सिँचाईमन्त्री सञ्जय गौतमले तोकिएकै मितिमा चुनाव गराउन सरकार प्रतिबद्ध भएको बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर १० र २१ गते नै चुनाव गराउने दाबी गर्दै मन्त्री गौतमले चुनाव कुनै पनि हालतमा नसर्ने बताएका छन्।
आइतबार राजधानीको एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले सर्वोच्च अदालतले निर्वाचन आयोगसँग जवाफ माग्दैमा चुनाव प्रभावित नहुने बताएका छन्। मन्त्री गौतमले भने, ‘अदातलको कार्यक्षेत्रमा हामी प्रवेश गर्दैनौँ। निर्वाचन आयोगले पनि अहिलेसम्म चुनाव गराउन सक्दिन भनेको छैन।’
नेपाली काँग्रेसका नेतासमेत रहेका गौतमले यसअघि स्थानीय निकायको चुनाव पनि गराउँदैन भनेर यसरी नै प्रचार गरिएको स्मरण गराउँदै चुनाव नचाहने तत्त्वले आशंका गरेको आरोप लगाए ।
नेपाली काँग्रेसका तर्फबाट बर्दिया क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका गौतमले आफूले चुनाव जित्ने दाबी समेत गरे। नेकपा एमालेका उपाध्यक्ष वामदेवसमेत सोही क्षेत्रबाट चुनाव लड्ने स्मरण गराउँदै बस्नेतले भने, ’राम्रै मान्छेसँग प्रतिस्पर्धा हुँदैछ। तर मलाई जनताले विश्वास गरेका छन्। मैले पनि जनतालाई विश्वास गरेको छु।’
फरक प्रसंगमा मन्त्री गौतमले लोकतान्त्रिक गठबन्धन मजबुत हुने दाबी गरे। वाम गठबन्धनका कारण लोकतान्त्रिक गठबन्धनको आवश्यकता जरूरी रहेको गौतमले बताए। लोकतान्त्रिक गठबन्धन निर्माणको प्रयास जारी रहेको बताउँदै गौतमले भने, ‘स्थानीय तहको चुनावी नतिजाका आधारमा तालमेल हुन्छ।’उनले थपे, ‘गठबन्धनले साझा उम्मेदवार बनाएर चुनाव लड्ने छ।’