नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी गठबन्धनभित्र झापाको क्षेत्र नम्बर ३ लाई लिएर अन्योलता उत्पन्न भएको छ।
काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आफू प्रत्यक्षतर्फ नै चुनाव लड्ने दोहोर्याएपछि राप्रपासँगको गठबन्धनमा अन्यौलता उत्पन्न भएको छ। नेपाली काँग्रेस पार्टी स्रोतका अनुसार यो विषयमा थप छलफल सुरू भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभामा पार्टीका महामन्त्री राजेन्द्र लिङदेनलाई प्रस्ताव गरेको छ। नेपाली काँग्रेसले यसअघि पार्टीका पूर्व महामन्त्री सिटौलालाई समानुपातिकमा सिफारिस गरेको थियो। तर सिटौलाले आफू प्रत्यक्षतर्फ नै चुनाव लड्ने दोहोर्याएपछि प्रजातान्त्रिक धारको गठबन्धनमा संकट पैदा भएको छ।
काँग्रेस नेता सिटौलाको पनि सोही क्षेत्रमा प्रत्यक्ष उम्मेदवार बन्ने अडान कायम रहेपछि सभापति शेरबहादुर देउवाले थप छलफल गर्ने जिम्मा मिनेन्द्र रिजाललाई दिएका छन्।
काँग्रेस नेता सिटौला यसअघि सम्पन्न निर्वाचनका विजयी प्रतिनिधि हुन् भने राप्रपा महामन्त्री लिङदेन सोही क्षेत्रका निकटतम प्रतिद्वन्द्वी हुन्।
काँग्रेसले राप्रपालाई झापाको ५ नम्बर क्षेत्रमा सघाउने गरी ३ नम्बर क्षेत्रलाई आफ्नो उम्मेदवारको पक्षमा सुरक्षित गर्ने प्रस्ताव गठबन्धनभित्र गर्ने पनि स्रोतले बताएको छ । तर सो क्षेत्रमा कसलाई पार्टीले उम्मेदवार बनाउँछ भन्ने बारेमा केही खुलेको छैन ।
उता, नेकपा एमालेले झापा ५ मा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार तय गरेको छ।
यस्तै, नेताहरू माधव नेपाल काठमाडौं २, झलनाथ खनाल इलाम १, सुवास चन्द्र नेम्वाङ्ग इलाम २ र एलपी साँवालाई झापाको क्षेत्र नम्बर ४ मा उम्मेदवार बनाउने निर्णय गरेको छ।