमत बढेकाले आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने उम्मेदवार गर्बुजाले बताए।
स्थानीय तह निर्वाचनमा काँग्रेससँग तालमेल गरेको माओवादीसँग यसपालि आफ्नो तालमेल र बलियो संगठन भएकाले चुनाव प्रचारलाई व्यवस्थित गरे वाम गठबन्धनको बिरासत जोगिने एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए।