निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि छुट्टा छुट्टै मतपत्र छाप्ने भएको छ।
सर्वोच्च अदालतले निर्वाचन आयोगलाई छुट्टाछुट्टै मतपत्र छाप्न गत कात्तिक १ गते ध्यानाकर्षण गराएको थियो। तर, आयोगले कार्यदल नै गठन गरेर गराएको अध्ययनले प्राविधिक कठिनाई हुने प्रतिवेदन तयार गरेको थियो।
निर्वाचन आयोगले एउटै पानामा प्रतिनिधि सभाको माथि र प्रदेश सभाको तल हुनेगरि दुई छाप लगाउन एउटै मतपत्र छाप्ने तयारी गरेको थियो। तर राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले मतपत्र एउटै छाप्ने आयोगको तयारी विरुद्ध मानहानीको मुद्दा लिएर सर्वोच्च पुगेका थिए। शुक्लाको मुद्दामा गत कात्तिक ८ गते सर्वोच्चले तीन दिन भित्र मतपत्र छपाईको प्रगति विवरण बुझाउन आदेश जारी गरेको थियो।
यो पनि हेर्नुहोस्:
सिटौला समानुपातिकतर्फ लड्ने कि प्रत्यक्षतर्फ? टुंग्याउने जिम्मा रिजाललाईअदालतको आदेशपछि निर्वाचन आयोगको बैठकले दुई छुट्टा छुट्टै मतपत्र छाप्ने निर्णय लिएको हो। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सर्वोच्चको आदेशमा आयोग सकारात्मक रहेको छोटो प्रतिक्रिया दिए।
‘हामी अदालतको आदेशप्रति सकारात्मक छौँ’, उनले सेतोपाटीसँग भने। दुई मतपत्रको छपाईसँगै मतपत्र खसाल्ने बाकस, छाप लगाउने स्थान, मतदान अधिकृतहरूको व्यवस्था के हुने भन्ने विषयमा भने आयोगले केही खुलाएको छैन।
निर्वाचन आयोगको कार्यतालिका अनुसार कात्तिक १० गतेबाट आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई सुरू गर्नुपर्ने थियो। तर अन्यौलता कारण निर्वाचन आयोगले मतपत्र छपाई सुरू गरेको थिएन। यद्यपी आयोगले कार्यतालिका अनुसार मतपत्र छपाई सुरू भइसकेको जानकारी मिडियालाई गराएको थियो।