नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले निर्वाचन अपरिहार्य भएको बताएका छन्। अदालती प्रक्रियाले केही आशंका उब्जिए पनि चुनावको मिति कुनै पनि हालतमा सार्न नहुने उनले बताएका छन्।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने, ‘मतपत्र दुईवटा आवश्यक परे पनि निर्वाचन आयोग सक्षम छ। चुनाव गराउन सक्छ।’
उनले निर्वाचनको मिति जसले सार्छ उसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका छन्। अदृश्य शक्तिले चुनाव सार्ने प्रयास गरेको आशंका गर्दै पाण्डेले त्यस्ता प्रयास सफल नहुने बताए।
‘जनताले चाहेको चुनाव कसैले रोकेर पनि रोकिँदैन।’ पाण्डेले स्पष्ट पारे।
राष्ट्रको आवश्यकता अनुसार वाम गठबन्धन गरिएको भन्दै पाण्डेले वाम तालमेलले एमाले र माओवादीलाई दुई तिहाई बहुमत प्राप्त हुने दाबी गरे। उनले साम्यवाद र एकतन्त्रीय शासन लाद्न खोजेको भन्ने आरोपको खण्डन गरेका छन्। अस्थिर सरकारको विकल्पका लागि दुई दल एक भएको भन्दै पाण्डेले अनावश्यक भ्रम छर्ने काम नगर्न आग्रह पनि गरे।
एमालेलाई मधेस विरोधी र संविधान संशोधन विरोधीको रूपमा आरोप लगाइएकोप्रति असन्तुष्टी जनाउँदै पाण्डेले एमाले मधेशी जनताको हितका लागि जे पनि गर्न तयार रहेको बताए। केपी ओली नेतृत्वको सरकारले मधेशमैत्री बजेट ल्याएको उदाहरण दिँदै पाण्डेले राजपाले भनेजस्तो गरी संविधान संशोधन गर्न भने नसकिने स्पष्ट पारे ।
उनले मंसिर अन्तिम साता वाम गठबन्धनले बहुमतको सरकार बनाउने दाबी गरे।